भारतलाई भन्सार छुट नदिने ट्रम्पको घोषणा
अमेरिकाले भारतलाई दिदैं आएको भन्सार छुट सुविधा हटाउने भएको छ ।
सामान्यीकृत ग्राह्यता प्रणाली (जिएसपी) अन्तर्गत भारतीय उत्पादन भन्सार छुटमा अमेरिका निर्यात हुँदैं आएका थिए । राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी संसदलाई यसको जानकारी गराएका थिए ।
भारत सरकारले अमेरिकी उत्पादनलाई सुविधा दिन राजी नभएकाले सामान्यीकृत ग्राह्यता प्रणाली (जिएसपी)अनुसार भारतलाई दिदैैं यस्तो सुविधा हटाउनु परेको ट्रम्पको भनाई छ ।
अमेरिकाले नेपालसहित १२० अल्पविकसित देशलाई भन्सार छुटको यस्तो सुविधा दिएको छ ।
नेपालले सन् २०२७ सम्म भन्सार छुटमा गलैचाँ, तयारी पोशाक लगाएका ६६ वस्तु अमेरिका निर्यात गर्न सक्ने सुविधा पाएको छ ।
भारत यसप्रकारको अमेरिकी सहुलियतको सबैभन्दा बढी लाभ पाउने देश हो । भारतले भन्सार छुटमा ५.६ अर्ब अमेरिकी डलर बराबरको सामान अमेरिका निर्यात गर्दै आएको छ ।
सन् २०१७ मा भारतसँगको व्यापार घाटा २७.३ अर्ब अमेरिकी डलर पुगेपछि भने अमेरिका दबाबमा परेको थियो । तर, आफ्ना सामानमा भने कर नघटाएको भन्दैं अमेरिकाले पटकपटक भातरसमक्ष असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
अमेरिकाले खारेज गरेको भन्सार छुट सुविधा ६० दिनपछि कार्यान्वयन हुनेछ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, भारतीय अधिकारीहरुले भने भन्सार छुट सुविधा हटाइए पनि अमेरीकासँगको व्यापारमा केही फरक नपर्ने दाबी गरेका छन् ।
रोयटर्ससँगको कुराकानीमा भारतका वाणिज्य मन्त्रालयका अधिकारीले अमेरिकाको भन्सार सुविधा व्यापारिक लाभका लागि भन्दा पनि रणनीतिक भएको बताएका छन् ।
अमेरिकाले टर्कीलाई दिदैैं आएको यस्तै भन्सार छुट सुविधा पनि हटाउने भएको छ । पछिल्लो समय टर्कीले गरेको आर्थिक विकासका कारण उसलाई भन्सार सुविधा आवश्यक नरहेको ट्रम्पको भनाई छ । -एजेन्सी