खेलकुदबिहिबार, ३० फाल्गुण , २०७५

फूटबलः नकआउट प्रतियोगिताले भित्र्याएको विकृति

निरञ्जन राजवंशी

जाडोयाममा विभिन्न जिल्लामा हुने नकआउट प्रतियोगिताहरूले फूटबलको व्यावसायिक विकास होइन, अनेकौं विकृति बढाइरहेका छन्।

आहा रारा गोल्ड कप, पोखरा (२०७५) । तस्वीर: सुदर्शन रञ्जित

जाडोको समय जिल्ला–जिल्लामा फूटबल विचरण गर्ने याम हो । राजधानीमा राष्ट्रिय लिग सकिएसँगै विभिन्न जिल्लामा शुरू हुने नकआउट प्रतियोगिताको लहर आफैंमा लोभलाग्दो मानिन्छ । क्लब र खेलाडीहरूको अत्यधिक सक्रियता, जिल्लामा फूटबलको बढ्दो गतिविधि र समग्रमा यो खेलको विकेन्द्रीकरणले नेपाली फूटबलकै विकासमा टेवा पुग्ने अपेक्षा गरिएको हुन्छ । तर, पछिल्ला वर्षहरूमा स्थिति अर्कै देखिन थालेको छ । 

करीब पाँच महीनाको बीचमा हुने यस्ता नकआउट प्रतियोगिताहरू अस्तव्यस्त बन्दैछन् । आयोजकहरू आम्दानीमुखी हुन थालेपछि खेलको व्यवस्थापन खराब देखिंदैछ । पुरस्कारको होडबाजीमा प्रतिस्पर्धा भुल्न थालिएको छ । प्रतियोगिताहरूमा नाम चलेका क्लबहरूलाई मात्र निम्त्याइँदा केही सीमित क्लब र खेलाडीको भ्याईनभ्याई छ । उनीहरू चोटको शिकार बन्ने र कतिपय स्थानमा फूटबलका प्रचलित सिद्धान्तहरू नै लत्याउने क्रम बढेको देखिन्छ ।

सीमित क्लबको प्रतिस्पर्धा
थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले अघिल्लो दिन (१२ माघमा) सिमरा गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । तिनै टोली रातारात इटहरी पुगेर भोलिपल्ट इटहरी गोल्डकपको क्वार्टर फाइनल खेले । यस्तै, १३ फागुनमा बुटवलको तिलोत्तमा गोल्डकपको फाइनल खेलेका थ्री स्टार र क्यामरुनको दाउफिन्स क्लब भोलिपल्ट पोखराको आहा रारा गोल्डकपको क्वार्टर फाइनल खेल्न पुगिसकेका थिए ।

कारण थियो– प्रतियोगिताको अव्यवस्थित तालिका र ठूला क्लबहरूलाई नै खेलाउने आयोजकको चाहना । आयोजकहरू आफूले चाहेका क्लबलाई मात्र प्रतियोगिताको निम्तो दिने गर्छन् ।

विगतमा झैं यो वर्ष पनि नाम चलेका क्लबहरू, तीन वटा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एपीएफ क्लब तथा थ्रीस्टार, मनाङ–मस्र्याङ्दी र संकटा क्लब जिल्ला आयोजकहरूको रोजाइमा परे । फाट्टफुट्ट केही प्रतियोगितामा हिमालयन शेर्पा, च्यासल र सरस्वती क्लब परे, बाँकी चाहिं जिल्लास्तरीय टोली र केही विदेशी क्लब थिए ।

जिल्ला–जिल्लामा प्रतियोगिता भएको देखिए पनि सीमित क्लब र खेलाडी मात्र देश दौडाहामा निस्किने गर्छन् । देशभर फूटबल गतिविधि त भएका छन्, तर क्लब र खेलाडी तिनै हुन्छन् । फरक हुन्छ त ठाउँ मात्र ।

