स्वयंसेविकालाई ६ हजार प्रोत्साहन भत्ता
बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ ।
गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक छ हजारका दरले रु पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष रु एक हजार थप गरेर छ हजार पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको कदर गर्दै गत वर्षबाट प्रोत्साह भत्ता दिन शुरु गरेकाे उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् ।
नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् ।