टिप्पणीशुक्रबार, २४ फाल्गुण , २०७५

सम्पदाकी ‘सौभाग्य’

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८)

सोनिया अवाले

बालखैमा भक्तपुरको पुरातत्वको प्रेममा परेकी सौभाग्य प्रधानाङ्ग (४७) को जिम्मामा यतिखेर मुलुककै सम्पदा जोगाउने जिम्मेवारी छ । 

तस्वीर : विक्रम राई/हिमालखबर 

सन् १९७० को दशक । भक्तपुरमा धमाधम वास्तुकला संरक्षणको काम हुँदैथियो । सहयोगी थियो– जर्मन परियोजना ।

आफ्नो आँखैअघि आफ्नै शहरको सम्पदा जोगाउन अनवरत खटिएकाहरूलाई देख्दा सौभाग्य प्रधानाङ्गलाई कता कता चासो जाग्न थाल्यो । उनी विद्यालय जाँदा, आउँदा यी सम्पदाहरूलाई नियाल्न थालिन् ।

घरमा अभिभावकहरू जहिल्यै संस्कार र रीतिरिवाजको कुरा गर्थे । नेवा समुदायका चाडपर्वको अर्थ र जीवनमा तिनको प्रभाव र महत्वका कुरा हुन्थ्यो ।

सौभाग्य सुन्थिन् बढी, बुझ्थिन् कम । त्यसैले उनी ठूलाबडासँग सोधिरहन्थिन्– सिठी नख किन मनाइन्छ ? घ्या चाकु सअ्लु, क्वाटी पूर्णिमा किन आइन्छ ?

“हामी नेवारहरू बिहान उठेदेखि राति सुत्दासम्म आफ्नो संस्कारमै बाँचिरहेका हुन्छौं, सानो हुँदादेखि नै मलाई यसबारे प्रशस्त जिज्ञासा थियो”, सौभाग्य भन्छिन् ।

त्यसो त मध्यमवर्गीय परिवारमा हुर्किएकीले पनि उनले घरैमा धेरै कुराको अनुभव गर्न पाइन् । बुबा थिए, जो आफ्ना संस्कृतिप्रति औधी मोह राख्थे र यिनलाई सधैं जीवितै राख्नुपर्छ भनिरहन्थे ।

सौभाग्य १० वर्षकै छँदा बुबा बिते । तर, सम्पदाप्रतिको सौभाग्यको प्रेम त भर्खर पलाउन थालेको थियो।

थिमीकै सार्वजनिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनले पुरातत्व विषय रोजिन् । स्नातकोत्तरमा त देशकै उत्कृष्ट भइन् । नेपाल भाषा र संस्कृतिबारे पढाउन पनि थालिन् । नेपाल सम्पदा संघमा पनि आबद्ध भइन् ।

‘व्यक्ति र समूह बनाएर भन्दा सरकारीस्तरबाटै पो पुरातत्व संरक्षण गर्न सहज हुन्थ्यो कि’ उनलाई लाग्न थाल्यो । त्यसैले उनी ललितपुर नगरपालिकामा पुरातत्व अधिकृत बनिन् ।

ललितपुरमा हुँदा उनले पुराना नाला, कुवा, इनार जस्ता पुराना पानीका स्रोत पहिल्याउने काम गरिन् । ऐतिहासिक महत्वको खोकनामा विद्यमान सम्पदाहरूको फेहरिस्त तयार पार्ने काम गरिन् ।

उही सौभाग्य आज देशकै पुरातत्व संरक्षणको जिम्मा लिएको राष्ट्रिय अभिलेखालयकी प्रमुख बनेकी छन् ।

२०७२ सालको भूकम्पले उपत्यकाका अधिकांश सम्पदाहरूमा प्रहार गर्‍यो। हेर्दाहेर्दै वर्षौंदेखि ठडिएका, पुजिएका मन्दिर, धरोहर र स्तम्भहरूले आकार गुमाए ।

तर, सौभाग्य जस्ता सम्पदाप्रेमीका लागि शोकसँगै यो एउटा अवसर पनि थियो, यी सम्पदालाई नयाँ ज्ञानले थप बलियो बनाउने ।

भूकम्पका परकम्पबीच वल्र्ड हेरिटेज डिभिजन, पुरातत्व विभाग, नेपाल प्रहरी र स्थानीयसँग मिलेर उनले थुप्रोमा गाडिएका, छरिएका काठ, तक्षशिला, देवताका काँसका कलाकृति निकाल्न सक्रिय भइन्।

“भूकम्प धरासायी बनिरहेका सम्पदा पुनर्निर्माणका लागि अवसर झैं बन्यो, हामीले अहिलेसम्म २०० वटा यस्ता सम्पदाको पुनर्निर्माण गरिसकेका छौं”, सौभाग्य भन्छिन्, “यसले मलाई धेरै कुरा पाएजस्तो महसूस भइरहेको छ ।”

त्यसो त काठमाडौंलाई सम्पदा पुनर्निर्माणमा छिमेकका ललितपुर र भक्तपुरले उछिनेका छन् । सरकारी ढिलासुस्ती, ठेक्कापट्टा, स्थानीयको असन्तुष्टिका साथै पुनर्निर्माणमा परम्परागत वा आधुनिक कुन शैली अपनाउने भन्ने विवाद काममा बाधक बनिरहेको छ । यसमा दाताको स्वार्थ पनि गाँसिएको देखिन्छ ।

“काठमाडौं उपत्यका जीवित सम्पदा हो, हाम्रो चिनारीको अभिन्न अंग हो” सौभाग्य भन्छिन्, “त्यसैले पनि यहाँ पुनर्निर्माणमा परम्परागत तरिका सही हुन्छ ।”

पुनर्निर्माणमा समुदायको चासो र सक्रियता भक्तपुर र ललितपुरमा जति छ, त्यो काठमाडौंमा देखिएको छैन, जसले सौभाग्यलाई बेला बेला निराश पनि बनाउँछ । तर, समुदायले नै अगुवाई गरिरहेको काष्ठमण्डप पुनर्निर्माणले उनलाई हौस्याएको छ । व्यापक जनदबाबबीच शुरू भएको रानीपोखरी पुनर्निर्माणले उनलाई खुशी दिएको छ ।

सौभाग्यका लागि पुरातत्व यस्तो क्षेत्र हो, जहाँ हामी हरक्षण नयाँ कुरा सिकिरहेका हुन्छौं, आफ्नो सभ्यताको उत्पत्तिबारे रोचक कुरा जानिरहेका हुन्छौं ।

सन् ७० को दशक र अहिले । समयले झण्डै पाँच दशकको फन्को मारेको छ । तर नबदलिएको कुरा, के छ भने, सौभाग्य झैं उनका सन्तान पनि पुरातत्वबारे जिज्ञासा राख्न थालेका छन् । आमासँग सम्पदास्थलहरू घुम्न र अस्तित्वको अर्थ थाहा पाउन खोज्छन् । यसले सौभाग्यमा बेग्लै खालको सन्तुष्टि दिएको छ ।

“तर, हामीले हाम्रा सन्ततिका लागि धेरै कुरा पत्ता लगाउन र संरक्षण गर्नै बाँकी छ”, उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस