टिप्पणीसोमबार, २७ फाल्गुण , २०७५

भरतमोहनका तीन आयाम

विष्णु रिजाल

लोककल्याणकारी राज्यको अवधारणालाई आफ्नो अर्थनीति मार्फत लागू गरेका भरतमोहन अधिकारी कम्युनिष्ट एकताका अभियन्ता थिए।

भरतमोहन अधिकारी नेकपाका त्यस्ता सीमित नेताहरूमध्ये थिए, जसको पार्टी बाहिर पनि राम्रो सम्पर्क र सम्मान थियो । पञ्चायतकालमा धेरै कम्युनिष्ट नेता–कार्यकर्ता भूमिगत रहँदा भरतमोहन अधिकारी खुल्ला रूपमै राजनीतिमा सक्रिय थिए ।

कानून व्यवसायीको पृष्ठभूमिले गर्दा पनि सबैसँग सम्पर्कमा रहन, बहस गर्न र आफूलाई लागेका कुरा लेख्न उनलाई सहज थियो । दाजु मनमोहन अधिकारीको सान्निध्यका कारण सानैदेखि राजनीतिमा झ्याम्मिएका उनी आजीवन राजनीतिदेखि टाढा भएनन् ।

कम्युनिष्ट आन्दोलन चिराचिरामा विभक्त भएका बेला पनि सबैसँग सहकार्य गर्न सक्ने, सबैलाई एकीकृत पार्न प्रयासरत रहने स्वभावले भरतमोहनलाई सबैका लागि ग्राह्य बनाएको थियो । विनम्र, सरल र तार्किक उनी अरूका जायज तर्क स्वीकार गर्नमा कञ्जुस्याइँ गर्दैनथे ।

२०६४ सालमा अधिकारीको आत्मकथा ‘मेरो जीवनयात्राः केही सम्झ्नाहरू’ सम्पादन गर्दा मैले उनको जीवनका विविध पाटालाई नजिकबाट बुझ्न पाएको थिएँ । एउटै नेतामा सबै गुण हुँदैन, यदि कसैले यस्तो दाबी गर्छ भने त्यो पाखण्ड हुन्छ । भरतमोहनसँग पनि संगठनमा भन्दा बौद्धिक र राजकीय क्षेत्रमा बढी ज्ञान थियो ।

सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न सक्ने क्षमताका कारण उनी एमालेबाट सबभन्दा बढी (पाँच पटक) मन्त्री हुने एक मात्र नेता बने, जसमध्ये चारपटक त अर्थ मन्त्रालय नै सम्हाले । भरतमोहन अधिकारीको साढे ६ दशक लामो राजनीतिक यात्रालाई मूल रूपमा तीन पाटोबाट बुझ्न सकिन्छ ।

कम्युनिष्ट एकताका अभियन्ता
भरतमोहन अधिकारीले भारतको बनारसमा उच्च शिक्षा हासिल गर्ने बेलादेखि आफूलाई कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा समाहित गरेका थिए । नेकपाको दोस्रो महाधिवेशन (२०१४) मा बनारसबाट प्रतिनिधित्व गरेका उनी तेस्रो महाधिवेशन (२०१९) बाट केन्द्रीय कमिटी सदस्य बने । त्यतिबेला नेताहरूबीच व्यक्तित्वको टकराव, दरबारिया घुसपैठ र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभावले गर्दा कम्युनिष्ट पार्टीमा विखण्डनसँगै आन्दोलन नै छिन्नभिन्न हुने अवस्था थियो ।

नेताहरूले आ–आफ्नै समूह बनाउँदा दाजु मनमोहनसँग रहेका उनले पूर्वकोशी प्रान्तीय कमिटी मार्फत एकताका लागि निरन्तर कोशिश मात्र गरेनन्, विभाजित पार्टीलाई एक बनाउन २०२८ सालमा मनमोहन अधिकारी, मोहनविक्रम सिंह, निर्मल लामा, शम्भुराम श्रेष्ठ जस्ता पहिलो पुस्ताका नेताहरूलाई एकै ठाउँमा राखेर केन्द्रीय न्युक्लियस बनाउन सक्रियता देखाए ।

