रिपोर्टमंगलबार, २८ फाल्गुण , २०७५

सुक्न थाले मूल

मुकेश पोखरेल

पश्चिम पहाडका जलाधार क्षेत्रहरूमा गरिएको पछिल्लो अध्ययनले त्यहाँका खानेपानीका मुहानमध्ये ७० प्रतिशत भन्दा बढीमा पानी घटेको देखाएको छ।

प्यूठानमा पानी भर्न पालो कुर्दै स्थानीय ।

दैलेखको भैरवी गाउँपालिका–५ का टीकाराम रिजालले पिउने पानी जोहो गर्ने एक मात्र स्रोत हो– सरैतापानी मुहान । २० वर्षअघि, वैशाख महीनामा यो मुहानमा एक गाग्री पानी भर्न पाँच मिनेट लाग्थ्यो । दश वर्षअघि त्यसका लागि ८ मिनेट लाग्न थाल्यो । अहिले त्यही गाग्री भर्न १८ मिनेट लाग्छ । रिजाल भन्छन्, “मूलबाट आउने पानी घट्दै गयो, अहिले त निकैबेर पालो कुर्नुपर्छ ।”

गाउँ नजिकका मूल सुकेपछि अर्घाखाँचीको सितगंगा नगरपालिका–८, बडिदमारका नुमबहादुर बाकाबलले पिउने पानीका लागि राप्ती खोला झर्नुपर्छ । दश वर्ष अघिसम्म जेठ लागेपछि पानीका मुहान घट्थे । त्यो समस्या असार नलाग्दासम्म मात्र रहन्थ्यो । अहिले फागुनबाटै मूल सुक्न थालेका छन् । “डाँडापाखाका सबै मूल सुक्छन्, चार महीना राप्तीकै पानीको भर हो” नुमबहादुर भन्छन्, “चार महीना हाम्रो गाउँ काकाकुल हुन्छ ।” बडिदमारका २० परिवारलाई खोलासम्म झ्र्न आधा घण्टा र पानी बोकेर आउन एकघण्टा हिंड्नुपर्छ ।

सितगंगा–८ का वडाध्यक्ष रोकेश आलेका अनुसार खानेपानी समस्या समाधानका लागि सात वर्षअघि फुर्केसल्लीबाट पाइप बिच्छ्याएर गाउँमा पानी ल्याइएको थियो । दुई वर्षजति पाइपबाट पानी आयो । तर, पाँच वर्षयता असारदेखि पुस महीनासम्म मात्र पानी आउँछ । “जतिबेला पानी चाहिने हो, त्यतिबेला आउँदैन” आले भन्छन्, “डाँडापाखाका मूल र गाउँका खोल्सा समेत सुकेपछि खानेपानीको हाहाकार छ ।”

झस्काउने तस्वीर
पूर्वदेखि पश्चिमसम्मका पहाडमा पानीका मुहान सुक्दै गएपछि पिउने पानीको हाहाकार हुनथालेको खबर नौलो नभए पनि कहाँ कहाँ, के कति मात्रामा मूल सुक्दै गएका छन् भन्ने यकिन यसअघि थिएन । पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम (हाल प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश) का केही जलाधार क्षेत्रमा गरिएको अध्ययनले यसको प्रष्ट तस्वीर उजागर गरेको छ ।

अमेरिकी सहयोग नियोग ‘यूएसआईडी’ को सहयोगमा सञ्चालित पानी परियोजना अन्तर्गतको ‘वातावरणका लागि युवा सञ्जाल’ ले पश्चिम पहाडका झिमरुक, मध्य–कर्णाली, बोगाटान–लगाम कर्णाली, ठूलीगाड र रंगुन जलाधार क्षेत्रका ४ हजार २२२ वटा पानीका मूलमा गरेको अध्ययनले ७० प्रतिशत भन्दा बढी मुहानहरूमा पानी घटेको देखाएको छ । दुई वर्ष लगाएर गरिएको अध्ययनको पूर्ण नतिजा यही महीना सार्वजनिक हुँदैछ ।

सञ्जालका अध्यक्ष सनोत अधिकारीका अनुसार दुई वर्षमा झ्मिरुक जलाधार क्षेत्र अन्तर्गत ४९३, ठूलीगाड जलाधार क्षेत्रका ४३४, मध्यकर्णाली जलाधारका एक हजार ९६०, रंगुन जलाधार क्षेत्रका एक हजार १२२ र बोगाटान–लगाम–कर्णाली जलाधार क्षेत्रका २१३ वटा मूलमा पानीको मात्रा अध्ययन गरिएको थियो ।

अध्ययनमा यी जलाधार क्षेत्रमा पर्ने प्यूठान, अर्घाखाँची, दैलेख, अछाम, कालीकोट, सुर्खेत, डोटी र डडेल्धुरा जिल्ला समेटिएका थिए । अध्ययनले झ्मिरुक जलाधार क्षेत्रमा पछिल्लो २० वर्षमा ८४.८६ प्रतिशत मुहानमा पानी घटेको, ३.७८ प्रतिशत मुहान सुकिसकेको र ११ प्रतिशत मूलमा कुनै परिवर्तन नआएको देखाएको छ ।

ठूलीगाड जलाधार क्षेत्र (डोटी) का ३५.४६ प्रतिशत पानीका मुहानमा भने कुनै परिवर्तन देखिएको छैन । यो जलाधार क्षेत्रका ०.२८ प्रतिशत मुहानमा पहिले भन्दा पानी बढेको देखिए पनि ६१.२२ प्रतिशत मुहानमा भने घटेको छ ।

