अत्याधुनिक हतियारसहित भारतीय नागरिक पक्राउ
प्रहरीले वीरगञ्जबाट एक भारतीय नागरिकलाई अत्याधुनिक हतियार सहित पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, भारतीय योगगुरु रामदेव वीरगञ्ज मै रहेका बेला भारत, बिहारको पूर्वीचम्पारणका महम्मद समीम अख्तर लाई आज, ९ मंसीरमा प्रहरीले पक्राउ गरेकोे हो ।
वीरगञ्जको पानीटंकी टोलबाट पक्राउ परेका अख्तर हत्या, बलात्कार र चोरीको गाडी खरिद बिक्री जस्ता अपराधिक कृयकलापमा संलग्न रहेको प्रहरीको भनाई छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भारतीय अपराधिक गिरोहका सदस्य हात–हतियार सहित वीरगञ्जमा रहेको भन्ने सूचनाको आधारमा मध्य क्षेत्रीय प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले अख्तरलाई नियन्त्रणमा लिएको बताए ।
उनका साथबाट स्वचालित पेस्तोल एक थान, त्यसमा लाग्ने गोली १८ राउण्ड, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान, मोबाइल सेट ६ थान, नेपाली सीम कार्ड पाच थान, भारतीय सिम कार्ड नौ थान, छुट्टा छुट्टै नाम तर फोटो एकै व्याक्तिको भएको भारतीय निर्वाचन आयोगको कार्ड तीन थान, भारतीय चार पाङग्रे गाडीको खाली ब्लु बुक चार थान, एउटै व्यक्तिको फरक फरक नाम राखेर बनाइएको भारतीय सवारी साधन चालक अनुमति पत्र चार थान, भारतीय सवारी साधनको ब्लुबुक पाँच थान, स्मार्ट लाइसेन्स एक थान, भारतीय स्टेट बैंकको एटिएम कार्ड एक थान, २४ हजार ४० नेपाली रुपैया, नौ हजार भारु लगायतका सामान बरामद भएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
“बिहान पानीटंकी टोलमा पैदल हिँडदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्यौं, एक थान स्वचालित पेस्तोल र १८ राउण्ड गोली बरामद भयो, त्यसपछि नियन्त्रणमा लियौं,” प्रहरी उपरीक्षक श्रेष्ठले भने ।
वीरगञ्ज १५ मुर्ली बगैचास्थित अख्तरको डेरामा छापा मारेपछि प्रहरीले अन्य हतियार लगायतका सामाग्रीहरु बरामद गरेको थियो ।
झण्डै दुई महिनादेखि वीरगञ्जको मुर्ली बगैंचामा डेरा लिएर बस्दै आएका महम्मद समीमले भारत र नेपालमा चोरीको गाडीको खरिबिक्री गर्ने गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
“अहिले नेपालतर्फ त्यस्तो कुनै गतिविधि गर्ने योजना बनाएको तथ्य खुलेको छैन,” उनले भन, “नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दैछौं।”
अख्तर भारतीय प्रहरीको खोजीको सूचीमा रहेको भारतीय पत्रिका हिन्दुस्तानको गत ५ जुलाइ र १३ अगस्तमा प्रकाशित समाचार उल्लेख छ ।
सुरेश बिडारी, वीरगञ्ज