त्यसले सफलता पाउन नसकेपछि मनमोहन अधिकारीको नेतृत्वमा २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी गठन भयो । यसबाट पनि सन्तुष्ट हुन नसकेका भरतमोहन साहना प्रधानले नेतृत्व गरेको पुष्पलाल समूहसँग एकता गर्न सक्रिय रहे फलस्वरुप २०४३ सालमा नेकपा (माक्र्सवादी) गठन भयो ।

२०४६ सालको जनआन्दोलनमा सात वामपन्थी पार्टीलाई एकठाउँमा ल्याएर वाममोर्चा बनाउन र २०४७ सालमा तत्कालीन माले र माक्र्सवादीबीच एकता गरी नेकपा (एमाले) बनाउन अग्रणी भूमिका निर्वाह गर्नेमध्येका थिए, उनी ।

विश्वमा कम्युनिष्टहरू रक्षात्मक बन्दै गएको बेला माक्र्सवादी समूहका पुराना र माले समूहका युवा नेताहरूबीचको एकताले कम्युनिष्टहरूलाई लोकप्रिय त बनायो नै, नवस्थापित प्रजातन्त्रको स्थायित्वलाई पनि आधार प्रदान ग¥यो । २०४७ सालको संविधान मस्यौदा आयोगमा प्रतिनिधित्व गर्ने मालेका नेता माधवकुमार नेपाल र आफूबीचको सहकार्यले दुई पार्टी एकताका लागि आधार प्रदान गरेको कुरा भरतमोहनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

मदन भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित ‘जनताको बहुदलीय जनवाद (जबज)’ कार्यक्रम ल्याउँदा त्यसको पक्षमा उभिने पुरानो पुस्ताका नेताहरूमा भरतमोहन अधिकारी अग्रपंक्तिमा थिए ।

मनमोहन अधिकारी जस्ता नेताहरू पनि सहमत हुन नसकिरहेको बेला माक्र्सवादी धारबाट भरतमोहनले जबजलाई समर्थन मात्र गरेनन्, आर्थिक पाटोमा योगदान पनि दिए । पछि २०५८ सालमा एमाले र मालेबीच पार्टी एकता गराउन एमालेबाट भरतमोहनकै नेतृत्वमा वार्ता टोली बनेको थियो । सबैसँग घुलमिल गर्न सक्ने र व्यक्तिगत सम्बन्ध राम्रो बनाइराख्ने क्षमताकै कारण कम्युनिष्ट आन्दोलनमा भएका मुख्य एकताक्रमहरूमा उनी अग्रपंक्तिमै रहे ।

जनमुखी आर्थिक सोच
२०५१ सालमा जनताबाट निर्वाचित भएर कम्युनिष्टहरू सरकारमा आउनु धेरैका लागि कौतूहल, रहस्य र आशंकाको विषय थियो । त्यतिबेलाको चर्को एमालेले अब आर्थिक क्षेत्रमा के गर्छ भन्ने जिज्ञासा धेरैमा थियो ।

कानूनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर तथा राजनीतिमा सधैं नरम धारमा देखिएका अधिकारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु सबैलाई आश्वस्त पार्ने कामको शुरूआत भैदियो । उनले त्यो अपेक्षालाई खेर जान दिएनन् । कम्युनिष्टहरू आए भने उद्योगधन्दा सरकारीकरण गर्छन् र निजी क्षेत्रलाई संकुचित पार्छन् भनेर फैलाइएको मनोविज्ञानलाई उनले व्यवहारबाटै चिरिदिए ।

२०४८ सालमा सत्तामा आएपछि नेपाली कांग्रेसले धमाधम गरेको निजीकरणको प्रक्रियालाई रोके पनि सरकारले चलाउन नसकेका उद्योगहरू निजी क्षेत्रलाई दिन सकिने कुराको विरुद्धमा थिएनन्, उनी । निजी क्षेत्रलाई आश्वस्त पार्न उनले ‘छनोटपूर्ण निजीकरण’ को अवधारणा ल्याए । त्यतिबेलाको अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यान दिई विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास ब्याङ्क जस्ता संस्थालाई विश्वासमा लिएर सिद्धान्तलाई बिर्सिएनन् ।

