काठमाडाैंमा किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
राष्ट्रिय किसान आयोगले नेपालमा खाद्य सम्प्रभुुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यले फागुन २६ देखि २८ गते सम्मेलन गर्न लागेको आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा नेपाल, बङ्गलादेश, चीन, भारत, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, प्रजग कोरिया र भियतनामका वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि सहकारीमा आबद्ध व्यक्ति, उद्योगी, व्यवसायी तथा कृषि विज्ञको सहभागिता रहने उनले बताए ।
३५० जनाको सहभागिता रहने सम्मेलनमा खाद्य सम्प्रभुुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्र्यपत्र प्रस्तुत गरीने कार्यक्रम रहेकाे पनि श्रेष्ठले जानकारी दिए ।
आयोगका प्रवक्ता रवीन्द्र केसीले सम्मेलनमार्फत अन्य देशका किसानसँग भाइचाराको सम्बन्ध स्थापना हुने बताए । “सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न र आधुनिक कृषि प्रणाली व्यवस्थामा थप जोड पुग्नेछ ”, केसीले भने ।
वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सार्थकताका लागि कृषि क्षेत्र र किसानको हकहित, अधिकार र उत्थानमा आयोग कृषिसम्बन्धी नीति, रणनीति निर्माण गर्न सम्मेलन सार्थक हुने आयोगका सदस्य सचिव दुर्गाप्रसाद दुवाडीको भनाई छ ।
सम्मेलनले किसानले अनुभव गरेका चुनौतीको सामना गर्दै किसान अधिकार र खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानून तर्जुमा र कार्यान्वयनका साथै नीति निर्माणको परिमार्जनमा टेवा पुग्ने बताइएको छ ।