टिचिङका रेजिडेन्ट डाक्टर अान्दोलित
अनशनको १२ औं दिनसम्म पनि डा. गोविन्द केसीका मागप्रति बेवास्ता भएको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सक (रेजिडेन्ट डक्टर) हरुले बहिरंग सेवा बहिस्कार गर्ने भएका छन् ।
‘रेजिडेन्ट डक्टर्स एशोसिएसन’ महाराजगञ्जले आज एक विज्ञप्ति जारी गर्दै भोलि १० मंसीरदेखि बहिरङ्ग विभाग (ओपीडी) मा सहभागी नहुने जानकारी गराएको हो ।
“मेडिकल शिक्षा एवम् समस्त स्वास्थ्य क्षेत्रको सुधारका माग राखी गरिएको आमरण अनशनलाई निष्कर्षमा पुर्याउनका निमित्त सम्बन्धित निकायबाट कुनै कदम नचालिएको प्रति हाम्रो संस्था खेद प्रकट गर्दछ,” विज्ञप्तिमा लेखिएको छ,“डा केसीको स्वास्थ्य स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएको र उहाँको जीवनरक्षाका निमित्त हाम्रो संस्थानले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।”
यस्तै देशभरका चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघले पनि डा केसीका मागहरुप्रति सरकार गम्भीर नभएको भन्दै अझै बेवास्ता गरिए कडा कदम उठाउने जनाएको छ ।
८ मंसीरमा संघले जारी गरेको विज्ञप्तिमा सरकारले केसीको अनशन यथाशक्य छिटो टुंग्याउन अग्रसरता नलिए संघले उठाउने कदमको जिम्मेवारी सरकारले लिनु पर्ने पनि जनाएको छ ।