भरतमोहन अधिकारीको आर्थिक सोचको पृष्ठभूमिमा निजी क्षेत्र थिएन भन्ने होइन । तर, उनले बजेट बनाउँदा जहिले पनि जनतालाई केन्द्रमा राखे । यदि त्यस्तो नहुँदो हो त, ज्येष्ठ नागरिकलाई राज्यका तर्फबाट मासिक १०० रुपैयाँ भत्ता दिने सोच उनमा आउने थिएन । जुन न एमालेको घोषणापत्रमा थियो न त मुख्य नेताहरूले नै सोचेका थिए ।

कम्युनिष्टहरू सत्तामा आए भने ६० वर्ष नाघेकालाई गोली ठोकेर मार्छन् भनेर अफवाह फैलाइएका बेला भरतमोहन अधिकारीले अघि सारेको सोचले आम मनोविज्ञानमै परिवर्तन ल्याइदियो, त्यसैले आजसम्म कम्युनिष्टहरूप्रति ज्येष्ठ नागरिकहरू कृतज्ञ छन् । आर्थिक सन्तुलन र उत्पादनशीलताका हिसाबले केही आलोचना भए पनि नागरिकसम्म राज्यलाई पु¥याउने उनको सोच कति दीर्घकालीन थियो भन्ने कुरा त्यसयता सबै अर्थमन्त्री उनकै पदचिह्नमा हिंड्नुले पुष्टि गर्दछ ।

विकसित देशहरूले आफ्ना नागरिकको सामाजिक सुरक्षाको दायित्व बहन गर्छन् । नेपालमा त्यति गर्न नसके पनि वृद्ध र अशक्त उमेरमा हाम्रा साथमा राज्य छ भन्ने अनुभूति दिलाउनका लागि शुरू गरिएको उक्त कार्यक्रम दक्षिणएशियामै अग्रणी बनेको थियो ।

मदन भण्डारीले जनताको बहुदलीय जनवाद मार्फत कम्युनिष्ट आन्दोलनलाई लोकतन्त्रीकरण गरे भने त्यसका आर्थिक सोधचहरू भरतमोहन अधिकारी मार्फत सार्वजनिक भए।

अर्थमन्त्रीका रूपमा भरतमोहनले पहिलो पटक राज्यलाई गाउँसँग जोडेका थिए । त्यतिबेलासम्म मुश्किलले रु.५० हजार गाउँ विकास समितिमा पुग्ने गरेकोमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान चलाएर एकै पटक तीन लाख रुपैयाँ गाउँमा पुग्दा त्यसमा थपिएको उत्साह र श्रमदानले २०औं लाखका काम हुनथाले ।

बाटोघाटो, विद्यालय, खानेपानी जस्ता आधारभूत आवश्यकताका लागि सिंहदरबार धाउनुपर्ने बाध्यताबाट मुक्त गर्नु त्यतिबेला कम जोखिम थिएन । खर्च गर्ने संरचना छैनन् र भ्रष्टाचार हुन्छ भन्दै चर्को आलोचना भए पनि उनको त्यही सोचकै कारण गाउँका जनताले हाम्रा लागि पनि सरकार रहेछ भन्ने अनुभूति गर्न पाए ।

मदन भण्डारीले जनताको बहुदलीय जनवाद मार्फत कम्युनिष्ट आन्दोलनलाई लोकतन्त्रीकरण गरे भने त्यसका आर्थिक सोचहरू भरतमोहन अधिकारी मार्फत सार्वजनिक भए । राष्ट्रिय पूूँजीपति वर्गलाई विश्वासमा लिई, अन्तर्राष्ट्रिय पूँजी र प्रविधिलाई ध्यान दिंदै जनतालाई केन्द्रमा राखेर बजेट बनाउनुपर्छ भन्ने जुन सोच भरतमोहनले ल्याएका थिए, त्यसको ब्याज आजपर्यन्त नेकपाले उठाइरहेको छ ।

