ग्यासको बिक्री–वितरण शुरु, आन्दोलन फिर्ता
ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएसंगै ग्यासको बिक्री–वितरण नियमित भएको छ ।
नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारीअनुसार ग्यास उद्यमी/व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेपछि ग्यासको बिक्री–वितरण शुरु भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र सङ्घका पदाधिकारीबीच तीनबुँदे समझदारी भएको छ ।
सम्झौतामा उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने र आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने उल्लेख छ ।
त्यस्तै ग्यास उद्योगी/व्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपि ग्याँसको पिडिओ खरिद गर्ने गरी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।