३.५ प्रतिशत मूल सुकेका छन् । मध्य–कर्णाली जलाधार क्षेत्र (दैलेख, अछाम र कालीकोट) का एकहजार ९६० मूलमा गरिएको अध्ययनले ७१.६७ प्रतिशत मूलमा पानी घटेको, २६.१५ प्रतिशत मूलमा कुनै परिवर्तन नदेखिएको, ०.६५ प्रतिशत अर्थात् १२ वटा मूल सुकेको र १.५३ प्रतिशत अर्थात् ३० वटा मूलमा पानी बढेको देखाएको छ ।

रंगुन जलाधार (डडेल्धुराको जोगबुढा) क्षेत्रका एकहजार १२२ मूलमा गरिएको अध्ययनले ८१४ वटा (७२.५९ प्रतिशत) मूलमा पानी घटेको, २३ वटा मूल सुकिसकेको, २४५ वटा (२१.९ प्रतिशत) मूलमा कुनै परिवर्तन नआएको र ३८ वटा मूलमा पानी बढेको देखाएको छ ।

बोगाटान–लगाम–कर्णाली जलाधार क्षेत्रका २१३ वटा मूलमा गरिएको अध्ययन अनुसार २१० वटा (९८.७८ प्रतिशत) मूलमा पानी घटेको र तीन वटा (१.२२ प्रतिशत) मूलमा कुनै परिवर्तन नदेखिएको उल्लेख छ । “अध्ययनका सबै तथ्य एकत्रित गरेर अहिले विश्लेषण गर्ने काम भइरहेको छ” अधिकारी भन्छन्, “त्यसपछि यसको अझ्ै प्रष्ट तस्वीर आउनेछ ।”

‘डोजर–विकासको नियति’
पहाडमा खानेपानीका मूलमा पानी घट्दै जानु र कतिपय ठाउँमा मुहान नै सुक्नुको कारण के होला ? सञ्जालका अध्यक्ष अधिकारी वनजंगल बढेको ठाउँका मूलमा पानी बढेको र वनजंगल मासिएका ठाउँमा मुहान सुक्दै गएको देखिएको बताउँछन् ।

जानकारहरूका अनुसार, वर्षाको दरमा परिवर्तन हुनु, गाउँघरमा परापूर्वकालदेखि रहेका आहाल र पोखरीको संरक्षण नहुनु तथा सडक निर्माणमा अनियन्त्रित डोजरको प्रयोग गरिनु यसको प्रमुख कारण हो । विश्वव्यापी तापक्रम वृद्धिको असरबाट नेपाल पनि अछुतो छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन दशकमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियस बढेको छ ।

तापक्रम वृद्धिदर तराईको तुलनामा हिमाल र पहाडमा उच्च छ । पहाडको वार्षिक तापक्रम वृद्धिदर ०.०६ प्रतिशत छ । जल तथा मौसम विज्ञान विभागले गरेको विगत ४० वर्षको मौसमी विश्लेषण अनुसार शिवालिक क्षेत्रको वर्षा–दरमा वार्षिक १.४८ मिलिमिटर कमी आएको छ भने मध्यपहाडमा १.५८ मिलिमिटर घटेको छ ।

जलस्रोतविद् अजय दीक्षित तापक्रम वृद्धिले वर्षाको दरमा परिवर्तन हुँदाको असर पानीको ‘रिचार्ज’ सिस्टममा परेको बताउँछन् । “धेरै दिन पर्नुपर्ने पानी थोरै दिन पर्छ, अनि एक पटकमा ह्वात्तै पानी पर्छ” दीक्षित भन्छन्, “जमीनमा रिचार्ज हुनुपर्ने पानी सतहमै बगेर जान्छ, त्यसकै प्रभाव मूलमा परेको हो ।”

भू तथा जलाधार संरक्षण विभागका पूर्वमहानिर्देशक विजयराज पौडेल पहाडमा परापूर्वकालदेखि कुवा र पोखरी नै पानीका प्रमुख स्रोत रहेको, तिनमा वर्षायाममा जम्मा हुने पानी रिचार्ज भएर मूल जोगिइराखेको, तर पछिल्लो समय कुवा र पोखरीहरू नासिंदै गएको बताउँछन् ।

पछिल्लो अध्ययनले सडक निर्माणका लागि जथाभावी डोजर प्रयोग भएका ठाउँमा पानीका मूल सुकेको देखाएको छ । अध्ययनको यो निचोडसँग जलस्रोतविद् दीक्षित पनि सहमत छन् । भन्छन्, “जथाभावी डोजरको प्रयोगले पानीको रिचार्ज सिस्टम खल्बल्याउँछ । अहिले मूलमा त्यसकै प्रभाव देखिएको हो ।”

जानकारहरू तापक्रम वृद्धिबाट वर्षाको दरमा देखापरेको परिवर्तन र त्यसबाट पानीका मुहानमा परेको असरलाई परम्परागत ज्ञानको प्रयोग मार्फत नै कम गर्न सकिने बताउँछन् । जलवायु विश्लेषक ङमिन्द्र दाहालका भनाइमा, गाउँघरमा नासिंदै गएका पोखरी र जलाधार क्षेत्रका वनजंगल जोगाउनुबाहेक मूल संरक्षण गर्ने अर्को विकल्प छैन । “पोखरीमा वर्षात्को पानी संकलन गर्दा काभ्रेमा सुकेका मूल पुनः फुटेका छन्, हाम्रो परम्परागत ज्ञान मूल जोगाउन काफी छ” दाहाल भन्छन्, “त्यसबाहेक जथाभावी भइरहेको डोजर प्रयोगलाई रोक्नैपर्छ ।”

प्रतिकृया दिनुहोस