कला/साहित्यबुधबार, २२ फाल्गुण , २०७५

उत्तरार्द्धमा इबरा

इन्द्रबहादुर राईको प्रथम पुण्यतिथि

सेवा भट्टराई

२०७३ सालको फागुनमा म अग्रज साहित्यकारहरूको अन्तर्वार्ता लिने क्रममा सिलिगुडी जाने योजना बनाउँदै थिएँ । 

काठमाडौंबाटै इन्द्रबहादुर राईलाई फोन गरें । एक घण्टीमै फोन उठ्यो । राई आफैंले फोन उठाउनुभएको रहेछ ।

“तपाईंसँग अन्तर्वार्ताको समय लिन” म आफ्नो कुरा शुरु मात्रै गर्दै थिएँ, राईले त “म अहिले सक्दिनँ है, मलाई माफ गरिदिनुहोस्” भनेर ढ्याक्क फोन राखी पनि दिनुभयो ।

धेरै खालका स्वास्थ्य समस्याबाट पीडित उहाँ खासै भेटघाट गर्न रुचाउनु हुन्न भनेर मैले पहिल्यै सुनेकी थिएँ । पुराना कुरा धेरै बिर्सिसक्नुभयो भन्ने पनि सुनेकी थिएँ । तर, केही कुरा सम्झना हुँदै उहाँलाई भेट्न पाए हुन्थ्यो भन्ने मनमा लागिरह्यो ।

राईसँग के होला, होला । तर, सिलिगुडी र आसामका अरू साहित्यकारसँग कुरा गर्ने समय मिलाएर काठमाडौंबाट सिलिगुडी हिंडे । अब त्यहीं पुगिसकेपछि फेरि एकचोटि किन प्रयास नगर्ने ? मनले भन्यो ।

यसपटक फोन उहाँकी छोरीले उठाउनुभयो, हार्दिकताका साथ स्वागत गर्दै मलाई घरको ठेगाना दिनुभयो । मलाई राहत मिलेजस्तो भयो । “यसपटक पनि फोन राई आफैंले उठाउनुभएको भए के हुन्थ्यो होला !” मैले एकफेर यसो सोचिहेरें ।

प्रायः दार्जीलिङ बस्ने राई जाडो महीना सिलिगुडी झर्नु हुँदोरहेछ । सिलिगुडीमा मलाई बाटो देखाउने साहित्यकार मुक्ति बरालले एउटा आवासीय भवनको चिटिक्क परेको फ्ल्याटमा म र अरू दुई जनालाई लिएर जानुभयो ।

राईकी छोरीले ढोका खोलेपछि थाहा भयो, राईले त पत्रकारहरूलाई भेट्नै छोड्नुभएको रहेछ । काठमाडौंबाट आएको भनेर छोरीले बताएपछि मात्र उहाँ बल्ल बल्ल कोठाबाट निस्केर हामीलाई भेट्नसम्म राजी हुनुभयो, तर उहाँको बेखुशी मुद्रा प्रष्टै झल्किन्थ्यो ।

मेरो हातमा रेकर्डर देख्ने बित्तिकै उहाँ रिसाउनुभयो र भन्नुभयोेः “यस्तो त मलाई मन पर्दैन । म दुःखमा छु (श्रीमतीको निधन भएको धेरै भएको थिएन) । अन्तर्वार्ता तपाईंलाई चाहिएको हो, मलाई होइन । त्यसैले मेरो कुरा पनि अलिकति मान्नुहोस् । धेरै कुरा सोधेर दुःख नदिनुहोस् ।”

म सोध्न चाहन्थें, तेस्रो आयाम र लीला लेखनका कुरा, भारतमा नेपाली भाषालाई मान्यता दिलाउन गरिएको भाषिक आन्दोलनका कुरा । तर उहाँ त्यतातिर छिर्नै चाहनुभएनः “यो भयंकर लम्बेतान प्रश्न मलाई नसोध्नुस्, एक, दुइटा छोटा कुरा मात्रै सोध्नुहोस् ।”

