टिप्पणीशनिबार, २५ फाल्गुण , २०७५

कहाँ हरायो विवेक ?

हिमालखबर

- अजय दीक्षित

सामाजिक सञ्जालहरू रिसराग फैलाउने माध्यम बन्दै छन्, सेतो र कालोमा कित्ताकाट भइरहँदा सन्तुलन राख्ने बीचको खैरो स्थान खुम्चिंदो छ।

मेरो पुस्ता हुर्किंदै गर्दा सूचना पाउने माध्यम थिए– अखबार, रेडियो र कुराकानी । युवावस्थामा प्रवेश गर्दा टेलिभिजन आइपुग्यो । अङ्ग्रेजीमा हाम्रा पुस्तालाई ‘बेबी बुमर’ भनिन्छ, हाम्रा सन्तान ‘मिलेनियल’ र नाति–नातिना पुस्ता ‘पोस्ट–मिलेनियल’ ।

हामी ‘स्लाइड रुल’ को युगमा हुक्र्यौं, हाम्रा छोराछोरी कम्प्युटर र नाति–नातिना ‘अलेक्सा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ आउँदै गरेको कालखण्डमा जीवनयात्रा शुरू गर्दैछन् । अहिले प्रविधि निकै विकसित भएको छ तर, विश्व व्यवस्था अप्ठ्यारो र असन्तुलित । 

सामाजिक सञ्जाल नआइसकेको इमेलको कालखण्ड थियो, मध्य १९९०। एक प्रोफेसरको इमेलमा सूचना आयो, ‘... विषयमा गोष्ठी हुँदैछ, सारांश (आबस्ट्राक्ट) पठाउनुहोला ।’ करीब २०० जनालाई एकैपल्ट अनुरोध गरिएको थियो, ‘टु अल’ । करीब एक सातापछि अर्का प्राध्यापकले सारांश पठाए, ‘रिप्लाई अल’ गरेर ।

आयोजक प्रोफेसरले सारांश स्वीकृत भएको सूचना दिए । सारांश पठाएका प्रोफेसरले स्वीकृत गर्ने प्रोफेसरलाई धन्यवाद दिए । प्राध्यापकलाई चिन्नेहरूले स्वीकृत गरिएकोमा धन्यवाद दिए । पठाउने प्राध्यापकले स्वीकृत भएकोमा बधाई पाए । हरेकपल्ट ‘रिप्लाई अल’ बटनमा क्लिक भयो, लेख्ने एउटा, स्वीकार्ने अर्को । मैले पनि ‘रिप्लाई अल’ गरिदिएँ, “लेख्ने र स्वीकार गर्ने दुवैलाई बधाई, हाम्रो टाउको किन दुखाएको ?”

इन्टरनेटमा सीमित पात्रहरूबीच सूचना आदानप्रदान गरिन्छ । सामाजिक सञ्जालले चिनजान नभएकाहरूसम्म पनि सूचना पुर्‍याइदिन थालेको छ । कसैले प्रेषित गरेको सूचना पढेपछि रिस उठ्नु, दङ्ग पर्नु, मन पर्नु/नपर्नु, कुरा ठीक लाग्नु÷नलाग्नु स्वाभाविक हो । धेरैले यस्ता सम्प्रेषणलाई हल्ला मान्छन् वास्ता गर्दैनन्, एकथरी सिंगौरीमा लागिहाल्छन् ।

मेरा एक शिक्षित, अनुभवी, देश–विदेश देखेका मित्र छन् । एकपटक विदेशको होटलबाट एअरपोर्ट जान बस कुर्दै गर्दा ट्वीटर हेर्न थालें । ती मित्रका ट्वीट रिसले भरिएका मात्रै थिए । काठमाडौं फर्केपछि फोन गरें, “ट्वीटरमा साह्रै रिसाहा पात्रका रूपमा देखिन्छौ, के भएको ?” उनले अचम्म मानेर भने, “हो र ?” करीब १० दिनपछि उनको फोन आयो । भने, “धन्यवाद, आफैंलाई लाज लाग्यो, पुराना ट्वीटहरू मेटें ।” अर्का मित्रले चाहिं सुझाव सुनेनन् । उनी गाली गर्छन्÷खान्छन्, जवाफ दिन्छन् । अर्थहीन जुहारीमा रमाएका छन् ।

