राष्ट्रपतिद्वारा वीरगन्जमा योग शिविर उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको बताएकी छन् । वीरगञ्जको आदर्शनगरमा आयोजित ५ दिने योग विज्ञान शिविरको बिहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुनेमा विश्वस्त रहन आग्रह गरिन् ।
“योग पूर्विय सभ्यताको अभिन्न अंग हो, हजारौं वर्षदेखि मानिसहरुले मानसिक र शारीरिक आरोग्यका लागि योगको प्रयोग गर्दै आएका छन्” उनले उद्घाटन गर्दै भनिन “सन २०१५ देखि जुन २१ लाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाउन थालिएपछि यसको महत्व अझै बढेको छ ।”
प्रकृतिको अनुपम उपहारको रुपमा रहेको नेपाल कैयौं ऋषिमुनीका लागि साधना स्थल रहेको बताउँदै उनले योग, साधना र आर्युवेद विज्ञानको महत्व धेरै रहेको बताईन् । ‘देश विकासमा शिक्षाको भूमिका महत्वपूर्ण छ । पतञ्जली योगपीठले यहाँ सञ्चालित उद्योगको आम्दानी शिक्षा क्षेत्रको विकासमा लागाउने निर्णय सह्रानीय छ” उनले भनिन् ।
कार्यक्रममा योगगुरु बाबा रामदेवले जल, जंगल, जमिन र जडिबुटीको माध्यमबाट नेपालको उन्नती संभव रहेको बताए । भारतमा डाबर कोलगेट जस्ता बहु राष्टिय कम्पनीहरु भाग्न शुरु गरको बताउँदै उनले नेपालमा पनि अब पतञ्जलीका उत्पादन आउन शुरु भईसकेको बताए । योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रशन्नता प्राप्त हुने बताउँदै बाबा रामदेवले निरन्तर योग अभ्यास गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै आचार्य बालकृष्णले देश निर्माणको संकल्प लिएर अघि बढ्न आग्रह गरे । पतञ्जलीले भूकम्प पीडित बालबालिकाको शिक्षामा लगानी गर्न शुरु गरिसकेको उनको भनाई छ ।
स्वागत मन्तव्य राख्दै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ्य रहनुपर्ने बताए । उदघाटन सत्रमा भारत र रसियाका राजदूतको पनि उपस्थिती रहेको थियो ।
मंसिर १३ गते सम्म चल्ने शिविरमा योग गुरु रामदेवले नै प्रशिक्षण दिने योग विज्ञान शिविर मूल आयोजक समितिका संयोजक विजय सरावगीले बताए ।
सुरेश बिडारी, वीरगञ्ज