विस्मृतिले उहाँलाई सताएको रहेछ । उहाँ निकै असन्तुष्ट मात्रै होइन अस्वस्थ पनि देखेपछि मैले भनें “भयो, हजुरलाई दुःख दिन्न”, कमसे कम भेट त भयो भन्ने सम्झेर रेकर्डर बन्द गरें ।

एकछिनमा उहाँकी छोरीले चिया ल्याउनुभयो । चिया खाँदै उहाँ आफ्नै सुरमा बोल्न थाल्नुभयो । मैले हतार हतार रेकर्डर खोलें र उहाँले जे भन्नुभयो त्यही टिप्न थालें ।

भर्खरै काठमाडौंमा कमलमणि दीक्षितको निधन भएको थियो, त्यो समाचारले उहाँ झस्किनु भएझैं लाग्थ्यो । “नेपालका वरिष्ठ साहित्यकारहरूको निधनको खबर हामी दिनदिनै सुन्छौं, त्यसले हामीलाई दुःखी तुल्याएकै छ । साहित्यकारका लागि जीवन के थोक हो, हामी बताउनै सक्दैनौं । त्यो सबै लेख्दा आफैंमा एउटा उपन्यास हुन्छ, हाम्रो भोगाइबाट नै लेखाइ जन्मन्छ”, उहाँ भन्दै हुनुहुन्थ्यो ।

लाग्थ्यो, ९० वर्ष टेकिरहँदा उहाँमा मृत्युको पूर्वाभासको क्रम चलिरहन्थ्यो । कसैले केही नसोध्दा पनि सोचहरू त्यतैतिर मोडिए जस्तो, अन्तिम क्षणहरूमा जीवनलाई फर्केर हेर्न मन लागे जस्तो, मृत्युको तयारी गरेजस्तो ।

“म डुब्दैछु, आइ एम सिंकिङ । अघिको जस्तो लेखक फेरि बनुँला भन्नेमा म छैन । तर जीवनको यो क्षणमा आएर म चाहिं सन्तुष्ट छु । मेरा प्रायः सबै कृतिहरू प्रकाशित छन्, र जे जति बाँकी छन्, ती पनि छाप्ने सम्झौता भर्खरै भएको छ । धेरै मानिस अन्तिम घडीमा यस्तो भन्न सक्दैनन्, तर म सक्छु । म आफ्नो जीवनदेखि सन्तुष्ट छु, म एक खुशी मान्छे यहाँबाट जाँदैछु ।”

उहाँको आफ्नै शब्दमा आफ्नो जीवनको मूल्यांकन थियो त्यो । कुराकानीपछिको वर्ष मञ्जुश्री थापा र प्रवीण अधिकारीले अनुवाद गरेका उहाँका कृति अंग्रेजीमा पनि प्रकाशित भए, आफ्ना कृतिको विस्तारले उहाँलाई झनै सन्तुष्ट तुल्यायो होला ।

उहाँ बोल्न थालेको देखेर मैले आँट गरेर अन्तिममा जम्मा दुई वटा प्रश्न सोधें ।

इन्द्रबहादुर राई । तस्वीर: सेवा भट्टराई

पहिलो थियोः तपाईंलाई आफ्नो सबैभन्दा मन पर्ने कृति कुन हो ? भूमिका बाँध्दै उहाँले भन्नुभयोः “आफूलाई मनपर्ने रचना र पाठकलाई मनपर्ने रचना सधैं उस्तै हुँदैन रहेछ । तर मेरो एउटा आफूलाई मन परेको कृति भने पाठकले पनि मन पराएका छन्ः खीर । त्यसको सारतत्व जम्मा यत्ति हो कि मान्छेको जीवन कति प्रयत्न गर्दा पनि भने जस्तो, खोजे जस्तो हुँदैन ।”

राईले चारदशकअघि लेखेको कथा थियो–खीर । “मान्छेको जीवन, जति मिलाउँदा पनि के नमिलेको के नमिलेको जस्तो मीठो खीर पकाएर खाउँभन्दा पनि नसकिने जस्तो” उहाँले जीवनका जटिलभन्दा जटिल रहस्यलाई कति साधारण र सटिक तरिकाले भनिदिनुभयो ।

