रिपोर्टसोमबार, २० फाल्गुण , २०७५

कफीका पारखी बढे, उत्पादन बढेन

रामेश्वर बोहरा

पर्याप्त खेतीयोग्य जमीन, अनुकूल जलवायु र प्रशस्त बजार हुँदाहुँदै पनि नेपालमा कफी उत्पादनले व्यावसायिक रूप लिन सकेको छैन।

लेकाली कफी स्टेट, लमजुङमा कफी केलाउँदै । तस्वीरहरुः रेन चाङ

देशभरका साना–ठूला सबै शहरमा कफी संस्कृति मौलाइरहँदा स्वदेशी कफीको बजार विस्तार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढेको छ । तर, आन्तरिक उत्पादनले घरेलु ‘कफी शप’ हरूको माग समेत धान्न सक्दैन ।

जस्तो कि, पोखराका ‘कफी शप’ मा अचेल २५ किलोमिटर पश्चिमउत्तर भुगाइँपुर गाउँकोे अर्गानिक कफी हारालुछ हुन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्ने भुगाइँपुरका १२५ मध्ये १२० परिवार कफी खेती गर्छन् । प्रशोधन र बजारीकरणका लागि गाउँमै माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था खुलेको छ ।

२०५६ सालतिरको कुरा हो, यहाँका कलाधर भुगाइँ र उनका भाइ पुष्पराज वाम्दीको एउटा नर्सरीबाट कफीका बेर्ना डोकोमा बोकेर आउँदै थिए । गाउँको विद्यालयछेउ आइपुग्दा छरछिमेकीले भने– “यिनीहरू बौलाए, भएको बाली मासेर कफी लगाउने भएछन् !” त्यसअघि नै एकाध बेर्ना ल्याएर आँगनमा रोपिसकेका उनीहरूले गाउँलेको कुरामा वास्ता गरेनन् ।

शुरूमा खेतीको मेसो नपाउँदा दुईपल्टसम्म लगाएका बिरुवा नजोगिएपछि भुगाइँ दाजुभाइले देशका विभिन्न ठाउँ घुमेर कफी खेती नियाले । यो सिकाइ काम लाग्यो, बिरुवा सप्रिंदै गए । तीन मुरी अन्न नफल्ने पाखोबारीमा लगाएको कफीबाट वार्षिक रु.३० हजारभन्दा बढी आम्दानी हुनथाल्यो ।

अहिले सबै गाउँले उनीहरूलाई पछ्याउँदै कफी कृषक बनेका छन् । पुष्पराज भन्छन्, “शुरूमा हामीलाई बौलाहा भने, अहिले सबै हाम्रै बाटोमा छन् ।” यसबीच वैदेशिक रोजगारमा दक्षिण कोरिया पुगेका पुष्पराज गाउँ फर्किसकेका छन् । “कोरियामा मासिक रु.२ लाख कमाइ थियो” पुष्पराज भन्छन्, “कफी खेतीमै भविष्य सुरक्षित लाग्यो र यतै फर्किएँ ।” गाउँलेले कफी उत्पादक सहकारीको अध्यक्ष कलाधरलाई चुनेका छन्, पुष्पराजले व्यवस्थापन सम्हाल्छन् ।

उत्साह छ, वातावरण छैन
घरघरै कफी खेती भएको भुगाइँपुरका किसान कोदो–मकैभन्दा कफी खेतीबाट हुन थालेको आम्दानीले उत्साहित त छन् तर, किसानको जीवन फेरिने गरी व्यावसायिक खेती भने शुरू भइसकेको छैन । देशका अन्य गाउँ झैं यहाँका धेरै युवा वैदेशिक रोजगार वा अन्य कामका सिलसिलामा बाहिरिएका छन् ।

गाउँमा श्रम गर्ने मान्छे कम हुँदै गएपछि बाँझै‌ रहेका जग्गामा मौसमी खेती गर्न गाह्रो भएपछि गाउँलेले विकल्पमा कफी खेती रोजेका हुन् । गर्दै जाँदा उत्पादनले राम्रो मूल्य पाउन थालेपछि भने उनीहरूमा जाँगर बढेको छ । सहकारी संस्थामार्फत यस वर्षदेखि जग्गा भाडामा लिएर सामूहिक खेती समेत शुरू गरिएको छ । तर, यही खेतीमै समर्पित हुने खालको दक्षता र तयारी भने भुगाइँपुरमा मात्र होइन, अन्यत्र पनि देखिंदैन ।

