एउटै कोठामा तीन कक्षा
भूकम्पले भत्किएको भवन समयमै नबनेपछि तनहुँको राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा तीन कक्षा सञ्चालन गरिएको छ ।
घिरिङ गाउँपालिका–४ साभुङस्थित उक्त विद्यालयमा कोठा अभावमा कक्षा १, २, ३ र कक्षा ४, ५ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपरेको प्रधानाध्यापक डम्बरसिंह थापाले बताए ।
चार मात्र कोठा रहेको उक्त विद्यालयको भवनको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा बालविकास केन्द्र सञ्चालन भइरहेको छ ।
एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनुपर्दा विद्यार्थीमा समस्या भएको विद्यालयका शिक्षिका सावित्री विकले बताइन् ।
“एउटा कक्षालाई पढाइरहँदा अर्को कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्को कक्षाकाले जवाफ दिन्छन् । सिकाई उपलब्धि नहुने हो कि भन्ने समस्या छ।” - रासस