रिपोर्टसोमबार, २७ फाल्गुण , २०७५

‘गिजुभाई’ को विद्यालयकाे फरक सिकाइ विधि

युवराज श्रेष्ठ

कास्कीको माछापुच्छ्रे माविमा अवलम्बन गरिएको प्रयोगात्मक सिकाइको शिक्षण विधि सबै विद्यालयका लागि उदाहरण हुनसक्छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ्रे मावि।

भारतीय शिक्षाशास्त्री एवम् लेखक गिजुभाई बधेका लिखित उपन्यास ‘दिवास्वप्न’ गुजराती भाषाबाट हिन्दी हुँदै नेपालीमा पनि प्रकाशन भयो। नेपालीमा शिक्षक मासिकले प्रकाशन गरेको यो पुस्तकले बाल–शिक्षण विधिको उदाहरण प्रस्तुत गर्दै ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने मान्यता स्थापित गरेको छ।

‘दिवास्वप्न’ मा शिक्षकले आफ्ना विद्यार्थीलाई प्रयोगात्मक विधिबाट कसरी सिकाउन सक्छन्, पुस्तकमा भएका ज्ञानलाई कसरी प्रमाणित गर्न सक्छन् भन्ने प्रश्नका सरल उत्तर समेटिएका छन्। पुस्तकका मुख्य पात्र रहेका शिक्षकले विद्यार्थीलाई प्रभावकारी रूपमा सिकाउन कक्षाकोठामा रचनात्मक क्रियाकलाप त गर्छन् नै, कक्षा बाहिर कहिले खोला किनार त कहिले जंगल समेत घुमाएका छन्।

कास्कीको माछापुच्छ गाउँपालिका–२, सार्दीखोलास्थित माछापुच्छ्रे माविका विद्यार्थी ‘दिवास्वप्न’ कै पात्र झैं लाग्छन्। गणित र विज्ञान विषयका सैद्धान्तिक सूत्र मात्र होइन, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जनसंख्या शिक्षा जस्ता विषय पनि विद्यार्थीले प्रयोगात्मक विधिबाटै सिकिरहेका छन्। कक्षा ९ की छात्रा सुमिना श्रेष्ठले गणितका सूत्रहरू प्रयोगात्मक विधिबाट पढ्दा सजिलो भएको बताइन्। “ए स्क्वाएर माइनस बी स्क्वायरको फर्मूला एउटा स्क्वाएरबाट अर्को स्क्वाएर घटाउने हो भनेर जानेपछि घोक्नै पर्दैन” उनले प्रयोगात्मक विधि देखाउँदै भनिन्, “क्षेत्रफल निकाल्नेदेखि पिरामिडका सूत्रहरू पनि यसरी नै देखाउन सक्छौं।”

विद्यार्थीले विज्ञान तथा वातावरण विषयमा न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त मात्र नभई चाप, प्रकाश, बल, पिण्ड लगायत रसायन विज्ञानका सैद्धान्तिक सूत्रहरू पनि प्रयोग गरेरै प्रमाणित गर्छन्। प्रयोगात्मक विधिबाट विद्यार्थीलाई सिकाउँदा प्रभावकारी हुने विज्ञान शिक्षक यादव रेग्मीको अनुभव छ। घोक्न लगाएर कण्ठस्थ बनाउने भन्दा यसरी सिकाउँदा छोटो समयमै विद्यार्थीले राम्रोसँग बुझने र सिर्जनशीलता बढ्ने रेग्मी बताउँछन्। “हामीले त सहजीकरण मात्र गर्ने हो” उनी भन्छन्, “किताबका सूत्र यसरी प्रमाणित गर्न सकिन्छ भनेपछि प्रयोगात्मक विधिका सबै काम विद्यार्थी आफै गर्छन्।”

सामाजिक अध्ययन र जनसंख्या शिक्षा विषयमा बाल विवाह सम्बन्धी पाठ केहीबेर पढेपछि विद्यार्थीलाई समूहमा बाँडेर गाउँका त्यस्ता घरहरूमा पठाइन्छ, जहाँ बालविवाह भएका हुन्छन्। त्यहाँ गएर उनीहरू छिटो विवाह गर्दा के कस्ता समस्या भोग्नुप¥र्‍यो भनेर आफैले कुरा गर्छन्। “बाल विवाहका असर भनेर बुँदागत रूपमा विद्यार्थीलाई घोकाउने होइन” विद्यालयका प्राचार्य सन्तोष आचार्य भन्छन्, “गाउँमा गएर आफैं प्रत्यक्ष बुझ्ेपछि किताबमा लेखिएको भन्दा बढी सिक्छन्।” आचार्यका अनुसार, यहाँका विद्यार्थीले अर्थशास्त्रमा बजार, लागत मूल्य, सीमान्त उपयोगिता ह्रास नियम जस्ता पाठ नजिकैको कृषि फार्मदेखि बजारमा गएर सिक्छन्। यस्तै, नेपाली र अंग्रेजीका शब्दहरू पनि प्रयोग गरेरै देखाइन्छ।

