समाचारशुक्रबार, १ चैत्र , २०७५

विश्व उपभोक्ता अधिकार दिवस : उपभोक्ता जागरुक हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

हिमालखबर

आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रमहरू गरि मनाइँदैछ ।

१५ मार्च १९६२ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च १५ मा यो दिवस मनाइन्छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराए ।

“उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्छ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् “यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ ।”

संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्रीले बताएका छन् ।

प्रतिकृया दिनुहोस