बलात्कारपछि हुने हत्यामा अधिकांश दलित समुदायका
नेपालमा भएका बलात्कारका घटनापछि ८० प्रतिशत दलित समुदायका बालबालिका र युवतीको हत्या हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
दलित महिला संघले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस ९८ मार्चको सन्दर्भमा २७ फागुनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
संघका अनुसार गत वैशाखदेखि माघसम्म ७२९ बलात्कारका घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् ।
सङ्घका अनुसार बलात्कृत हुनेमध्ये २१ प्रतिशत दलित युवती तथा बालिका रहेको र झण्डै ८० प्रतिशत बलात्कारपछि हत्या भएको छ ।
नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार २०१८ मा महिलामाथि घरेलु हिंसा ३७ प्रतिशतले बढेको छ ।
देशको कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा झण्डै आधा महिला छन् ।
अध्ययन प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले बलात्कारका घटना बढेको तर्क गरिन् ।
अधिवक्ता मीरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
दलित महिला सङ्घकी पूर्वअध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताइन् ।