खेलकुदसोमबार, २७ फाल्गुण , २०७५

अरु भन्छन्–भारत बलियो, हरि भन्छन्–नेपाल !

कमल रिमाल

नेपालले साफ महिला फुटबल च्याम्यिनसीप प्रतियोगिताको उपाधि जित्ने दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक खड्का र कप्तान थापा । तस्वीरः कमल रिमाल

टीमका प्रमुख प्रशिक्षक हरि खड्काले आयोजक नेपालले प्रतियोगिता जित्ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विराटनगरमा आयोजना गरेको प्रतियोगितापूर्वको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपाल जितको लागि खेलिरहेको बताए । पत्रकार सम्मेलनमा पाकिस्तानबाहेक ६ वटै देशका प्रशिक्षक र टोली कप्तान उपस्थित थिए ।

भुटान, श्रीलंका, माल्दिभ्स र वंगलादेशका प्रशिक्षकहरुले भने भारत नै सबैभन्दा बलियो टीम भएको स्वीकारे । तर, नेपालका प्रशिक्षक खड्काले भारतमै हालै भएको हिरो गोल्डकपमा भारतलाई जितिसकेकाले नेपाली टोली नै उपाधिको हकदार भएको बताए ।

पत्रकार सम्मेलनमा सबै देशका टोली कप्तानहरुले साफको शिल्ड पनि सार्वजनिक गरे ।

शिल्ड सार्वजनिक गर्दै ६ देशका कप्तान

“चीनमा भएको मैत्रीपूर्ण खेलको कमजोरी म्यानमारमा सुधार गर्‍यौं”, नेपाली टोलीकी कप्तान निरु थापाले हिमालखबरससँग कुरा गर्दै भनिन्, “प्रशिक्षणकै तहमा खेल्यौं भनें प्रतियोगिता जित्छौं ।”

प्रतियोगिता भोलि २८ फागुनदेखि ८ चैतसम्म विराटनगरको शहीद रंगशालामा हुंदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच हुँदैछ ।
काठमाडौंबाहिर पहिलो पटक यति ठूलो प्रतियोगिता हुन लागेको भन्दैं विराटनगर महानगरपालिका र प्रदेश १ सरकारले रु. २ करोड सहयोग गरेका छन्।

 

प्रतिकृया दिनुहोस