ब्लगमंगलबार, २८ फाल्गुण , २०७५

डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘द न्यू योर्कर’ का कार्टून

कनकमणि दीक्षित

केही वर्षपछि न्यू योर्क शहर पुग्दा त्यहाँका समसामयिक व्यङ्ग्य र व्याख्या बुझ्न नसकिने भइएछ ।

न्यू योर्क शहरको ‘सुपर–एलिट’ ले पढ्ने, विचार निर्माणमा मद्दत लिने साप्ताहिक पत्रिका हो, ‘द न्यू योर्कर’ । ‘लेफ्ट लिबरल’ दर्शन, सबल सम्पादन, एकपछि अर्का नामूद सम्पादक, छोटा सामाजिक–राजनीतिक टिप्पणी तथा ‘लङफर्म’ रिपोर्टिङ — पत्रिकाका विशेषता हुन् ।

डोनाल्ड ट्रम्पको शासनकालमा उनका कर्तुतबारे ठूला दैनिक ‘द वाशिङ्गटन पोष्ट’ र ‘द न्यू योर्क टाइम्स’ ले राम्ररी बहस उठान गरेका छन्, तर तुलनात्मक रुपमा सानो पत्रिका ‘न्यू योर्कर’ ले पनि ट्रम्प शासनको जग हल्लाउने काम गरिरहेछ ।

‘द न्यू योर्कर’ को प्रस्तुतिमा अर्काे विशेषता भनेको हरेक पत्रिकामा पाइने करीब २५–३० कार्टून हुन् । नाम चलेका कैयन् कार्टूनिष्टहरूबाट सम्पादकले छानीछानी पाठकसामु पेश गरेका कार्टूनले हँसाउने र चिन्तन जगाउने दुवै काम गर्छन् ।

‘न्यू योर्कर’ कार्टून भनेपछि ‘न्यू योर्कर’ पत्रिका जस्तै प्रख्यात ‘जन्र’ मानिन्छ । कार्टूनहरु कुनै पनि लेख सम्बन्धित हुँदैनन्, छरिएर पत्रिकाभरि पाइन्छन् । फेरि, ‘न्यू योर्कर’ का पाठक राजनीतिक, सामाजिक र सांस्कृतिक बहसमा एकैठाउँमा रहने हुनाले कार्टूनिष्टलाई ‘नुआन्स’ बोकेको चित्र कोर्न सजिलो हुने गर्छ ।

यसरी ‘न्यू योर्कर’ का कार्टूनले अमेरिकी सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रका पछिल्लो ट्रेन्ड उजागर गर्छन् । कार्टूनले समेटेका कतिपय ठट्टा या व्यङ्ग्य समसामयिक ‘अमेरिकाना’ संस्कृति, बोलीचाली, लवज वा बहसमा आधारित हुन्छन्, र अन्यत्रकाले बुझ्न, हाँस्न या मनन् गर्न हम्मे पर्न सक्दछ ।

न्यू योर्क शहरको (फराकिलो) बौद्धिक जगतको जीवनशैली र चिन्तनमा आधारित कतिपय यी कार्टूनहरु अमेरिकाकै अन्य प्रान्तकाले समेत ठम्याउनै नसक्ने, ‘रिलेट’ गर्न नसक्ने खालका हुन्छन् । घमण्डी/रवाफी बौद्धिकहरुमाथि व्यङ्ग्य समेटिएको प्रहार पनि ‘न्यू योर्कर’ कार्टूनको विशेषता हो ।

सन् १९८० को दशकमा यो स्तम्भकार न्यू योर्कमा रहँदा ‘न्यू योर्कर’ का एक–एक कार्टूनको मर्म बुझ्न गाह्रो थिएन । त्यही बेला म आफैं न्यू योर्क शहरिया थिएँ ।

अर्थात्, न्यू योर्कर । केही वर्षको अन्तरालपश्चात गत हप्ता न्यू योर्क पुग्दा यहाँको ‘कन्टेम्पोररी’ बुझाइ र भोगाइबाट धेरै टाढिइएछ क्यार, कतिपय कार्टून मैले ठम्याउन सकिनँ । बुझेको र हाँसो जगाएका केही कार्टून व्याख्या सहित प्रस्तुत छन्ः

१. न्यू योर्कको म्यानहाटन टापुमा सेन्ट्रल पार्क छ, जहाँ कुकुरलाई वाक्मा लैजाने एउटा ‘रिचुवल’ नै मानिन्छ । पछाडि गगनचुम्बी ‘स्काईस्क्रेपर’ भवन, नजिकमा रुख/बुट्यान — यति हेरेपछि सेन्ट्रल पार्क भनेर बुझिन्छ । कुकुर डोर्‍याउने भलाद्‌मी पुरुष भन्दैछन्, “यो कुकुरले टोक्दैन, तर आत्मपरक विचारको ठूलो भारी भने यसले बोक्छ ।”

२. आजभोलि अमेरिकाको संवैधानिक इतिहास झल्काउने सांगीतिक नाटक ‘ह्यामिल्टन्‘ एकदमै सफल छ, रंगमञ्चको केन्द्रविन्दु ब्रड्वेमा । नाटकको मुख्य पात्र, अमेरिकी संविधानलेखनका व्यक्तित्व अलेक्जान्डर ह्यामिल्टन् आफ्नो राजनीतिक प्रतिद्वन्द्वी एरन् बरलाई एउटा ‘डुवेल’ (सम्मानका खातिर एकआपसमाथि पिस्तोल चलाउने प्रतिस्पर्धा) मा बोलाउँछन् । अलेक्जान्डर मारिन्छन्, बरको हातबाट । कार्टूनमा पात्रहरूको भेषभुषा संविधानलेखनकालीन अमेरिकाको छ, र छेउमा उभिएको एक सहयोगीले अर्कोलाई भन्दैछन्, “मलाई अलि पछुतो नै भयो यी दुईलाई चिनाइदेकोमा ।”

३. न्यू योर्कमा धेरै बासिन्दाले कुकुर भन्दा बिरालो पाल्न रुचाउँछन्, व्यस्त व्यावसायिक जीवनमा स्याहार्न अलि सजिलो हुने हुँदा । र कतिपयको घरायसी जीवन यिनै बिरालोको खुशी वरिपरि घुमिरहँदा बिरालो मात्तिनु स्वाभाविकै हो । यो कार्टूनमा तखताभरी बिरालोले खाने क्यान्ड फूडतर्फ हेर्दै गरेकी मालिक्नीलाई बिरालोले चुनौती दिंदै भन्दछ, “(के पो देउली) मलाई चकित तुल्याइदेऊ !”

४. लामो दूरीमा खुम्चिएर हवाई उडान गर्ने यात्रुलाई पछाडिपट्टिको यात्रुको खुट्टाले सीटमा धक्का दिने गर्छ — आफ्नो निजी ‘स्पेस’ बारे सतर्क पश्चिमाहरूलाई यो एकदमै घोच्ने कुरो हो । अगाडि बस्ने प्यासेन्जरले पछाडिकी महिलालाई व्यङ्ग्य गर्दै भन्छन्, “कन्याइदिनु त खुट्टाले, अलिकति माथि, देब्रेतिर... !”

५. यो कार्टून चाहिं नेपाली पहाड–परिवेशको लागि पनि उपयुक्तः “लौजा, एल्भिन् र मेग आउँदै रहेछन् । देख्या न देख्यै गर्ने है !”

इति !

प्रतिकृया दिनुहोस