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यबाट राष्ट्रिय पूँजी निर्माण गर्ने र त्यसका आधारमा अर्थतन्त्र चलायमान बनाउने सोचका साथै जनतालाई केन्द्रमा राखेकै कारण भरतमोहन अधिकारी भौतिक रूपमा नरहे पनि लामो समयसम्म धेरैका मनमस्तिष्कमा बाँचिरहनेछन् र कम्युनिष्ट सरकारका प्रत्येक अर्थमन्त्रीमाथि ‘भरतमोहनको जस्तो बजेट’ बनाउने दबाब परिरहनेछ ।

सधैं सक्रिय र नेतृत्वको सहयोगी
पदमा रहँदा हुने सक्रियता व्यक्तिको निजी दिनचर्या होइन । भरतमोहन अधिकारी चाहिं पदमा नरहँदा पनि निरन्तर सक्रिय रहन्थे । २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट ७० वर्षको उमेर हदका कारण विदा पाएपछि पनि उनी सक्रिय नै रहे । बेलाबेलामा पार्टी कार्यालय पुग्न र नेताहरूलाई फोन गरेरै भए पनि सल्लाह–सुझfव दिन उनले छाडेनन् । शरीरले साथ दिंदासम्म मानिसहरूसँग भेटघाट गर्ने, लेख्ने काम छोडेनन् ।

हरेक व्यक्तिको आफ्नो स्वभाव र शैली हुन्छ । कोही मानिस आफूले केही गर्न नसके पनि आजीवन मुर्मुरिएर, अरूलाई दोष दिन्छन् । भरतमोहन पृथक् थिए । पार्टीको नेतृत्वलाई सघाउन उनी सधैं क्रियाशील रहन्थे । माधवकुमार नेपाल महासचिव रहुञ्जेल र पछिसम्म पनि उनको हार्दिक र सहयोगी भूमिका रह्यो भने झलनाथ खनालले पार्टीमा जिम्मेवारी पाएपछि उनले तन–मनले सघाए ।

यतिसम्म कि खनालले पार्टीलाई थाहै नदिएर माओवादीसँग सहमति गरी प्रधानमन्त्री हुने सोच बनाएपछि त्यसका लागि वातावरण बनाउनेदेखि सातबुँदे सहमतिका लागि आफ्नै घरमा बैठक आयोजनाका कामसम्म उनले गरे ।

पछि फेरि अर्थमन्त्री भएका भरतमोहनले खनालको सीमित घेरामा काम गर्ने, समकालीन नेताहरूलाई उपेक्षा गर्ने र स्वार्थ प्रेरित निर्णय गर्ने शैलीको आफ्नो दोस्रो आत्मकथा ‘संसददेखि संविधानसभासम्म’ मा निर्भीकतापूर्वक आलोचना गरेका छन् । केपी ओली अध्यक्ष भएपछि उनलाई सघाउन चाहे पनि बालुवाटारको बलियो घेराका कारण सम्भव नभएको उनको गुनासो थियो ।

समग्रमा, भरतमोहन अधिकारी सक्रिय जीवन बाँचेर विदा भएका छन् । सफल र लोकप्रिय अर्थमन्त्रीका रूपमा आम मानिसका हृदयमा अमिट छाप छोडेका छन् । उनको निधन हुँदा अस्पताल, पार्टी कार्यालयदेखि आर्यघाटसम्म देखिएको मानिसहरूको उपस्थितिले यसको पुष्टि गर्दछ । शायद, एक जना नेताले आफ्नो जीवनमा आर्जन गर्ने सबभन्दा ठूलो सम्पत्ति यही नै हो ।

पढ्नुहाेस् । 

भरतमोहन अर्थनीति, सानो पहल ठूलो प्रभाव

प्रतिकृया दिनुहोस