स्वास्थ्य, शिक्षा र राेजगारी निःशुल्क गर्नुपर्ने युवाको माग
शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यूवा अभियानकर्मीले कुनै पनि नेपालीलाई मौलिक अधिकारबाट वन्चित हुन नदिनका लागि सरकारले शिक्षा, स्वास्थ र रोजगार निःशुल्क गर्नुपर्ने माग गरे ।
“हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा जस्तो अत्यन्तै संवेदनशील क्षेत्र सबै नागरिकको पहुँचमा निःशुल्क र सर्वसुलभ हुनुपर्छ भन्ने नै हो”–पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अभियानकर्मी विजय थापाले नेपालमा मेडिकल कलेजकै अभावमा अध्ययनकै लागि विदेशिनुपर्ने बाध्याताबाट हजारौं नेपाली प्रताडित भएको बताए । “त्यसैले पनि सरकारले नेपालमा शिक्षामा सबैको पहुँचका बारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ”, उनले भने ।
अध्ययनका सिलसिलामा बङ्लादेश, अष्ट्रेलिया र भारतलगायतका देशमा गएका हजारौँ नेपाली विद्यार्थी अलपत्र भएको बारेमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।