किन जङ–नाम हत्या प्रकरणः भियतनामी महिलालाई रिहा गर्न अस्वीकार
मलेशियाले उत्तर कोरियाका नेता किम–जङ अनका सौतिनी दाजु किम जङ–नामको हत्या आरोपी भियतनामकी द्वान ती ह्यूङलाई भने रिहा गर्न अस्वीकार गरेको छ ।
तर, यही आरोपमा हिरासतमा रहेकी इण्डोनेशियाकी २७ वर्षीया सिती ऐस्याहलाई भने २७ फागुनमा अदालतले आश्चर्यजनक ढंगबाट मुक्त गरेको थियो।
ऐस्याहजस्तै ह्यूङलाई पनि रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले अस्वीकार गरेका थिए ।
“म तनावमा छु, निर्दोष छु, मलाई यो घटना बारे थाहा छैन, मेरा लागि परिवारले प्रार्थना गरिदिउन्”, बिहीबार अदालतको निर्णय सुनेपछि रुँदै द्वान ती ह्यूङले भनिन् ।
सिती ऐस्याहविरुद्ध भने अचानक अभियोजनकर्ताले आरोप फिर्ता लिएका थिए ।
सिती र ह्यूङलाई सन् २०१७ फेब्रुअरी १३ मा मलेशियाको क्वालालम्पुर विमानस्थलमा किम जङ–नामलाई विषालु पदार्थ भीएक्स नर्भ एजेन्ट दलेर मारेको आरोप लगाइएको थियो ।
विमानस्थलको सीसीटीभी दृश्यमा एक जनाले किमको अनुहारमा हात राखिन् र दुवै जना भागेको देखिन्छ। किमको भने अस्पताल नपुग्दैं मृत्यु भएको थियो । किम मकाऊ जाने तयारीमा थिए ।
तर, यी दुवैले आफूहरुले एक टेलिभिजनका लागि प्राङ्कका लागि यस्तो अभिनय गरेको भन्दैं आरोप अस्वीकार गर्दै आएका थिए ।
“म धेरै खुसी छु, धेरै चकित पनि भएकी छु”, रिहा भएलगत्तै अदालत परिसरबाहिर सितीले भनेकी थिइन् । “मलाई आज नै मुक्त हुन्छु जस्तो लागेकै थिएन ।” आरोप प्रमाणित भए सिती मृत्युदण्डको भागिदार हुन्थिन् ।
मलेशियाका महान्यायाधिवक्ताले इन्डोनेशियाका कानुनमन्त्रीलाई एक पत्र पठाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर राख्न यस्तो निर्णय लिइएको उल्लेख गरिएको छ ।
नाटकीय ढंगबाट आफ्ना सौतेनी दाजुको हत्या गराउन उत्तर कोरियाली वर्तमान नेता अनको हात भएको आरोप लगाइएको थियो । तर, उत्तर कोरियाले आरोप इन्कार गर्दै आएको छ ।
सिती र ह्यूङले बयानका क्रममा घण्टाको एक दिनअघि एक टेलिभिजनले आफूहरुलाई पैसा दिएर विमानस्थल, होटल र शपिङ मलमा मानिसहरूलाई तरल पदार्थ दलेर प्राङ्क गर्न भनेको बताएका छन् । –एजेन्सी