राप्ती बन्दले जनतालाई सास्ती
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती बन्दका कारण ५ नम्बर प्रदेशका पाँच जिल्लाका जनतालाई समस्या भएको छ ।
प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपा राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्द आह्वान गरेको हो ।
बन्दका कारण ती जिल्लाहरुमा लामो दुरीका सार्वजनिक सवारी साधन नचल्दा यात्रुलाई समस्या भएको छ ।
दाङ बाहेकका अन्य जिल्लामा बजार, कलकारखाना, विद्यालय तथा कलेजहरु पनि बन्द छन् । दाङमा भने पसलहरु आंसिक रुपमा मात्र खुलेको र साना सवारीसाधनहरु मात्र चलेका छन् ।
लामोदुरीका र भाडाका सवारीसाधन चलेका छैनन ।
ति जिल्लाहरुमा प्रहरीले बिहानैदेखि गस्ती गरेको र सवारी साधन चलाउन चाहेमा सुरक्षा दिइने प्रशासनले बताएको छ ।
आवस्यक परेमा प्रहरी स्कर्टीङ गरेर पठाउने ब्यवस्था मिलाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।
प्रहरीले आफ्नो संगठनका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र रुद्र वली, रोल्पाबाट टीकाराम परियार, लालबहादुर सुनार र नृपेन्द्र सेनलाई पक्राउ गरेको भन्दै सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठाले विज्ञप्ती निकालेर बन्द आह्वान गरेका हुन् ।