टिप्पणीशुक्रवार, मंसिर १०, २०७३

दशगजामा बौद्ध बिहार: टाउकोदुखाइ मात्र

वसन्त महर्जन

नेपाल र भारतको पूर्वी सीमाको दशगजामा भारतीय पक्षले बनाउन लागेको बौद्ध विहार अहिले बौद्धहरूकै लागि टाउकोदुखाइको विषय बनेको छ।

अन्तर्राष्ट्रिय सीमाको केन्द्रबाट दायाँबायाँ छाडिएको ३०–३० फिट जमीनलाई दशगजा भनिन्छ, जहाँ दुवै देशले स्थायी संरचना बनाउन त के कुनै गतिविधि पनि गर्न पाउँदैनन्। तर, इलाम जिल्लाको पशुपतिनगर–४ मा पर्ने दुई देशको सीमामा अन्तर्राष्ट्रिय नियम लत्याउँदै भारततर्फबाट एउटा बौद्ध विहार बन्न लागेको छ।

त्यो विहार निर्माणस्थल वरिपरिको वातावरण बौद्ध दृष्टिकोणले पनि उपयुक्त छैन, तर यसतर्फ नेपाली बौद्ध समुदायको समेत ध्यान गएको देखिन्न।

हिन्दूको मन्दिर, इसाइको चर्च र मुसलमानको मस्जिद भनेजस्तै बौद्धहरूले आफ्नो आस्थाको अभ्यास गर्ने र शिक्षा लिने स्थल हो, विहार। भिक्षुहरूको आवाससँगै धार्मिक गतिविधि हुने विहारलाई तिब्बती भाषामा गुम्बा भनिन्छ।

विहार वा 'गुम्बा' जे भनिए पनि यसको वास्तुकला र कतिपय मान्यता भने भारतीय नै रहेको पाइन्छ। तिब्बतको पहिलो साम्ये गुम्बा नै भारतीय बौद्धवास्तुको प्रतिकृति हो। 

प्रारम्भमा गुम्बा निर्माण शैली कस्तो थियो भन्ने थाहा नभए पनि बौद्ध वास्तु संरचनाको नियम बुद्धकै जीवनकालमा बनिसकेको ज्ञात हुन्छ र त्यसको अनुसरण अहिले पनि जारी छ।

गुम्बा बनाउने जग्गा छान्दा मानवबस्तीबाट धेरै नजिक वा धेरै टाढा हुन नहुने नियम बुद्धको जीवनकालमै बनेको हो। भिक्षुहरू ध्यानमा बस्नुपर्ने र स्वयम् बुद्धले पनि कोलाहल नरुचाउने भएकाले गुम्बाको वातावरण शान्त हुनुपर्ने अपेक्षा गरिन्छ।

यसरी गुम्बाहरू एकातिर गुल्जार बस्तीको खैलाबैलाबाट टाढा हुनुपर्छ भने अर्कोतिर उपासक–उपासिकाहरू दिनहुँ आउजाउ गर्नुपर्ने र भिक्षुहरूलाई पनि समाजसँग सम्बन्ध बनाइराख्नुपर्ने भएकाले बस्तीबाट धेरै टाढा नबनाउने नियम बनेको बुझ्न सकिन्छ।

कालान्तरमा बस्ती विस्तार हुने क्रममा गुम्बाहरूको एकान्त मिचिंदै गए पनि नयाँ गुम्बा बनाउँदा चाहिं पुरानै मान्यता अनुसरण गरिन्छ।

भारतीय पक्षले गुम्बा बनाउन लागेको पशुपतिनगर–४ फाटकस्थित दशगजा निकै कोलाहलपूर्ण छ। त्यहाँ भारतले पहिल्यै आफ्नो भन्सार कार्यालय, पुलिस चौकीलगायतका लागि थुप्रै संरचना बनाइसकेको छ, जहाँ २०४५ सालमै टासी छोलिङ गुम्बा बनेको र २०४८ मा सीमास्तम्भ राख्दा दशगजामा परेको स्थानीय बौद्धहरूको भनाइ छ। पहिले काठबाट निर्मित गुम्बा अहिले पक्की बन्न लाग्दा उनीहरू खुशी पनि भएको बुझिन्छ।

यो पंक्तिकारले पाएको जानकारी अनुसार, पारि दार्जीलिङको राङवाङ ग्राम पञ्चायतका पूर्वप्रमुख बुद्ध लामाको नेतृत्वमा यो गुम्बाको पुनःनिर्माण थालिएको हो।

यसमा दार्जीलिङस्थित गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) बाट आर्थिक सहायता जुटाइएको छ र गुम्बा बनेपछि उद्घाटन गर्न जीटीए प्रमुख विमल गुरुङ फाटक आउनेछन्। र, अतिक्रमणको कारण पहिलेबाटै विवादित यो दशगजा क्षेत्रमा गुम्बा बनाउने पहलमा भारतीय अधिकारीहरूको सहयोग सहजै बुझ्न सकिन्छ।

पहल र आर्थिक वा प्रशासनिक सहयोग ज–जसको भए पनि यो प्रयासबाट बौद्ध मान्यताको भने अनादर नै भएको छ।

सांसारिक जीवन–जगत बुझ्ने, यसबाट विरक्त भई राग, द्वेषजस्ता क्लेशहरूबाट मुक्त हुने अभ्यास गर्नु बौद्ध धर्मको उद्देश्य हो। यस्तो अभ्यासको लागि गुम्बालाई सबभन्दा उपयुक्त थलो मानिन्छ।

जीवन बुझ्ने एउटा माध्यम मृत्यु पनि भएको हुनाले मसान नजिक पनि गुम्बा बनाउने चलन छ। तर, आजभोलि गुम्बानजिक मसान भएको भन्दै पहुँचको आधारमा स्थानान्तरण गराउन थालिएको छ, जसबाट सर्वसाधारण र गुम्बाहरूबीचको सम्बन्धमा किचलो आएको छ।

त्यस्तै, गुम्बाभित्रको भौतिक सम्पन्नता र विलासिता पनि बौद्ध दर्शनभन्दा विल्कुलै विपरीत राग–द्वेषको पर्याय बनेको विवादहरू सुनिन थालेको छ।

कुनै पनि खालको पारिवारिक, सामाजिक, राजनीतिक कचिङ्गलमा नफँस्नु, सन्देशवाहक नबन्नु बौद्ध भिक्षु तथा गुम्बाहरूको सामान्य नियम हो। नेपाल र भारतको दशगजामा बन्न लागेको गुम्बाले यो आदर्श वा मान्यतालाई लत्याएको छ।

बौद्ध गुम्बा निर्माण वा पुनःनिर्माण गर्नैपर्ने भए उपयुक्त स्थल खोज्न वा उपलब्ध हुन सक्थ्यो होला, तर त्यस्तो केही नगरी जबर्जस्ती दशगजामा निर्माण थाल्न उद्यत हुनु खेदजनक छ।

बौद्धहरू कसैको स्वार्थमा प्रयोग हुनु भनेको जनसाधारण र समाजबाट टाढिनु पनि हो, जसले बौद्ध धर्मको हित हुने कल्पना गर्न सकिन्न।

प्रतिकृया दिनुहोस