टिप्पणीसोमबार, २७ फाल्गुण , २०७५

कपिलवस्तु राखौं, प्रदेश–५ को नाम

वसन्त महर्जन

लुम्बिनी कपिलवस्तु गणराज्य अन्तर्गत रहेको प्राचीन ऐतिहासिकतालाई प्रदेश–५ को नामकरण गर्दा पनि निरन्तरता दिनु उपयुक्त हुन्छ ।

प्रदेश–५ को नाम र राजधानी निर्धारणका लागि प्रदेश संसदीय विशेष समितिले रायसुझाव संकलन गरिरहेको छ । गौतम बुद्धप्रतिको सद्भाव, श्रद्धाले हुनसक्छ, धेरैले ‘लुम्बिनी’ नाम राख्न सुझाएका छन् ।

बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदास्थलमा मात्रै सूचीकृत छैन, नेपालकै गौरवको रूपमा चिनिएको छ । त्यसैले प्रदेशलाई अन्तर्राष्ट्रिय रूपमा चाँडै परिचित बनाउने एउटा काइदा पनि हुनसक्छ, यो नाम । ठीक यसै बेला बिर्सन नहुने अर्को नाम हो, कपिलवस्तु ।

प्रदेश नामकरणको विषय राजनीतिसँगै त्यस क्षेत्रको समाज, संस्कृति, इतिहाससँग जोडिएको विषय पनि हो । नामको चयन गर्दा श्रद्धा र भावुकता मात्र होइन व्यावहारिकता र ऐतिहासिकतामा पनि ध्यान दिनु जरूरी हुन्छ ।

ईसापूर्व छैटौं शताब्दीतिर कपिलवस्तु एउटा गणराज्य वा जनपद (देश) को नाम थियो । विभिन्न महानगर, नगर एवं ग्रामहरू रहेको यो जनपदको सीमान्त क्षेत्र थियो, लुम्बिनी । जहाँ ई.पू. ५६३ वैशाख पूर्णिमाका दिन गौतम बुद्धको जन्म भयोे । कतिपय लेखकले तत्कालीन कपिलवस्तुलाई राजतन्त्रात्मक राज्यका रूपमा प्रस्तुत गरे पनि वास्तवमा त्यहाँ गणतान्त्रिक व्यवस्था थियो ।

गण–सदस्यहरू राजा र ती राजाहरूबाट निर्वाचित गण–प्रमुख महाराजा हुन्थे । निश्चित अवधिमा हुने निर्वाचनमा पुनः उम्मेदवार हुन पाउने व्यवस्था थियो । गण–सदस्यलाई राजा र राजाहरूद्वारा निर्वाचित गण–प्रमुखलाई महाराजा भन्ने चलन बज्जी लगायत अन्य गणराज्यहरूमा पनि थियो ।

त्यति बेलाका सबै गणराज्यहरूको राजनीतिक व्यवस्था उस्तै उस्तै हुने गरेको दृष्टान्त बौद्ध तथा जैन ग्रन्थहरूमा पाइन्छ । गणतन्त्रात्मक राज्यव्यवस्थामा हुर्केका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तिपछि बौद्ध संघको संरचना पनि संघीय गणराज्यकै ढाँचामा बनाए, जुन अहिले पनि चलनचल्तीमा छ ।

प्रदेश–५ को नाम ‘कपिलवस्तु’ राख्दा एकातिर यसको ऐतिहासिकताले निरन्तरता पाउने छ भने अर्कोतिर प्राचीन कपिलवस्तुको अवस्थिति नेपालमा रहेको कुरा अन्तर्राष्ट्रिय समुदायमाझ् स्पष्टसँग राख्न पाइन्छ । यो त्यही कपिलवस्तु हो, जुन स्वयं बुद्धकै जीवनकालमा छिमेकी शक्तिशाली राज्य कोशलका नरेश विडूडभको आक्रमणमा परी पतन हुन पुगेको थियो ।

तत्कालीन कपिलवस्तुको मुख्य भूभाग वर्तमान नेपाल र भारत दुवैतर्फ पर्छ । आफ्नो भूभागमा परेको कपिलवस्तुको प्रचारप्रसार र त्यहाँ विभिन्न संरचनाहरूको विकासमा भारतको सम्बन्धित प्रदेशले विशेष ध्यान दिएको छ । नेपालमा जिल्लाकै नाम कपिलवस्तु राखे पनि प्रभावकारी काम हुनसकिरहेको छैन ।

बुद्धको जन्मस्थल लुम्बिनी वर्तमान नेपालको भूक्षेत्रमा पर्दछ भन्ने कुरामा अब कुनै द्विविधा वा दाबी विरोध पाइँदैन । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले समेत लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखिसकेको छ ।

यस अवस्थामा प्रदेश–५ को नाम कपिलवस्तु राख्ने हो भने यसले बढी प्रचार पाउनेछ । विभिन्न ग्रन्थमा कपिलवस्तु सम्बन्धी वर्णन मात्रै नभएर पुरातात्विक अवशेषको प्राप्तिले पनि प्राचीन कपिलवस्तुको अधिकांश र महत्वपूर्ण भूक्षेत्र नेपालमा पर्छ भन्ने कुरा पुष्टि भएको छ । अहिले नै पनि कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा राख्न सहायक हुने गरी थप पुरातात्विक अवशेषको अध्ययन भइरहेको छ ।

विश्वजगतका लागि लुम्बिनीको अर्थ गौतम बुद्धको जन्मस्थलको रूपमा मात्रै हो । बौद्ध वाङ्मयमा भएको वर्णनमा पनि लुम्बिनीले प्राकृतिक तथा धार्मिक क्षेत्रभन्दा बढी अर्थ ग्रहण गरेको पाइँदैन । तर कपिलवस्तु नाम राजनीतिक हो । यसले विस्तृत भूक्षेत्रलाई ओगट्छ । प्रदेशको नाम लुम्बिनी राख्दा पूरै प्रदेश बौद्ध धर्म दर्शन अनुरूप चल्ने हो कि भन्ने आभास पनि हुन्छ जुन कपिलवस्तु राख्दा हुने छैन ।

फेरि, लुम्बिनी आफैं ‘ब्रान्डिङ’ भइसकेको ठाउँ हो । बरु ब्रान्डिङको खाँचो कपिलवस्तुलाई छ । प्राचीनकालमा कपिलवस्तु अन्तर्गत नै रहेको लुम्बिनीलाई अहिले पनि कपिलवस्तु प्रदेशभित्रै पारिंदा विश्वभरका बौद्ध तथा इतिहासका जानकारहरूलाई प्रदेशका बारेमा बुझाइराख्न गाह्रो हुँदैन ।

प्रतिकृया दिनुहोस