थप समाचारशनिबार, २५ फाल्गुण , २०७५

अब मकैको सातुको व्यावसायिक उत्पादन

हिमालखबर

मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा पहिलोपटक व्यावसायिक रुपमा मकैको सातुको उत्पादन थालिएको छ ।

फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले स्वास्थ्यमासमेत फाइदा पुर्‍याउने भएकाले मकै खाने बानी बढाउन यसको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ ।

यस अगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवालगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुसजस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको थियो ।

यस वर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । 

“मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ” भुसालले भने, “अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ । यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।”

पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, पाँच प्रतिशत बदाम, तीन प्रतिशत चिनी, एक प्रतिशत नुन, एक प्रतिशत अदुवा, मरिच र अलैंची राखिएको छ ।

उद्योगले अलावा कोदो र गहुँको परिकार पनि बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने सातुलाई उत्पादनको छ महीनासम्म प्रयोग गर्न सकिने छ ।

मकैको सातुले पनि राम्रो बजार पाउने देखेर उत्पादन थालिएको भुसालको भनाइ छ । मकैको सातु सदरमुकाम कुश्माबजार, पोखरा, काठमाडौं, नारायणगढलगायतका बजारमा पठाइने भएको छ । – रासस

प्रतिकृया दिनुहोस