नेपाल साहित्यमा इन्द्रबहादुर राईले सैद्धान्तिक चिन्तन भित्र्याएका कुरा, मन छुने आख्यान शैलीको कुरा, उहाँकै अगुवाइमा नेपाली भाषालाई भारतमा राष्ट्रभाषाका रूपमा स्थापित गराउन चलेको आन्दोलनका कुरा, नेपाली भाषाको सर्वोत्कृष्ट कृतिलाई भारतको साहित्य अकादेमीले पुरस्कार दिने प्रचलन थाल्दा सबैभन्दा पहिलो पुरस्कार उहाँकै कृतिलाई दिइएको कुरा ।

भारतका केही नेपालीभाषी साहित्यकारलाई भेट्न निस्किएको त्यो छोटो साहित्यिक यात्राका क्रममा मलाई ती सबै कुरा आफ्नै आँखाले देख्ने अवसर जुर्‍यो । सिलिगुडी होस् वा आसाममा, श्रद्धा र आदरका साथ लिइने नाम थियो इन्द्रबहादुर राई ।

यता नेपालमा, राईले शुरू गरेको तेस्रो आयाम र लीला लेखनबाट प्रभावित भएको बताउने लेखक थुप्रै छन् । जार काट्ने वैधानिक अनुमति दिइने समयको अभिलेख होस्, वा दोस्रो विश्वयुद्धमा बर्माका नेपालीको पीडा, आज पनि सशक्त कथा मञ्चन गर्न नेपालका नाट्यकर्मीहरू राईका कृतितिरै फर्किरहेका छन् । सन् २०१५ यता मात्रै राईका कृतिमा आधारित ‘जार’ र ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक काठमाडौंमा मञ्चन गरिए ।

आखिर के विशेष स्वाद थियो त उनको लेखनीमा, जसले छरिएका नेपालीभाषीलाई अपनत्व दिलायो ?

‘युवाहरूलाई केही सन्देश दिन चाहनुहुन्छ ?’ मेरो दोस्रो प्रश्न यही जिज्ञासाको जवाफ जान्ने प्रयत्न थियो ।

“युवा भाइबहिनीलाई म सधैं एउटै सन्देश दिन्छु” उहाँले भन्नुभयो, “हामी आफ्नै बाटो खोजौं, अरूको पछि नलागौं । महान मानिसको बाटो पछ्याउनु भन्छन् । तर साहित्यमा त्यो काम लाग्दैन । आफ्नै तरिका नखोज्ने हो भने त्यो मान्छे लेखक, साहित्यकार नबने पनि भयो ।”

शायद, उहाँले आफ्नै बाटो खोज्ने गरेकैले होला, अघिका सबै कुरामाथि प्रश्न उठाउने गरेकैले होला, हामी अझैसम्म उहाँको त्यो चेतको प्रशंसा गरिरहेका छौं ।

अघि जतिसुकै रिसाए पनि हिंड्ने बेलामा भने उहाँले फ्ल्याटको ढोकाबाहिर निस्किएर परैबाट शिरमा हात राखेर स्नेहले बिदाइ गर्नुभयो ।

त्यो फागुनकै महीना थियो, जतिबेला मैले काठमाडौंमा इन्द्रबहादुर राईको निधनको खबर सुनें । ठ्याक्कै एक वर्ष अघि आजकै दिन अर्थात् २२ फागुनमा राईको निधन भयो ।

उहाँको निधन अस्वाभाविक थिएन । तर, उहाँले जे दिएर जानुभयो, ती सबै कुराको सम्झना मात्रले पनि उहाँको प्रस्थान सहजै स्वीकार्न मन लाग्दैन ।

के आफ्नो जीवनको उत्तराद्र्धमा राईले भन्नुभए झैं अहिलेको पुस्ताले साहित्यमा आफ्नै बाटो पहिल्याउन सक्ला ?

प्रतिकृया दिनुहोस