यस्तो रिसरागले कालो वा सेतोमा कित्ताकाट गर्दा सामाजिक सञ्जालमा संवाद र बहस गर्ने बीचको खैरो स्थान खुम्चिंदै गएको छ, हरायो भने त बर्बादै हुन्छ । त्यसैले मुखामुख कुराकानी धेरै जाती, हाउभाउ हेर्न पाइन्छ, गाली–गलौज जरूरी हुँदैन ।

गाली गर्न रमाउनेहरूलाई इन्टरनेट नयाँ माध्यम बन्यो । मध्य १९९० तिरको अङ्ग्रेजी हिमाल को एउटा कार्टुन सम्झ्न्छु । मिनी कम्प्युटर अगाडि, बन्धु मेचमा बसेर टाइप गर्दैछ । ऊ रिसाएको छ, गाली प्रतिनिधित्व गर्ने सङ्केतहरूले मिनी कम्प्युटरलाई घेरेको । मन नपरेको मान्छेको इमेल खोज्यो, त्यसलाई गाली गरेर इमेल पठायो, ‘ठीक पार्दें त्यसलाई’ भन्यो, दङ्ग पर्‍यो । विवेक भुलेर आत्मरतिमा मग्न यस्ता शिक्षितहरूको बानी उदेकलाग्दो !

भच्र्युअल विश्वबाट हामी अति प्रभावित हुँदैछौं, सोच्नै छाडेका छौं । स्मार्ट शब्दको अन्धाधुन्द प्रयोग एउटा सङ्केत हो । केही महीनाअघि वीरेन्द्रनगर पुगेको थिएँ । स्थानीय अखबारको शीर्षकले ध्यान तान्यो– ‘भेरी नदीमा स्मार्ट घाट बनाइने ।’ मेरो मथिङ्गल घुम्न थाल्यो । मनले खिसिटिउरी गर्‍यो– घाटमा पुगेको पात्रले स्काइपबाट परलोकमा खबर दिने होला, ‘म आउँदैछु, सब ठीकठाक राख्नू ।’ आफ्नै खिसिटिउरीलाई धत् भनें, ठानें शायद घाटमा सफा र शान्त वातावरण बनाउने मनसाय होला !

इन्टरनेटमा तथ्याङ्कको बाढी छ । वैज्ञानिक बिल ने भन्छन्, ‘यो बाढीले हरेक व्यक्तिलाई हरेक विषयबारे केही जानकार बनाएको छ, तर यो पर्याप्त छैन ।’ तथ्याङ्क सूचना बनेका छैनन्, ज्ञान र विवेकको त कुरै नगरौं ।

टिएस इलिएटको कविताले यो सन्दर्भ बेजोडले समेटेको छ ।
“ह्वेर इज द वीजडम वी ह्याभ लस्ट इन नलेज ?
ह्वेर इज द नलेज वी ह्याभ लस्ट इन इन्फरमेसन ?”

विश्लेषकहरू भन्दैछन्, सूचनाहरू ज्ञान र विवेक बन्न नसकेको परिवेशमा तथ्याङ्क र सूचनाको बाढीले प्रजातन्त्रलाई घात गर्न सक्छ ।

भविष्य यस्तै हुन्छ भन्नु सम्भव छैन तर वर्तमानका केही सङ्केत हेरौं । जलवायु परिवर्तन, हरेक मुलुकमा चुलिंदो आर्थिक असमानता र आर्टिफिसियल इन्टेलिजेन्सले ल्याउने हस्तक्षेपलाई एकै ठाउँमा राखौं, उत्साहवद्र्धक परिदृश्य देखिंदैन । न त सन्तुलन हासिल गर्ने स्पष्ट बाटो छ।

यद्यपि, सन्तुलन राख्ने बाटो खोज्दै गरेका संवादका चौतारी चल्दैछन् । गफ गर्ने चौतारीहरू अझ व्यापक बनाउन सके सन्तुलनका थप गोरेटाहरू खोस्रिन शुरू हुन्थे । यस क्रममा सूचना र ज्ञान अन्ततोगत्वा विवेक बन्नुपर्नेछ । यो ज्ञान समग्र मानव जातिको हितका लागि प्रयोग गर्नु हाम्रो सामूहिक दायित्व हो ।

प्रतिकृया दिनुहोस