अहिले देशका २३ जिल्लामा व्यावसायिक कफी खेती हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार छिटपुट खेती भएका ठाउँ समेत जोड्दा कफी खेती शुरू भएका जिल्लाको संख्या ४१ पुगेको छ । कुल ३२ हजार ५८१ कृषक कुनै न कुनै रूपले कफी खेतीमा संलग्न छन् ।

नेपालमा कफी खेतीको इतिहास खोतल्दा वि.सं. १९९५ मा गुल्मी, आँपचौरका हीरा गिरीले बर्माबाट कफीको बोट भित्र्याएको भेटिन्छ । त्यसपछि एकैपल्ट २०३३ सालमा सरकारले कृषि विकास ब्याङ्क मार्फत भारतबाट ‘अरबिका’ जातकोे बीउ ल्याएर गुल्मी र बाग्लुङमा कफी खेती शुरू गरायो ।

बीचबीचमा छिटपुट रूपमा खेती हुने क्रम बढे पनि २०५० सालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापनापछि नै कफी खेतीले आकार लिन थालेको हो । त्यसको अढाइ दशक बित्दा नबित्दै ४१ जिल्लाका ३२ हजारभन्दा बढी कृषक कफी खेतीमा लाग्नु भने आफैंमा आशलाग्दो तस्वीर हो ।

योभन्दा अझै बढी आशा हालैको एक अध्ययनले देखाएको छ । ‘एनलाइसिस अफ ह्याबिट्याट सुइट्याविलिटी अफ कफी इन नेपाल, २०१८’ अनुसार ६२ जिल्लाको ११ लाख ९८ हजार ५३५ हेक्टर जमीन कफीखेती योग्य छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको यो अध्ययन अनुसार समुद्र सतहबाट ८००–१६०० मिटरसम्म उँचाइ भएका सबै स्थानमा कफी खेतीको सम्भावना देखिएको छ । २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती गर्न सकिने जिल्ला २६ वटा छन् । (हे., इन्फो)

यद्यपि, प्रचुर सम्भावनाका बीच यस वर्ष (२०७५) सम्म कफी खेती गरिएको क्षेत्रफल जम्माजम्मी दुईहजार ६१८ हेक्टर मात्र छ । कफी खेतीमा संलग्न कृषकको संख्या ३२ हजारभन्दा बढी भए पनि गएको वर्ष देशभर कफी उत्पादन ५१३ टन मात्र भयो ।

कुनै न कुनै रूपमा कफी खेतीमा संलग्न हुने किसानको संख्या ठूलो देखिए पनि व्यावसायिक खेती गर्नेको संख्या त्यसको ५ प्रतिशतभन्दा कम हुँदा उत्पादन पनि कम भएको बोर्डका अधिकारीहरू बताउँछन् । बोर्डका योजना अधिकृत गौरव लुइँटेल भन्छन्, “कृषकहरूमा कफी खेती मात्र गरेर टिक्न सकिन्छ भन्ने आत्मविश्वास छैन, मुख्य खेतीपाती अरू नै गर्ने र पाखोबारीमा अलिकति कफी लगाउने चलन छ ।”

उच्च गुणस्तरको कफी उत्पादनका लागि आवश्यक शीतल र मन्द हावा चल्ने ठाउँ, पानी नजम्ने पहाडी भू–भाग, सिंचाइ र प्रशोधनको निम्ति पानीको पर्याप्तताका कारण मध्यपहाडी क्षेत्रमा कफी उत्पादनको प्रचुर सम्भावना छ ।

बेर्ना रोपेको तीन वर्षपछि उत्पादन दिन थाल्ने कफीको बोट २० वर्ष पुगेपछि काँटछाँट गरिन्छ र ८० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ । कृषकहरूका अनुसार, कफी रोपेको तीन वर्ष पुगेपछि एउटा बोटमा ५ केजीसम्म दाना लाग्छ, जसबाट १.२५ केजीसम्म प्रशोधित कफी उत्पादन हुन्छ । अर्थात्, एक रोपनीमा लगाउन सकिने १०० वटा बोट सप्रिए भने त्यसबाट १२५ केजीसम्म कफी उत्पादन हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०६८/६९ मा एकहजार ७६० हेक्टरमा गरिएको कफी खेतीबाट ५२३ टन उत्पादन भएको थियो । त्यसको सात वर्षपछि अहिले कफी खेती हुने जग्गाको क्षेत्रफल बढेर दुई हजार ६१८ हेक्टर पुग्दा पनि उत्पादन भने ५१३ टन छ ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम साना किसानले परम्परागत तरिकाले ‘पार्ट टाइम’ खेती गर्दै आएकाले कफी खेतीमा ठूलो लगानी नहुँदासम्म उत्पादन बढ्न नसक्ने बताउँछन् । भन्छन्, “हाम्रो कफी अर्गानिक भनेर चिनिएकाले रोगकीराको प्रकोपबाट बचाउन विषादीको प्रयोग गर्न पाइँदैन, जैविक तवरबाटै रोगकीरा नियन्त्रणका लागि प्रभावकारी अनुसन्धान हुनसकेको छैन ।”

कफीको उत्पादन वृद्धिका लागि ठूला व्यवसायीको प्रवेश, अनुसन्धानात्मक काम र बीउमा विविधीकरण अत्यावश्यक भएकाले त्यही मिसनमा बोर्ड लागिरहेको दाबी गर्ने गौतम वर्षौंदेखि एउटै जातको कफी उत्पादन हुँदै आएकाले यसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्ने अनुमान गर्छन् ।

बोर्डका अधिकारीहरू मात्र होइन, कफीसँग सरोकार राख्ने प्रायः सबै कफी खेती परम्परागत र निर्वाहमुखी अवधारणाबाट माथि उठ्न नसकेको बताउँछन् । कृषकदेखि कफी शप मार्फत त्यसको स्वाद चखाइरहेका बिक्रेतासम्म आबद्ध रहेको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारी भन्छन्, “कफीको प्रचुर सम्भावना छ, तर वातावरण छैन ।”

नीति बाधक !
नेपालमा उत्पादन हुने अधिकांश कफी अरबिका जातको हो । समुद्र सतहबाट ८०० मिटरदेखि १६०० मिटरको उँचाइमा खेती हुने अरबिका संसारभर पाइने कफीका प्रमुख चार प्रकारमध्ये उच्चकोटिको मानिन्छ । कफी उत्पादक अन्य मुलुकभन्दा भिन्न र अनुकूल हावापानी भएकाले नेपाली कफीमा विशिष्ट गुण र बास्ना रहेको पारखीहरू बताउँछन् । त्यसमाथि नेपालमा उत्पादित कफी अर्गानिक भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग छ ।

गएको वर्ष, सन् २०१८ मा नुवाकोटको लेकाली कफी स्टेटले अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरको मानक मानिने ९० अंक पाएसँगै नेपाली कफीको छवि थप आकाशिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार कफीको स्वादलाई मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘कफी रिभ्यू’ ले दिएको उक्त अंक छिमेकी भारत र चीनका कफी उत्पादकले पाएको भन्दा बढी हो । पर्यटन व्यवसायी मिङ्मा शेर्पाले शुरू गरेको लेकाली कफी स्टेट उनका छोरा निमाले चलाइरहेका छन् ।

अहिले उत्पादन भइरहेको कफीमध्ये ६० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने करीब ४० प्रतिशत मात्रै निर्यात हुन्छ । नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारी कफी खेती विस्तार हुन र उत्पादन बढ्न नसकेकाले कुल विदेशी मागको ५ प्रतिशत पनि निर्यात गर्न नसकेको बताउँछन् । नेपाली कफी निर्यात भइरहेका दक्षिण कोरिया, जापान, जर्मनी, अमेरिका लगायतका मुलुकबाट मात्रै अहिले नै ८ हजार टनभन्दा बढी माग छ ।

सबभन्दा धेरै उत्पादन हुने ब्राजिलको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ३ देखि ५ अमेरिकी डलरसम्म पर्छ । तर, ‘हिमालयन अर्गानिक कफी’ नामले अन्तर्राष्ट्रिय बजारमा पुगिरहेको नेपाली कफी प्रतिकेजी १० देखि १५ डलरसम्ममा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । यथेष्ट उत्पादन हुन सक्यो भने नेपाली कफी विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने देखिए पनि अहिलेको उत्पादनले आन्तरिक माग समेत धान्न सकेको छैन ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०७५/७६) को पहिलो पाँच महीनामा मात्र रु.९ करोड ९६ लाख ८२ हजार ८९० को कफी आयात भएको छ । जबकि, यही अवधिमा निर्यात भएको कफी रु.४ करोड ३ लाख ६५ हजार ५६० बराबरको छ । आन्तरिक उत्पादनले धान्न नसक्दा वर्षेनि कफीको आयात बढ्दो छ । (हे., इन्फो)

महासंघका अध्यक्ष अधिकारी अहिलेसम्म नेपाली कफी साना किसानको उत्पादनले मात्र थेगिरहेको, व्यावसायिक खेती शुरू गर्न नीतिगत अवरोध रहेको र साना किसानलाई फैलिनबाट पनि सरकारी नीति र ऐन–नियमले रोकेको बताउँछन् । चिया खेतीका लागि जग्गाको सीमा नतोकिए पनि कफी खेतीका लागि ७० रोपनीको हदबन्दी तोकिनु विरोधाभासपूर्ण रहेको उनको भनाइ छ ।

अधिकारी भन्छन्, “जग्गाको हदबन्दी अनुसार पहाडमा एक जना व्यक्तिले ७५ रोपनीभन्दा बढी जग्गा राख्न पाउँदैन, तर व्यावसायिक खेतीका लागि कमसेकम ५००–७०० रोपनी चाहिन्छ ।” अहिलेसम्म कफी खेती गरिरहेका साना किसानसँग पर्याप्त जग्गा नभएको र उनीहरूलाई सामुदायिक वनको छेउछाउमा रहेको बाँझे जग्गा लिजमा लिएर खेती गर्न वा वनभित्रै बिरुवा रोप्न वन ऐनले रोकेकाले पनि कफी खेती विस्तार हुननसकेको उनको बुझाइ छ ।

व्यवसायीहरूका अनुसार कफी खेतीमा धेरैले रुचि देखाए पनि लगानीको वातावरण बनाउन अहिलेसम्म ध्यान दिइएको छैन । “कोही व्यक्ति कफी खेती गर्छु भनेर ऋण माग्न गयो भने कुनै पनि ब्याङ्कले पत्याउँदैनन्” अधिकारी भन्छन्, “कफी उत्पादनलाई व्यावसायिक रूपमै अघि बढाउने हो भने सरकारले पनि सहयोग गर्ने वा सहुलियत दिने नीति हुनुपर्‍यो ।”

यूरोपेली संघसँगको सहकार्यमा कफी खेतीकाे विकासमा काम गरिरहेकाे राष्ट्रिय चिया तथा कफी विकास बोर्डले व्यावसायिक कफी खेतीमा देशभित्रकै कर्पोरेट हाउसहरूलाई समेत भित्र्याउन अबको दुई महीनाभित्र ‘कफी इन्भेस्टमेन्ट फोरम’ आयोजना गर्ने तयारी गरिरहेको छ । कार्यकारी निर्देशक गौतम भन्छन्, “ठूला व्यवसायीलाई कफी खेतीमा भित्र्याउन नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा लगानी सम्मेलन गर्दैछौं ।”

नेपाली कफीबारे अध्ययन गर्दै आएका डा. बद्रीप्रसाद बस्ताकोटीका अनुसार भारतमा कफीको उत्पादकत्व प्रतिहेक्टर ९०० किलोग्रामदेखि एक टनसम्म छ, नेपालमा भने राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर १८९ किलोग्राम मात्र छ । उनी भन्छन्, “उत्पादकत्व वृद्धिसँगै अर्गानिक भनेर चिनिने हाम्रो कफीको गुणस्तर र ब्राण्डिङमा पनि ध्यान दिनुपर्छ ।”

प्रतिकृया दिनुहोस