चितवन राष्ट्रिय निकुञ्जमा आश्रित जनताको नगरपालिकाले बीमा गरिदिने
चितवन राष्ट्रिय निकुञ्जमा आश्रित बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ ।
निकुञ्जका वन्यजन्तुको आक्रमणबाट मृत्यू हुने जोखिममा रहेका स्थानीयको बीमा गरिदिन लागेको नगरपालिका प्रमुख नारायण वनले बताए ।
गरीबीका कारण स्थानीयवासी निकुञ्जमा आश्रित हुनुपरेकोले बाध्यताले निकुञ्ज छिर्दा दुर्घटना भइरहेको नगरपालिका प्रमुख वनले बताए । निगुरो टिप्न, घाँस काट्न, सामान्य दाउरा टिप्न स्थानीयवासी निकुञ्ज जाने गर्दछन् ।
त्यतिबेला वन्यजन्तुको आक्रमणले मृत्यु वा घाइते भएमा निकुञ्जले क्षतिपूर्ति दिँदैन ।
निकुञ्जका बन्यजन्तु बाहिर निस्केर आक्रमण गरेमा भने मृत्यु हुनेको परिवारलाई रु १० लाख दिने, उपचार गरिदिने र खेतीको समेत क्षतिपूर्ति दिने व्यवस्था छ ।
तर निकुञ्जभित्र पसेको अवस्थामा घाइते वा मृत्यू भएमा कुनै क्षतिपूर्ति दिने व्यवस्था नभएको निकुञ्जले बताएको छ ।
निकुञ्जले क्षतिपूर्ति नदिने घटनामा नगरपालिकाले रु तीनदेखि पाँच लाखसम्म बीमा पाउने व्यवस्था गर्न लागिएको प्रमुख वनले बताए । सो सम्बन्धमा बीमा कम्पनीसँग छलफल भइरहेको पनि उनले बताए ।
पहिलो चरणमा निकुञ्जसँग जोडिएका वडा नं ५, ६ र ७ र दोस्रो चरणमा मध्यवर्तीसँग जोडिएका वडा नं ८ र ९ का बासिन्दाको बीमा गरिने नगरप्रमुख वनको भनाइ छ । निकुञ्जसँग जोडिएका वडाका बासिन्दाको लगत लिने काम भइरहेको छ । - रासस