समाचारशुक्रबार, १ चैत्र , २०७५

स्थानीयतहकै मिलेमतोमा खाेला दोहन

रासस

झापामा स्थानीय तहकै मिलेमतोमा अबैध रुपमा ढुङ्गा, बालुवा र गिट्टीको दोहन भइरहेको फेला परेको छ । 

जिल्ला अनुगमन समितिले विभिन्न नदी र क्रसर उद्योगमा गरेको स्थलगत अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा खोला दोहन गरेको फेला परेको हो ।

२४ देखि २७ पुससम्म गरिएको अनुगमनका क्रममा अधिकांश नदीनालामा , सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लङ्घन भइरहेको अनुगमन समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलको संयोजकत्वमा गठन भएकाे अधिकार सम्पन्न अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र जिल्ला वन डिभिजन प्रमुख सदस्य छन् ।

कानूनी उल्लङ्घन गर्नेमा नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र ठेकेदार संलग्न रहेको फेला परेको स‌ंयाेजक पाेर्तेलले बताए ।

“कमल, कचनकबल, झापा, गौरादह र विर्तामोडले अहिलेसम्म प्रारम्भीक वातारणीय परीक्षण (आइइ) नै गरेका छैनन्”, उनले भने , “झापाका अरु गाउँपालिका र नगरपालिकाले आइइ स्वीकृत गराए पनि तोकिएको मापदण्डलाई ठाडै मिचेर ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गरिरहेको पाइएको छ।”

अनुगमन समितिकाे प्रतिवेदन सार्वजनिक गर्दै पोर्तेलले खोलामा अनियन्त्रित रुपमा उत्खनन गर्ने कार्यलाई रोक्न कडा कदम चाल्ने चेतावनी दिए ।

अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो चरणमा यथार्थ अवस्था अवगत गराउँदै प्रतिवेदन सार्जजनिक गरिएको र सम्बन्धित नगर तथा गाउँपालिकालाई मापदण्ड नमिच्न सम्झाइ बुझाइ गरिएको बताए ।

“यदि कसैले अटेर गर्छ भने कानूनबमोजिम कारवाही हुन्छ, किनकी कानूनभन्दा माथि कोही पनि हुँदैनन”, उनले भने ।

खोला तथा खानीको उत्खनन, सङ्कलन र बिक्री गर्ने अधिकार प्रदेश सरकारलाई छ । प्रदेश सरकारले सो अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि गाउँ र नगरपालिकाले आफ्नो क्षेत्रका खोलामा ठेक्का लगाएर उत्खनन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस