रिपोर्टमंगलबार, २१ फाल्गुण , २०७५

विप्लवको बम विस्फाेट: हिंसाको नयाँ चरण !

रामेश्वर बोहरा

जनअपेक्षा सम्बोधन गर्न नसकिरहेको सरकारको प्रस्तुति र जनतामा व्याप्त असन्तुष्टि— नेत्रविक्रम चन्द नेतृत्वको समूहका लागि हिंसा फैलाउने आधारभूमि बन्दैछ।

१० फागुनमा ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङका शोकमग्न परिवारजन । तस्वीरः मोनिका देउपाला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गएको २५ माघमा राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए– “माओवादीलाई सिध्याइहालियो भन्ने ठानियो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मन्छ, झन् ठूलो लडाइँ हुने अवस्था आउँछ ।”

दाहालको यो अभिव्यक्तिलाई धेरैले ‘आवेगको बोली’ माने । त्यो आवेग, जुन प्रधानमन्त्री एवं नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो ।

भेनेजुएलाको राजनीतिक किचलोबारे प्रम ओली देशबाहिर रहेका बेला दाहालले जारी गरेको विज्ञप्तिले ओली–दाहाल मतभिन्नता बढाएको र द्वन्द्वकालीन मुद्दाबारे अन्तर्राष्ट्रिय समुदाय मुखर हुन थालेको पृष्ठभूमिमा दाहालको यसखाले अप्रत्यासित अभिव्यक्ति आएको थियो ।

त्यही कारण हुनसक्छ, सत्तारुढ दलका प्रमुख नेताको यस्तो अभिव्यक्तिलाई धेरैले संयोग मात्र ठाने । तर, १० फागुनमा ललितपुरको नक्खुमा दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको मुख्यालय अगाडि एक जना सर्वसाधारणको मृत्यु र दुई जना घाइते हुने गरी गराइएको बम विस्फोट तथा २४ घण्टाबीचमा २० भन्दा बढी जिल्लामा रहेका एनसेलका बेसस्टेसनहरूमा भएको विस्फोट र आगजनीले दाहालको यस्तो अभिव्यक्ति संयोग मात्र नभएको देखाउँछन् ।

किनभने, यी सबै घटनाको जिम्मेवारी लिएको छ, नेत्रविक्रम चन्द नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ ले, जो कुनै बेला दाहालले नेतृत्व गरेको पार्टी, माओवादीबाट अलग्गिएको थियो ।

दशक लामो माओवादी हिंसात्मक विद्रोहको नेतृत्व गरेका दाहालको संकेत सम्भवतः त्यही समूहप्रति लक्षित थियो । यो बेग्लै हो कि, परिस्थितिलाई आफ्नो अनुकूलतामा ढाल्न खप्पिस दाहालले यो सूचनालाई पार्टीभित्र आफ्नो ‘बार्गेनिङ पावर’ बढाउने अस्त्रका रूपमा उपयोग गर्न खोजे ।

हिंसा र आतंकको सहारामा त्रासको राजनीति गरिरहेको चन्द समूह कसरी अघि बढ्न खोज्दैछ भन्ने १५ फागुनमा चन्द स्वयम्‌ले जारी गरेको विज्ञप्तिबाट प्रष्ट हुन्छ । ‘शहीद सप्ताहको अवसर’ भनेर जारी विज्ञप्तिमा चन्दले एनसेलमाथि भएको आक्रमणको जिम्मेवारी मात्र लिएका छैनन्, ‘सरकारले देश र जनतालाई कङ्गाल बनाउने भ्रष्टाचारी, घुसखोरमाथि कारबाही गर्नुको साटो उल्टै उनीहरूको संरक्षण गरिरहेको र आफूले कारबाही गर्दा दमनको भाषा बोलेको’ आक्षेप लगाएका छन् ।

अनौठो के भने निहत्था नागरिक मारिएकोमा एकशब्द नखर्चेका उनले बमकाण्डको छानबिनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्तालाई रिहा नगरे आन्दोलन गर्ने धम्की समेत दिएका छन् ।

हिंसाको नयाँ चरण
बाटोमा हिंड्दै गरेका लमजुङका सिंहप्रसाद गुरुङ (४९) ले अनाहकमा ज्यान गुमाएको, काभ्रेकी आयुषा मानन्धर (२५) र ललितपुर, बागडोलकी प्रतीक्षा खड्का (२६) घाइते भएको नक्खु बमकाण्ड यस्तो घटना हो, जसमार्फत चन्द समूहले देशभर नै हिंसा र आतंक मच्चाउन आफ्नो समूह तयार रहेको सन्देश दिएको छ ।

तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा रहेको संघीय राजधानीमै गराएको बमकाण्डबाट जनमानसमा त्रास थोपर्न सफल भएको छ, यो समूह ।

त्यस दिन नक्खुमा विस्फोट गराएसँगै चन्द समूहले प्रहरी प्रधान कार्यालयबाट करीब ३०० मिटर दूरीमा रहेको कमलपोखरीस्थित चोकमै बम राखेको थियो । जानकारहरू भन्छन्– राजधानीमै विस्फोट गराउनमा पाएको सफलताबाट चन्द समूहले देशैभर जहाँ पनि हिंसाका घटना गराउन सक्ने सन्देश दिएको छ ।

चन्द समूहले राजनीतिका नाममा हिंसा र आतंकको सहारा लिएको यो पहिलो घटना भने होइन । २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने भन्दै उसले निर्वाचनलाई रक्तपातपूर्ण बनाउने प्रयत्न गरेको थियो ।

१२ मंसीर २०७४ मा दाङको तुलसीपुरमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटबाट म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भयो, घटनामा आठ जना सर्वसाधारण घाइते भए ।

१३ मंसीर २०७४ मा उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीमाथि बम प्रहार गर्दा कार्कीसहित सात जना गम्भीर घाइते भए ।

१४ मंसीर २०७४ मा सुनसरीको इटहरीमा कांग्रेसको सभा नजिक बम विस्फोट गराइँदा १४ महीने शिशुसहित चार जना घाइते भए । चुनावी प्रचारकै क्रममा नुवाकोटमा नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री डा.रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट गराइयो ।

त्यसअघि १२ असार २०७४ को साँझ् कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल अगाडि चन्द समूहका कार्यकर्ता चन्दर सिंहले बोकेको बम विस्फोट हुँदा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

विश्लेषक श्याम श्रेष्ठ नक्खु बमकाण्ड चन्द समूहले हिंसाको सहारामा आफ्नो उपस्थिति देखाउन खोजेको पछिल्लो घटना भए पनि उसको यस्तो तयारी पहिलेदेखि ‘ओपन सेक्रेट’ रहेको बताउँछन् ।

“राजधानीको पछिल्लो घटनाबाट हामी सक्रिय छौं भन्ने सन्देश दिन खोजिएको हुनसक्छ” श्रेष्ठ भन्छन्, “तर, यो समूहले आफ्नो सैन्य शक्ति खडा गरी निरन्तर तालिम दिइरहेको र उनीहरूसँग द्वन्द्वकालदेखिकै हतियार पनि रहेको कुरा त जगजाहेर नै छ नि !”

चन्दले १ फागुनमा आफ्नो पार्टीको मुखपत्र www.eratokhabar.com लाई दिएको अन्तर्वार्तामा पनि सैन्यशक्ति बढाउँदै गएको तथ्य लुकाएका छैनन् । उनले भनेका छन्, “यति चाहिं हामीले जनतालाई भन्नुपर्छ– जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौं, जनमुक्ति सेना बनेको छ, त्यो क्रमशः सुदृढीकरणतिर जाँदैछ ।”

करीब दुई वर्ष अघिदेखि नै हिंसात्मक गतिविधि गर्दै आएको चन्द समूहले दूरदराजका गाउँमा मात्र होइन, राजधानीमै समेत उद्योगी–व्यापारीलाई चन्दा आतंकबाट आजित बनाएको छ ।

वर्तमान सरकारमा गृहमन्त्री बनेपछि २४ चैत २०७४ मा रामबहादुर थापाले भनेका थिए– “विप्लव नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलाप राजनीतिक नभई ध्वंसात्मक छन् । संविधान र कानूनविरोधी गतिविधिबाट शान्ति र स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिएकाले सरकार यो समूह विरुद्ध कडा रूपमा प्रस्तुत हुनेछ ।” तर, त्यसको एक वर्षसम्म चन्द समूहको हिंसा र अराजकता नियन्त्रण सरकारको प्राथमिकतामा परेन । बरु, वार्ताबाट समस्या सुल्झउने भन्दै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरियो तर, चन्द समूहले वार्तामा रुचि नै देखाएन ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य एनसेल बम काण्ड झट्ट हेर्दा एउटा घटना जस्तो मात्र देखिए पनि यसबाट हिंसाको अर्को चरण शुरू भएको मान्छन् ।

राजधानी सहित देशभर एकैरातमा भएका दर्जनौं विस्फोटका घटनाले मुलुकमा शान्तिको माहोल खलबलिएको र त्यसबाट बहुमतको सरकार र समृद्धिको लक्ष्य दुवैमाथि चुनौती पैदा भएको उनको विश्लेषण छ । “यो अवस्थामा कसरी विदेशी लगानी ल्याउने ? कसरी स्वदेशी र विदेशी लगानीलाई सुरक्षाको प्रत्याभूति दिने ?” आचार्य भन्छन्, “हिजो मधेश र पहाडमा देखापरेका हिंसात्मक समूह थान्को लागे पनि कम्युनिष्ट अतिवादीको हिंसा सधैं रहने भो, मुलुकको शान्ति र समृद्धिको यात्रालाई भंग गर्नेबाहेक यसको अर्को उद्देश्य देखिंदैन ।”

सुरक्षा निकायहरूले संकलन गरेका पछिल्ला सूचनाले पनि परिस्थिति जटिल बन्न थालेको देखाउँछन् । नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू चन्द समूह हिंसाको ठूलै तयारीमा लागेको बताउँछन् । एक उच्च प्रहरी अधिकृत भन्छन्, “देशभर नै उनीहरूले चन्दा संकलन, सैन्य तालिम सञ्चालनसँगै हातहतियार तथा विस्फोटक पदार्थ जम्मा गरिरहेको सूचना पाएका छौं, उनीहरूको तयारी चानचुने देखिंदैन ।”

आतंक फैलाउने आधारभूमि
पछिल्लो बमकाण्डलगत्तै प्रहरी प्रधान कार्यालयले चन्द समूहका गतिविधिमाथि निगरानी गर्न देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । यस्तो निर्देशनसँगै केही ठाउँमा चन्द समूहका कार्यकर्ता हतियार सहित पक्राउ परेका छन् । बमकाण्डले पारेको दबाबकै परिणाम किन नहोस्, यो समूहका कृत्यबारे सुरक्षा संयन्त्र पहिलोपटक चनाखो देखिएको छ ।

अनौठो चाहिं के भने सुरक्षा–संयन्त्रहरूको ध्यान चन्द समूहको शक्ति कत्रो छ ? ऊसँग सैन्य शक्ति कति छ ? हातहतियार के कति छन् ? जस्ता प्राविधिक जोडघटाउमै केन्द्रित देखिन्छ । जबकि, उसकोे जगजगी बढ्नुको कारण र पृष्ठभूमि बेग्लै छ ।

इतिहासकै बलियो मानिएको वर्तमान सरकारको निराशाजनक प्रस्तुति र त्यसलाई सञ्चालन गरिरहेको सत्तारुढ नेकपाभित्रको किंकर्तव्यविमूढतामा टेकेर चन्द समूह आफ्नो शक्ति विस्तार गरिरहेको छ । जनअपेक्षा ह्वात्तै बढाइदिएको यो सरकारले एक वर्ष पूरा गर्दा जनमानसमा आशा होइन, असन्तुष्टि चुलिएको छ ।

“संसारभर नै यस्ता समूह सरकारको अलोकप्रियतामा टेकेर विस्तार हुन्छन्, जब सरकार आफ्नै कामले अलोकप्रिय बन्दै जान्छ, तब यस्ता समूहको प्रभाव र उनीहरूप्रतिको आकर्षण बढ्न थाल्छ” विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “घटनाक्रम र गतिविधि हेर्दा सरकारले नै यसलाई फैलिने ठाउँ दिइरहेको देखिन्छ । सरकारले जनता निराश पार्ने काम गर्दै गयो भने यो समूह हिजोको माओवादी जस्तै बन्न सक्छ ।”

श्रेष्ठको विश्लेषण झैं चन्दले १ फागुनमा दिएको अन्तर्वार्तामा भनेका छन्, “केपी ओली र प्रचण्डजीहरूले हामी सरकारमा गएपछि सबै कुरा हल हुन्छ भन्नुभएको थियो, तर अहिले के अनुभूति भएको छ भने यो सरकारमा प्रतिनिधित्व हेरफेर भएर मात्र हल हुने विषय होइन रहेछ ।”

उनले अगाडि भनेका छन्– “...अतिक्रमणको कुनै क्षेत्र बाँकी छैन । राजनीतिमा दलाल खडा गरेर सत्ता चलाइएको छ । व्यापारघाटा अर्बबाट खर्बतिर जाँदैछ । दुई–चार जनाले कमिसन खाएर, दुई–चार जना नेताहरू चुप लागेर हुन्छ ? भ्रष्टाचारीहरूले, विदेशी दलालहरूले हाम्रो देशलाई गाँजेर लुट्ने, चुस्ने जे भएको छ, त्यसलाई सफल हुन नदिन हामी सबै मिलेर लागौं ।”

हुन पनि, हिजो माओवादीको हिंसात्मक विद्रोह फैलिने प्रमुख आधार बनेका विषयहरूको राजनीतिक हल खोजिए पनि अन्य समस्या समाधान भएको देखिन्न ।

गरीबी र बेरोजगारी बढ्दो छ, धनी र गरीबबीचको खाडल (आर्थिक असमानता) चुलिएको छ । “यस्ताखाले असन्तुष्टिमा फैलिन खोजिरहेका समूहलाई सहयोग गर्ने आन्तरिक तथा बाह्य तत्वहरू जति पनि छन्” हिजो माओवादी विद्रोहमा सहभागी भएका र अहिले विवेकशील साझा पार्टीका नेता रहेका मुमाराम खनाल भन्छन्, “माओवादी जनयुद्धकै बेला पनि कुण्ठा पालेर बसेको एउटा जमात तयार पारियो, त्यही जमातलाई प्रयोग गरेर पीडादायी समाज निर्माण गर्न खोजिंदैछ, विप्लवले त्यसकै नेतृत्व गरेका छन् ।”

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कुशासनले नै चन्द समूहलाई हिंसा विस्तार गर्ने पुट दिएको ठान्छन् । मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा मूलभूत मुद्दाहरूमा सहमति हुन नसक्नुलाई राष्ट्रिय विडम्बना मान्ने उनी त्यसकै कारण अहिले जनताको म्याण्डेटलाई स–साना अतिवादी समूहले चुनौती दिने अवस्था पैदा भएको ठान्छन् ।

“संविधान पक्षधर शक्तिहरूबीच त मूलभूत राष्ट्रिय मुद्दामा सहमति हुनुपर्ने हो, तर विदेशनीतिमा समेत मतैक्यता देखिंदैन” आचार्य भन्छन्, “स–साना शक्तिले बहुमतको म्याण्डेटलाई च्यालेन्ज गर्न थालेका छन् र यस्तै शक्तिलाई बाह्य शक्तिकेन्द्रले उचाल्छन् ।”

पढ्नुहाेस् । 

हिंसाको दुश्चक्र दोहोरिने जोखिम

प्रतिकृया दिनुहोस