सीमांकन परिवर्तन गर्न पाइँदैन भन्दै बाँकेमा प्रदर्शन
सत्तारुढ दलहरुले सीमांकनमा परिवर्तन गरी प्रस्तावित ५ नं. प्रदेशलाई टुक्राउन लागेको भन्दै नेकपा एमालेले बाँकेको कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमाले कोहलपुर नगरकमिटीको आयोजनामा ८ मंसीरमा भएको विरोध प्रदर्शनपछि आयोजित सभामा सांसद देवराज भारले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताए ।
उनले संविधान संशोधन गरी ५ नं। प्रदेशलाई टुक्राउने र अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउने खेलमा वर्तमान सरकार लागिपरेको दाबी गर्दै कुनै पनि हालतमा त्यस्तो हुन नदिइने बताए ।
यस्तै सांसद दलबहादुर सुनारले ५ नं। प्रदेश टुक्राउने र अंगिकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउने व्यवस्था सहितको संविधान संशोधन गरिए आफू जस्तो सुकै ‘कुर्बानी’ दिन तयार रहेको बताए ।
उनले संविधान संशोधन भन्दा अघि चुनाव घोषणा गर्न वर्तमान सरकारलाई आग्रह गरे ।
केशव राना, बाँके