नेपालका ९० हजार वैज्ञानिक जनशक्तिकाे वस्तुनिष्ठ समीक्षा हुन सकेन : रक्षामन्त्री
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताएका छन् ।
नोपलमा एक सयभन्दा बढी संस्था र ९० हजार वैज्ञानिक जनशक्ति निर्माण भएपनि वस्तुनिष्ठ समीक्षा हुन नसकेको उनको भनाइ छ ।
विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ को मस्यौदामा सुझाव लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा उनले भने “सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, खुशी नेपाली’को सोच साकार पार्न मुलुक कुन गतिमा अघि बढेको छ, त्यसतर्फ आकर्षित हुनु जरुरी देखिन्छ । भएको जनशक्तिलाई जीवनसँग गाँस्नुपर्छ ।”
नेपालमा विद्यान तथा प्रविधिको क्षेत्रमा छ दशकअघिका नीति तथा रणनीतिहरु छन् । जसको कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यले विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ निर्माण हुँदैछ ।
नौ सदस्यीय कार्यदलले तीन महीना १५ दिन लगाएर निर्माण गरेको सो मस्यौदालाई थप परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
राजनीतिक र आर्थिक कारणले कुण्ठित देशका प्रतिभाहरुलाई अनुसन्धान तथा आविष्कार क्षमता र प्राविधिक प्रतिभाको प्रदर्शन गराउने मस्यौदामा उल्लेख छ ।
राज्यले आफ्ना नीतिमार्फत वैज्ञानिक अध्ययन– अनुसन्धान तथा प्रविधि विकास र आविष्कारका लागि प्रतिभाहरुलाई थप ऊर्जाशील र अभिप्रेरित गर्ने वातावरण बनाउनुपर्ने मस्यौदामा माग गरिएको छ ।
मन्त्रालयले विभिन्न नीतिहरुमा वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान, विकास र नव–प्रवर्तनमा आकर्षित गर्ने उल्लेख गरेको छ ।
नेपालको पहिलो राष्ट्रिय विज्ञान तथा प्रविधि नीति २०४६ सालमा बनेको थियो । त्यसको सुधार २०६१ सालमा भयो भने हाल नयाँ नीतिको मस्यौदा तयार भएको हो । -रासस