विद्यार्थीलाई प्रयोगात्मक र सिर्जनशील बनाउन शिक्षकहरूको तरिका पनि फरक छ। प्राचार्य आचार्यका अनुसार, विद्यालयमा विद्यार्थीकै सामाजिक शिक्षा समूह, गणित समूह, विज्ञान समूह, खेलकुद समूह, सांस्कृतिक समूह जस्ता विभिन्न विषयगत समूह बनेका छन्। आफ्नो रुचि अनुसार विद्यार्थीहरू उक्त समूहमा जान्छन् र आपसमा सरसल्लाह गर्दै ज्ञानगुनका कुरा सिक्छन्। केही विद्यार्थी भने हरेकजसो समूहमा पुग्छन्। आचार्य भन्छन्, “जिज्ञासु र टाठा विद्यार्थी गणित, विज्ञान, अंग्रेजी लगायत समूहमा पनि पुगेका हुन्छन्, केही विद्यार्थी खेलकुद वा सांस्कृतिक समूहमा मात्र बस्छन्।” विद्यार्थीको समूह बनाइदिएपछि विद्यालय नआउने समस्या पनि समाधान भएको आचार्यको अनुभव छ। विद्यार्थीहरू बिदाका दिनमा पनि विद्यालय आउने र कक्षाकोठाको समस्याबारे मात्र नभई किताबमा लेखिएका पाठका विषयमा पनि तर्क वितर्क गर्ने उनी बताउँछन्।

प्रयोगात्मक सिकाइ अन्तर्गत खेतमा काम गर्दै माछापुच्छ्रे माविका विद्यार्थीहरू।

विद्यालयमा रहेको पुस्तकालय होस् या विज्ञान प्रयोगशाला, सबैतिर विद्यार्थीको पहुँच सहज छ। प्राचार्यको टेबलमा रहेको ल्यापटप विद्यार्थीले जुनसुकै समय प्रयोग गर्न पाउँछन्। उनीहरू ल्यापटप मार्फत शैक्षिक सामग्री र प्रयोगात्मक विधिबारे बुझने प्रयास गर्छन्। छात्रालाई महीनावारी हुँदा आवश्यक पर्ने सेफ्टी प्याडदेखि विज्ञान प्रयोगशालाका अधिकांश सामग्री पनि विद्यार्थीले नै व्यवस्थापन गर्छन्। “प्रयोगात्मक विधिमा आवश्यक पर्ने सामग्री विद्यार्थी र शिक्षकले आफैं निर्णय गरेर खरीद गर्छन् र त्यसको बिल पेश गर्छन्”, आचार्य भन्छन्।

 सुधारको आधार

माछापुच्छ्रे माविको शैक्षिक स्तर सुधार्ने प्रयास २०६६ सालदेखि शुरू भएको हो। साविकको माछापुच्छे« गाविसमा २५ किलोमिटर टाढाको पोखराबाट बोर्डिङ स्कूलका बसहरू विद्यार्थी लिन लस्कर लागेर आउँथे। यो दृश्यले विद्यालयका तत्कालीन प्राचार्य मित्रलाल आचार्यको मन कटक्क खान्थ्यो। अंग्रेजी माध्यमका विद्यालयमा आकर्षण बढिरहँदा गाउँको विद्यालयको मुहार फेर्न आचार्यसँगै स्थानीय युवाहरूले पटक–पटक शिक्षक र अभिभावक भेलाहरू गराए।

तिनै भेलाको आधारमा विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन शुरू गरियो, जतिबेला विद्यार्थी संख्या ३४१ मात्र थियो। अंग्रेजी माध्यममा कक्षा सञ्चालनसँगै कार्यरत सबै शिक्षकले आफ्ना सन्तान सोही विद्यालयमा पढाउने निर्णय गरे। अहिले कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पढाइ भइरहेको विद्यालयमा विद्यार्थी संख्या बढेर ६३२ पुगेको छ। तत्कालीन प्राचार्य मित्रलाल सेवा निवृत्त भएपछि अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका छन्।

त्यसबेला शैक्षिक सुधारका लागि शिक्षकको व्यवस्थापनमा पनि विशेष ध्यान दिइयो। सरकारी दरबन्दीका शिक्षकलाई अंग्रेजी माध्यममा पढाउन असहज भएपछि विद्यालयको स्रोतबाट थप शिक्षक भर्ना गरियो। सरकारी दरबन्दीमा प्राथमिक तहमा पढाइरहेका शिक्षकलाई उनीहरूको ज्ञान र क्षमताका आधारमा माध्यमिक तहसम्म नै अध्यापन गर्ने जिम्मा दिइयो भने कमजोर शिक्षकको विषय र कक्षा परिवर्तन गरियो। अहिले विद्यालयमा सरकारी दरबन्दीका १६ र निजी दरबन्दीमा पनि १६ गरी ३२ जना शिक्षक छन्।

