थप समाचारसोमबार, २७ फाल्गुण , २०७५

इथियोपियन एयरलाइन्स दुर्घटनासँगै बोइङ ७३७ म्याक्सको सुरक्षामा शंका

रासस

छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि शंका उब्जिएको छ।

तस्वीर: डेली एक्सप्रेस


दुवै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो। अमेरिकी कम्पनी बोइङको नयाँ मोडलको यस विमानको सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ।

बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ। चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन्।

आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो। गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही मोडलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो।

पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन्। यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषणबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ।

“पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए। उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए।

विमान उडानका बखत इथियोपियाको राजधानीको मौसम राम्रो थियो।

टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने, “दुवै दुर्घटनाग्रस्त जहाज एकै मोडलका हुन्। लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र दुवै दुर्घटना पाइलटले प्राविधिक समस्या आएको खबर गर्नासाथ भएका छन्। दुबैमा एकै प्रकृतिको समस्या देखियो ।”

चिनिया नागरिक उड्डयन अधिकारीहरुले पनि दुवै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन्। विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए।

बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनिया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ।

लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ। मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो। यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एभिएसनको संयुक्त साझेदारीमा सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो।

जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरे पनि माग भने निकै बढी पाँच हजार ११ थानको थियो।

पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो। कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो। यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन्।

“अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो। सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडलको हुनेछ,” बजार विश्लेषक मिसेल मार्लुजीले भने, “विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो।”

बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ। अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाइ छ।

विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन्। यद्दपी कम्पनीलाई सीमित मात्र क्षति हुनेछ किनभने बोइङको प्रतिस्पर्धी कम्पनी हाल एयरबस मात्र छ।

बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ।

इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए।

– रासस/एएफपी

प्रतिकृया दिनुहोस