समाचारबुधबार, २९ फाल्गुण , २०७५

विप्लव समूहलाई चन्दा नदिनुस्ः प्रम

रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली l फाइल फोटोः हिमालखबर

नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन।”

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए ।

“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, प्रमले भने, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेले पनि अहिले यसको विरोध गरेका छन् ।”

प्रधानमन्त्रीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई स्मरण गराए ।

“अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उनले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।”

 

प्रतिकृया दिनुहोस