मेरो अनसन व्यक्तिका लागि होइन, संस्थाका लागि होः डा.केसी
स्वास्थ्य क्षेत्र सुधारका लागि अनसनरत डा.गोविन्द केसीले आफ्नो अनसन कुनै व्यक्ति विषेशको पक्ष/विपक्षमा नभइ संस्थाहरुका लागि भएको बताएका छन् ।
डा. केसी दशौँ पटकसम्म अनशनरत बसेको ९ मंसिरमा १२ दिन पुगेको छ । उनका माग सम्बोधन गर्न सरकारले कुनै चासो देखाएको छैन् । हिमालखबरसँगको संक्षिप्त कुराकानीमा डा.केसीले कुनै पनि व्यक्ति विरुद्ध आफ्नो अनसन नरहेको बताएका छन् । उनले भने “मेरो अनसन व्यक्तिका लागि होइन, संस्थाका लागि हो ।”
उनले आफु कुनै व्यक्तिलाई आधार बनाएर माग नराखेको भन्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्तिको माग राख्दै आएको प्रष्ट पारेका छन् ।
डा. केसीले मुलुकका शैक्षिक संस्थामा राजनीतिक दलका कार्यकर्ता भर्ती गरेर शैक्षिक संस्थानमा पदाधिकारी नियुक्ति गर्ने अभ्यास भइरहेको बताए । उनले भने, “राजनीति दल र माफिया मिलेर शैक्षिक संस्थाहरुलाई धरासायी बनाउन दोहन गर्ने काम भइरहेको छ ।”
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुुधारका लागि ११ दिनदेखि अनशनरत डा. केसीले नेपाल चिकित्सक संघ राजनीतिक दलबाट निर्देशित भएकाले चिकित्सा शिक्षा सुधारको अभियानमा खुलेर समर्थन गर्न नसकेको बताएका छन् । उनले चिकित्सक संघले राजनीतिक घेराभन्दा बाहिर निस्केर आवाज उठानु पर्ने बताएका छन् । डा. केसी भन्छन्, “चिकित्सक संघ समग्र चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा बोल्नु पर्नेमा दलगत स्वार्थमा लाग्यो । चिकित्सक संघले आफ्नो दायित्व के हो भन्ने बारे बुझ्न सकेको छैन ।”
चिकित्सक संघ निजी मेडिकल कलेजहरुको स्वार्थमा चलेकोेले पनि चिकित्सा शिक्षा सुधारका लागि खुलेर लाग्न नसकेको हुन सक्ने डा.केसीको भनाई छ । उनले चिकित्सा शिक्षा सुधारको आन्दोलनमा संघले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए ।
यसैबीच, नेपाल चिकित्सक संघले १२ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग यथासक्य छिटो टुङ्ग्याउन नेपाल सरकारसँग माग गरेको छ । बुधबार साँझ संघले विज्ञप्ती जारी गर्दै अनशन टुङ्ग्याउन सरकारले पहल नगरे कडा कदम चाल्न बाध्य हुने जनाएको छ ।
रामु सापकोटा