न्यू योर्कमा सडकको नेपाली नाम
- ङिमा पाख्रिन, न्यूयाेर्क
अमेरिकाको न्यू योर्कमा एक सडक खण्डको नाम ‘माउण्ट एभरेष्ट’ राखिएपछि त्यहाँ रहेको नेपाली समुदायले खुशियाली मनाएको छ ।
न्यू योर्कको ज्याक्सनहाइटस्थित ‘७५ स्ट्रिटको ३१ एभेन्यू’ खण्डलाई त्यहाँको सिटी काउन्सिलले ‘माउण्ट एभरेष्ट वे’ नामाकरण गरेको होे ।
२ मार्चमा भएको नाम घोषणा कार्यक्रममा भेला भएका नेपालीले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत पुष्प भट्टराई, क्यालिफोर्नियास्थित अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, न्यू योर्क सिटी काउन्सिलका सदस्य कोस्टा कोन्स्टानटिनिडेस लगायतको उपस्थिति थियो ।
सिटी काउन्सिल सदस्य कोन्स्टानटिनिडेसले सडकको नाम नेपाली राखेर नेपाली समुदायलाई सम्मान गरिएको बताए ।
उनले नै न्यू योर्क सिटी काउन्सिलको बैठकमा उक्त नामको प्रस्ताव गरेका थिए, जसलाई काउन्सिलले गत डिसेम्बरमै अनुमोदन गरेको थियो ।
कार्यक्रममा नेपाली राजदुत कार्कीले नेपालको पहिचान दिने उक्त सडकको नामकरणका लागि सिटी काउन्सिलप्रति आभार प्रकट गरे ।
सडक महोत्सवकै रुपमा आयोजना गरिएको कार्यक्रममा विभिन्न नेपाली मौलिक साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।