मै हुँ मधेशको प्रतिनिधिः केपी ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु मधेशको असली प्रतिनिधि भएको बताएका छन् ।
भिमाद महोत्सवको उद्घाटनका लागि तनहुँ जाने क्रममा पोखरा विमानस्थलमा ओर्लिएका ओलीले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफू सधैँ मधेशबाट निर्वाचित भएको र मधेशमा बसोबास भएको स्मरण गराउँदै भने, “मै हुँ मधेशको प्रतिनिधि”
प्रदेश सीमांकनका नाममा पहाडबाट मधेश छुट्याउन विभिन्न शक्तिको ईशारामा खेल भइरहको भन्दै उनले आफू त्यसो हुन नदिने बताए ।
“पहाडबाट तराई छुट्ट्याउने खेल भित्रबाट हेर्ने हो भने त्यहाँ गम्भीर रहस्य छ,” उनले भने, “हामी त्यसो हुन दिन्नौँ ।” उनले त्यो रहस्य के हो भन्ने चाहीँ खुलाएनन् ।
संविधान संशोधन केका लागी र कस्का लागी गर्ने भन्ने स्पष्ट नभएको भन्दै अमूर्त मागका लागि संविधान संशोधन एमालेका लागि मान्य नहुने उनको भनाई छ ।
“संशोधन देशका लागि, जनताको लागि हुन्छ, अरुका लागि होईन,” उनले भने, “समस्या समाधान गर्ने गरी सहमतिमा आए हुन्छ, नत्र हुँदैन ।”
सरकारले मुलुकको समस्या समाधान गर्न नचाहेको उनले टिप्पणी गरे ।
“२०७४ माघ ७ भित्र निर्वाचन हुनुपर्छ, नभए देश संवैधानिक संकटमा जान्छ, यतातिर सरकारको ध्यान खोई ?” उनले प्रश्न गरे ।
निर्वाचन गर्ने, कानून बनाउने, आयोगहरु गठन गर्नेतिर सरकारले चर्चा चर्चा समेत नगरी, अन्य कुरामा अल्झिएको उनले आरोप लगाए ।
उनले सरकारले ल्याउने भनेकोे पुरक बजेटको पनि आलोचना गरे ।
पुरक बजेटले सरकार काम गर्ने भन्दा अल्झाउने र विवाद बल्झाउनका लागि ल्याउन खोजेको उनको आरोप छ ।
युवराज श्रेष्ठ, पोखरा