कला/साहित्यशनिबार, २५ फाल्गुण , २०७५

राजधानीमा कर्णालीको ‘गर्भ छिटा’

सेवा भट्टराई

भैलेरा आया...
ऋतु जुनाया...
तलदेखि माथिसम्म सेतो आङ्डो लगाएका अविवाहित महिलाहरू यस्तो गीत गाउँदै छिमेकीको घरमा भैली खेल्दै छन् । 

मुलुकको अन्यत्र भन्दा फरक कर्णालीमा पुसमा भैली खेल्ने गरिन्छ, र यही पुसे भैलोको सन्दर्भमा नाटक ‘गर्भ छिटा’ शुरू हुन्छ । 

गर्भ छिटा अर्थात् गर्भमै हुँदा विवाह पक्का गरिएकी पम्फा चाडपर्वका बेला माइती आएकी हुन्छिन् । बुवाले आफ्नो मिल्ने साथीसँग छोराछोरी गर्भमै हुँदा विवाह पक्का गरिदिएपछि दुलाहा लाटो भन्ने थाहा पाएपछि पनि वचनबाट पछि हट्न सक्दैनन् ।

एकातर्फ लाटो श्रीमान् र अर्कोतर्फ आफ्नो प्रेमी घरको कमारो चाउरो दमाईंबीच पम्फाको जीवन बर्बाद भइरहेको कथा ‘गर्भ छिटा’ नाटकमा देखाइएको छ ।

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव अन्तर्गत कीर्तिपुरको थिएटर मलमा देखाइएको यो नाटक मुगुको कर्णाली आर्टस् सेन्टरले तयार पारेको हो । यसका कलाकार, लेखक र निर्देशक सबै कर्णालीकै रहेका छन् । महोत्सवपछि पनि यो नाटक बिहीबार २४ फागुनदेखि काठमाडौंको मण्डला थिएटरमा नियमित प्रदर्शन भइरहेकाे छ ।

नाटक गर्भ छिटा काठमाडौंमा बसेर कर्णालीको संस्कृति र रहनसहन नियाल्ने एउटा दुर्लभ मौका हो । यसअघि एक दशकअघि राजधानीमा कर्णालीकै ‘कर्णाली दख्खिन बग्दो छ’ नाटक देखाइएको थियो । सोही नाटककै टोलीका हीरा बिजुली नेपालीले यो नाटकको लेखन र निर्देशन गरेका छन् ।

त्यसबेला चलचित्र निर्देशक मीन भाम र हीरा बिजुली नेपाली लगायत थुप्रै युवा आरोहण गुरुकुलबाट प्रभावित भएर त्यहीं नाटक सिकिरहेका थिए । त्यही सिकाइ र प्रभावलाई बिजुलीले मुगुमा नाटकको अभियान शुरू गरेका छन् । स्थानीय कलाकारहरूलाई आधुनिक रंगमञ्चको शैलीमा तालिम दिएर अहिले मञ्चमा उतारेका छन् ।

नाटक पुसे भैलोबाट शुरू हुन्छ जसमा कर्णालीमा अझै पनि गाइने प्राचीन भैली गीतहरू सुन्न पाइन्छन्। भैली खेल्दा अविवाहित केटीहरू थुप्रै दिन घरबाहिर एकसाथ बस्ने गर्दछन्, जसमा पम्फा पनि मिसिन्छिन् ।

उनीहरू भैली खेलेर जम्मा पारेको धान कुट्न थाल्छन्, आफ्नो कुटुम्बका केटाहरूलाई बोलाएर रमाइलो गफ गर्दै काम आधी आधी बाँड्छन्, र राति देउडा खेल्न भेट्ने सल्लाह गर्छन् । विवाह भइसकेकी पम्फालाई उनका कुटुम्बले अझै पनि मन पराएर पछ्याइरहेका हुन्छन् ।

राति देउडा खेल्दा गीतको माध्यमबाट उनी आफ्नो भावना पोख्छन्ः मन त पराएँ तिमीलाई, तर के गरौं तिमी अर्कैकी भइसक्यौ । पम्फा पनि त्यस्तै सांकेतिक तरिकाले उत्तर दिन्छिन्ः भाग्यमा नभएको कुरा मन पराएर के गर्छौ ? चित्त बुझाएर बस !

देउडा खेल्दै गरेका अविवाहित महिलाको सेतो पोशाक र विवाहित आमाको कालो र रातो पोशाकले दर्शकको ध्यानाकर्षण गर्छ । के यो पनि कर्णालीकै संस्कृति हो ? उत्तरमा निर्देशक हीरा बिजुली नेपाली भन्छन्, “हो, अविवाहित केटीहरूले सेतो पोशाक लगाउँछन्, र जो विवाह भएर पनि त्यो स्वीकार्न चाहँदैनन्, उनीहरू पनि सेतो लगाउँछन् ।”

विवाहमा बेखुशी भएर पनि आफूसमक्ष आएका प्रेम प्रस्तावहरू पम्फाले तर्काउँछिन् किनकि उनी सधैं आफ्नो प्रेमी चाउरोलाई सम्झिन्छिन् । तर कमारो चाउरो भने उनको प्रेम अपनाउन सक्दैनन् । 

पम्फाको गर्भ बसिसकेपछि पनि भागेर जान सक्दैनन्, किनकि उनी देख्छन् आफ्नो वासस्थानः एउटा गोठ । र देख्छन्, यदि त्यही गोठमै उनीहरू बस्न चाहे भने पनि समाजले त्यो स्वीकार्ने छैन ।

पम्फा र चाउरोको संवादमा उनीहरूका यी सबै बाध्यता छर्लंग भएका र उनीहरूले समाजको सत्य स्वीकारेको नाटकको सशक्त दृश्य हो । दृश्यहरू दैनिक जीवनका क्षण जसरी देखाइनुले नाटकमा नाटकीयताको भने कमी अनुभव हुन्छ ।

नाटकमा आफूखुशी प्रेम गर्नबाट वञ्चित महिलाको स्थान मात्रै होइन, जातभातले निम्त्याएको विकृति पनि देख्न सकिन्छ । कमारोको स्थान समाजमा कहाँनेर हुन्छ भनेर यसरी प्रष्ट पारिएको छ, जब एक जना कमारोको मृत्युपछि उनका मालिकले भन्छन्ः त्यसको लाश लगेर फाल्दे । न मासु खानु, न हड्डी घोट्नु ! अब के काम त्यसको ?

दुर्गम जिल्लाको ग्रामीण रहनसहनलाई काठमाडौं ल्याइपुर्‍याउने कर्णाली आर्टस् सेन्टर निकै वर्षदेखि कर्णालीको लोक संस्कृतिको जगेर्ना गर्नमा लागिपरेको छ । काठमाडौं बाहिर पनि आधुनिक रंगमञ्चको अभियान चलेका केही जिल्लामध्ये एक मुगु हो, जुन हरेक किसिमका लोककलाले आजसम्म पनि भरिपूर्ण छ ।

गर्भ छिटा पनि पम्फाफूल भन्ने लोककथामा आधारित छ, जसलाई केही हदसम्म आधुनिकीकरण गरिएको छ ।

आधुनिक रंगमञ्चमा मौलिक लेखनको कमी र विदेशी नाटकको मञ्चन गर्ने प्रचलन बढिरहेको समयमा नितान्त नेपाली नाटक ‘गर्भ छिटा’ को प्रस्तुतिलाई सराहनीय प्रयास ठान्नैपर्छ ।

 

प्रतिकृया दिनुहोस