संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने राप्रपाको निर्णय
राप्रापा र राप्रपा नेपालको एकीकरणपछि बनेको राप्रपाको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले मधेश समस्या समाधानका लागि संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ ।
८ मंसीरदेखि बसेको बैठक आज सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा संविधान संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरे ।
उनले मुलुकमा धर्मनिरपेक्षताका आडमा धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न माग गर्दै संविधान संशोधनका क्रममा नेपाललाई हिन्दू राष्ट्र कायम गराइने दाबी समेत गरे ।
उक्त अवसरमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेकाले अब पार्टीलाई अग्रणी स्थानमा पुर्याइने प्रतिबद्धता बताए ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी अहिले सरकारमा रहे पनि महत्वपूर्ण निर्णय गर्ने सन्दर्भमा बेवास्ता गरिँदै आएकाले सरकारमा सहभागी हुनेबारेमा पुनःविचार गर्नुपर्ने विचार व्यक्त गरे ।
बैठकले आगामी माघ महिनाभित्र पार्टीको अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा एकाइ समितिको एकीकृत कार्यसमिति गठन गर्ने र पार्टीका सुल्झन बाँकी विषयलाई महाधिवेशनले टुङ्गो लगाउने निर्णय बैठकले गरेको छ ।
गत सोमबार राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएको हो । रासस