विद्यालयमा दश जोड दुई शुरू गरेको २०६८ सालमा हालका प्राचार्य सन्तोष आचार्य स्रोत शिक्षकका रूपमा प्रवेश गरे। त्यसअघि पोखराका विभिन्न क्याम्पस र निजी विद्यालयमा अध्यापन गरेका उनीसँग काठमाडौंमा ब्रिटिश काउन्सिलमा समेत काम गरेको अनुभव थियो। २०७२ सालदेखि विद्यालयका प्राचार्य बनेका उनले त्यसपछि सबै शिक्षकलाई बराबरी हैसियत दिए। “सबै शिक्षक समान हैसियतमा काम गर्ने भएकाले अहिले मेरो अनुपस्थितिमा पनि विद्यालय चल्छ”, आचार्य भन्छन्।

विद्यार्थीबाट नर्सरीमा मासिक रु.१२० शुल्क लिइन्छ, जुन कक्षा उक्लदै जाँदा रु.१० का दरले बढ्दै जाने नियम बनाइएको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई भने मासिक शुल्क, होस्टल र ट्यूसन फी सबै निःशुल्क गरिएको छ।

शिक्षकले पाठयोजना बनाएर विद्यार्थीलाई सिकाउँछन्। दिनभरका सिकाइ उपलब्धि र समस्याबारे छलफल गर्न दैनिक अपराह्न ४ बजेपछि शिक्षकहरूको बैठक हुन्छ। विद्यार्थीले पनि दैनिक रूपमा राम्रा गरेका कुरा र सुधार गर्नुपर्ने पाटोमा छलफल गर्छन्।

विद्यालयले शैक्षिक सुधारमा फड्को मार्दै जाँदा समुदायबाट पनि साथ र सहयोग बढ्दो छ। विद्यालय व्यवस्थापन समितिले विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने तयारी शुरू गरेपछि विषय छनोट भइनसक्दै अभिभावकहरूबाट आर्थिक सहयोग जुट्न थालेको छ। सार्दीखोलाका बासिन्दादेखि पोखरा, काठमाडौं र विदेशमा रहेका गाउँलेहरूले प्राविधिक कक्षा संचालनका लागि सहयोग पठाउन थालेपछि अहिलेसम्म रु.१ करोड ५० लाख संकलन भइसकेको छ।

सिकाइमा लगानी पुगेन

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल प्राप्त नभएको गुनासो धेरै सुनिन्छ। तर, विद्यालयको अनुभवले भन्छ, सरकारबाट आउने वार्षिक बजेट प्रभावकारी सिकाइका लागि पुग्दैन।

माछापुच्छ्रे माविमा सरकारले १६ जना शिक्षकलाई तलब, छात्रवृत्ति, पाठ्यपुस्तक र केही शीर्षकमा खर्च गर्न गत वर्ष रु.९९ लाख २२ हजार ३३६ पठाएको थियो। त्यो रकमलाई शिक्षामा गरिएको लगानी मान्न नहुने तर्क व्यवस्थापन समितिका अध्यक्ष आचार्यको छ। “भवन बनाउनु, तलब खुवाउनु शिक्षामा गरिएको लगानी होइन” उनी भन्छन्, “सिकाइ उपलब्धि हासिल गर्न आवश्यक स्रोत–साधन, प्रयोगात्मक सामग्री आदिमा कत्ति पनि लगानी छैन।”

विद्यालयमा वार्षिक रु.१ करोड २२ लाख ९० हजार ७१२ खर्च हुने गरेको छ। यो रकम विद्यार्थी शुल्क, अक्षय कोषको ब्याज तथा अभिभावक र विभिन्न संघसंस्थाबाट प्राप्त हुने सहयोगबाट परिपूर्ति भइरहेको उनी बताउँछन्। यो विद्यालयमा भवनदेखि खेलकुद मैदानसम्म स्थानीयले चन्दा उठाएर बनाइदिएका हुन्। यसमा केही स्वदेशी र विदेशी संघसंस्थाले सघाएका छन्।

विद्यार्थीलाई बढीभन्दा बढी प्रयोगात्मक विधिबाट सिकाउन धेरै शैक्षिक सामग्री आवश्यक परे पनि तिनमा सरकारको कुनै लगानी नरहेको अध्यक्ष आचार्य बताउँछन्। “सिकाइ उपलब्धि बढाउन र विद्यार्थीले विद्यालय छोड्ने परिस्थिति बन्न नदिन पनि यस्ता सामग्रीमा सरकारले लगानी गर्नुपर्छ”, उनी भन्छन्।

 

 

 

प्रतिकृया दिनुहोस