बाँकी क्लब र खेलाडी खेलविहीन छन् । कोही खेलाडीलाई आरामै आराम, कोही भने लगातार खेलिरहँदा प्रदर्शनको स्तर खस्कँदो छ । अझ गम्भीर के भने खेलाडीमा चोटको समस्या बढ्दा करिअर नै जोखिममा पर्न थालेको छ । थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन्, “एक रात पनि आराम गर्न नपाएर खेल्दा कसरी खेलाडीको प्रदर्शन बढ्छ ? मलाई उपाधिको लोभभन्दा चोटको डरले सताउन थालेको छ ।”

गएको वर्ष धरानको बूढासुब्बा गोल्डकप खेल्ने क्रममा राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामाको खुट्टा भाँचियो । त्यसले उनलाई करीब एक वर्ष मैदान बाहिर पुर्‍यायो ।

फिफाको सामान्य नियम अनुसार एउटा टोलीले दुई खेलको बीचमा कम्तीमा ४८ घण्टा आराम पाउनुपर्छ । फूटबल विश्लेषक सञ्जीव मिश्रका अनुसार अहिले जिल्लामा नाम चलेको एउटा क्लबले यो सिजनमा कम्तीमा १५ वटा प्रतियोगिता खेलिरहेको छ । “यो हिसाबले हेर्दा एउटा खेलाडीले समग्रमा ४५ वटा खेल खेल्दोरहेछ, त्यो पनि मैदानमा विना आराम र बसको यात्रासहित” मिश्र भन्छन्, “यसबाट न खेलाडीको स्तर वृद्धि हुन्छ, न खेलको । बल्झिने खेलाडीको चोट मात्र हो ।”

उधारो पुरस्कार, विना स्वीकृति प्रतियोगिता
धनगढीमा सम्पन्न खप्तड गोल्डकपका आयोजकले विजेतालाई रु.२१ लाख र उपविजेतालाई रु.१० लाख पुरस्कार दिने घोषणा गरे । तर, पुस अन्तिम साता सम्पन्न प्रतियोगिताका विजेताहरूले अहिलेसम्म पुरस्कार पाएका छैनन् ।

मनकामना केबलकार पोखरा कपका विजेता दाउफिन्स र उपविजेता सशस्त्र प्रहरी बल अर्को उदाहरण हुन् । सशस्त्रका व्यवस्थापक अमित मल्ल भन्छन्, “एक महीना भइसक्यो, पुरस्कार पाएका छैनौं ।” (हे. बक्स)

पुरस्कार राशी घोषणामा आयोजकहरूबीच देखिने होडले अर्को विकृति निम्त्याएको छ । दर्शकले ठूला क्लब खोज्ने हुँदा आयोजकहरू ती क्लबलाई आकर्षित गर्न आफ्नो क्षमताले नभ्याउने पुरस्कार राशि घोषणा गर्छन् । दाउफिन्स जस्तो क्यामरुनको अनधिकृत क्लबले मौका पाइरहनुको कारण पनि त्यही हो ।

यसबाट एकातिर आयोजक नै समस्यामा परेका छन्, अर्कोतर्फ खेलाडीको सुविधा र स्तर वृद्धिमा ध्यान पुगेको छैन । स्तरीय मैदान, चुस्त व्यवस्थापन, खेलाडीको सुरक्षा र स्वास्थ्यमा अधिकांश आयोजक चुकेका छन् ।

यसबाट उब्जिएको प्रश्न हो– जिल्ला–जिल्लामा भइरहेका प्रतियोगिताहरूले फूटबल विकासमा सहयोग पुर्‍याइरहेका छन् या उल्टै बेफाइदा ? अखिल नेपाल फूटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर भन्छन्, “यो लुकेको विषय होइन, अर्को वर्षदेखि यसको व्यवस्थापन हुन्छ ।”

