पोखरामा शौचालयको झ्यालबाट कैदी फरार
कास्की कारगारबाट उपचारका लागि अस्पताल लगिएका एक कैदीे शौचालयबाट फरार भएका छन् ।
आज, ९ मंसीरमा दाँत सम्बन्धी उपचारको लागि पोखरा कारागारबाट गण्डकी मेडिकल कलेज लगिएका ३५ वर्षीय कैदी पुष्कर खड्का अस्पतालको शौचालयबाट भागेको कारागार प्रमुख हरिप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार उपचारपछि शौचालय जान्छु भनी भित्र पसेका खड्का झ्यालबाट भगेका हुन् ।
शौचालय छिरेको १५ मिनेटसम्म पनि बाहिर नआएपछि ढोका खोली हेर्दा उनी त्यहाँ नरहेको गौतमले बताए ।
प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका कार्यालय सहायकले अस्पताल लिएर गएका खड्कालाई लैजादा हतकडी लगाइएको भएपनि शौचालय जाँदा खोलिएको थियो ।
काभ्रेका खड्का अपहरण तथा शरीर बन्धक मुद्धामा २०७० वैशाख २६ गते कारगार चलान भएका थिए ।
उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख जरिवाना तोकेको छ । फरार खड्काकोे खोजी जारी रहेको प्रहरीले जनाएको छ ।