समाचारबिहिबार, ३० फाल्गुण , २०७५

नेपाली विमानको जापान उडान अनिश्चित

जापानको दोहारो चरित्र देखियोः कार्यकारी अध्यक्ष खरेल

शरद ओझा

उडान अनुमति नै नपाएपछि राष्ट्रिय ध्वजावाहक विमानको जापान उडान अनिश्चित बनेको छ ।

नेपाल वायुसेवा निगम (नेवानि)ले फागुनभित्रैबाट आफ्नो वाईड बडी एयरबस ३३० विमानले जापानको ओसाका उडान भर्ने बताउँदै आएको थियो ।

नेवानिले गत ११ पुसमा जापानको नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन दिएको थियो । तर, सरकारले अनुमति दिने भने पनि निजी कम्पनीले ‘ग्राउण्ड ह्याण्डलिङ सेवा’ दिन अस्वीकार गरेको छ ।

नेवानिका कार्यकारी अध्यक्ष मदन खरेल उडान अनुमति नदिएर जापानले दोहोरो चरित्र अपनाएको आरोप लगाउँछन् । “एकातर्फ उडान अनुमति दिन्छु भन्छन्, अर्काेतर्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिन मान्दैनन्”, खरेल भन्छन्, “यसले जापान सरकार सहकार्यमा सकारात्मक नदेखिएको, दोहोरो चरित्र अपनाएको अर्थ लाग्छ ।”

स्रोतका अनुसार, यूरोपियन युनियनले नेपाली वायूसेवा कम्पनीलाई ‘हवाई सुरक्षा चासो’मा राखेको कारण देखाउँदै जापानले नेवानीलाई अनुमति दिन आनाकानी गरेको हो । “जापानले नेवानिको ‘सेफ्टी अडिट’ गर्न चाहेका छ । जापानी टोली नेपाल आएर अडिट नगरेसम्म उडान अनुमतिको सम्भावना छैन”, स्रोत भन्छ ।

ओसाका उडानको प्रयास असफल झैं देखिएपछि निगमले २७ फागुनमा जापानको राजधानी टोकियो नजिकको नारिता विमानस्थलमा अनुमति माग गर्दै आवेदन दिएको छ ।

“जापानले अनुमति नदिदाँसम्म कहिलेदेखि उडान भर्ने भन्ने निश्चित भएन”, निगमका कार्यकारी अध्यक्ष खरेल भन्छन् ।

निगमसँग गत असार र साउनमा आएका दुईवटा वाइड बडी विमानसँग दैनिक १६ घण्टासम्म उड्न सक्ने क्षमता छ । तर, नयाँ गन्तब्य नपाउँदा अहिले यी विमान दैनिक ८ घण्टा मात्र उडिरहेका छन् ।

प्रतिकृया दिनुहोस