तुलाधरका अनुसार, अर्को वर्ष हुने मोफसलका प्रतियोगिताहरूलाई नियन्त्रण गर्न एन्फा उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा स्तर निर्धारण र व्यवस्थापन समिति गठन गरिएको छ, जसले ती प्रतियोगिताहरूको स्तर वर्गीकरण गरी सहभागी हुने क्लबहरूबारे निर्णय गर्नेछ । जस्तो कि,‘क’ र ‘ख’ श्रेणीका प्रतियोगिताहरूमा त्यही अनुसारका क्लबलाई सहभागी गराउनुपर्नेछ ।

क्लबहरूलाई लगातार खेल्नबाट रोक्न पनि मापदण्ड बनाइने तुलाधर बताउँछन् । अर्को वर्षको योजना पस्किसकेको एन्फाले यो वर्ष किन त्यसलाई लागू गरेन भन्नेबारे भने एन्फा पदाधिकारी मौन छन् ।

एन्फाका अनुसार यस वर्ष २३ वटा प्रतियोगितालाई स्वीकृति दिइए पनि त्यसभन्दा धेरै प्रतियोगिता सञ्चालन भए । प्रतियोगिताभन्दा पहिले खेलको नियम र सहभागी टोलीको सूची पठाउनुपर्ने एन्फाको निर्देशन कार्यान्वयन भएन ।

एन्फाले क्यामरुनको टोली दाउफिन्सलाई खेल्ने स्वीकृति नदिएको त बतायो, तर सहभागितामा रोक लगाएन । खेल अनुशासन र नियमको धज्जी उड्दा पनि एन्फा मूकदर्शक देखियो । जानकारहरू भन्छन्– प्रतियोगिताहरू अनिवार्य भए पनि उद्देश्यबाट टाढिंदै गएका ‘गोल्डकप’ हरूलाई समयमै नियमन गरिएन भने फूटबल विकासमै दीर्घकालीन बेफाइदा पुग्नेछ ।

पुरस्कारमा झेल
१३ फागुनमा बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपको २१औं संस्करण विजेता, क्यामरुनको दाउफिन्स क्लबलाई पुरस्कार दिने रकम आयोजकसँग थिएन । विजेतालाई पहिल्यै घोषणा गरिएको रु.८ लाख ८० हजार तथा उपविजेता लगायत अन्य खेलाडीलाई दिइने नगद पुरस्कारका लागि आयोजकले प्रतियोगिता चल्दाचल्दै सापटी खोजे । रु.६८ लाख खर्च भएको प्रतियोगितामा पुरस्कारवापत मात्र रु.१७ लाख ५५ हजार लागेको थियो ।

आयोजक रुपन्देही जिल्ला फूटबल संघका अध्यक्ष दीर्घबहादुर केसी भन्छन्, “प्रायोजकको रकम उठ्न समय लाग्यो, इज्जतका लागि साथीभाइसँग सापटी खोजेर भए पनि पुरस्कार दियौं ।” 

२७ माघमा पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फूटबल प्रतियोगिताका विजेता र उपविजेताले भने अहिलेसम्म पुरस्कार पाएका छैनन् । पोखरा कपको विजेता पनि दाउफिन्स क्लब नै हो । आयोजकले विजेतालाई रु.७ लाख ५५ हजार र उपविजेतालाई रु.४ लाख ५ हजार दिने घोषणा गरेका थिए ।

उपविजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबका टीम म्यानेजर अमित मल्ल आयोजकहरूले एक साता कुर्न अनुरोध गरेको, तर एक महीनासम्म पनि पुरस्कार नपाएको बताउँछन् । विजेता दाउफिन्स क्लबका सगुन श्रेष्ठ भन्छन्, “दिन्छौं भन्नुभएको छ । विदेशी टोली पनि भएकाले यस्ता कुराको प्रचारले बाहिर नराम्रो सन्देश जाला भनेर हामीले चर्चा गरेका छैनौं ।”

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस