टिप्पणीशनिबार, १८ फाल्गुण , २०७५

त्यो स्मित मुस्कान

रघु पन्त

१३ फागुनको साँझ् । अनामनगरस्थित मण्डला नाटकघरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव उद्घाटनको तयारी पूरा भएको छ । सबै प्रमुख अतिथि प्रधानमन्त्रीको प्रतिक्षामा छन् । केहीबेरपछि प्रधानमन्त्री केपी ओलीसँगै दुई मन्त्री पनि आइपुग्छन्, रवीन्द्र अधिकारी र गिरिराजमणि पोखरेल ।

प्रधानमन्त्री र मन्त्रीहरू बसेको भन्दा दुई लाइन पछाडि छु म । आफू बसेको ठाउँबाट पछाडि फर्केर हेर्छन् रवीन्द्र । मलाई देखेपछि मुसुक्क हाँस्दै अभिवादनमा हात उठाउँछन् र अगाडि आएर बस्न इशारा गर्छन् । म ठीकै छ भन्ने संकेत गरेर टारिदिन्छु ।

१५ फागुन दिउँसो करिब २ः३० बजे । कनकमणि दीक्षितले फोनमा मलिन स्वरमा सुनाउँछन, “ पर्यटनमन्त्री चढेको हेलिकप्टरलाई केही भयो जस्तो छ ... उनलाई केही नभइदिए हुन्थ्यो... !’ सुनेर म झ्सङ्ग हुन्छु ।

केहीबेरमा कनकमणि दीक्षित, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल र म पाटनढोकाको ‘ढोकैमा क्याफे’ मा जम्मा हुन्छौं । टेलिभिजनमा दुर्घटनाका खबरहरू आइरहेका छन् ।

अस्ति मात्र त हो रवीन्द्र अधिकारीले मलाई अभिवादनको हात हल्लाउँदै मुस्काएको । त्यसबेला के थाहा रवीन्द्र उनको त्यही हाँसो र अभिवादन नै मेरा लागि अन्तिम होला भनेर !

होचो होचो कदको, हँसिलो, छरितो र टाठो विद्यार्थी नेताको रूपमा मैले चिनेको हुँ, रवीन्द्रलाई । पोखरामा भएका विभिन्न सभा र जुलूसहरूको आयोजनाको लागि उनी खटेको देखेको छु मैले । सोमनाथ ‘प्यासी’, तुलबहादुर गुरुङ, खगराज अधिकारी र रवीन्द्र अधिकारीले पोखराको पृथ्वीनारायण क्याम्पसबाटै राजनीतिमा आफ्नो राष्ट्रिय परिचय स्थापित गरेका थिए ।

क्रियाशीलता, मिलनसार स्वभाव, हँसिलो र सरल मिजास, बोलेर कसैलाई नचिढ्याउने बानी र मध्यमार्गी राजनीतिक शैलीले गर्दा कास्कीको राजनीतिबाट उठेर राष्ट्रिय राजनीतिमा पाइला राख्ने तयारी गर्दै गरेको एउटा भावी नेताको रूपमा रवीन्द्रले आफ्नो छवि बनाइरहेका थिए ।

पर्यटन तथा संस्कृति मन्त्रीको रूपमा काम गर्दा उनले आफ्नो ध्यान विशेष गरेर पर्यटनका पूर्वाधार निर्माणमा केन्द्रित गरेको देखिन्थ्यो । पोखरा र भैरहवा विमानस्थलको निर्माण अघि बढ्नुमा उनको क्रियाशीलता महत्त्वपूर्ण थियो र निजगढमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा पनि उनको ध्यान थियो ।

अहिलेको मन्त्रिपरिषदमा भएका मन्त्रीहरूमध्ये सञ्चारमाध्यमहरूसँग मित्रवत् सम्बन्ध राखेर आफ्ना कुराहरू राख्न पनि उनी सिपालु थिए । बाइड बडी विमान काण्डमा उनले बोलेको र लेखा समितिमा महालेखा परीक्षकले दिएको बयान बाझिएपछि उनी दुःखी थिए । वाइड बडी विमान किन्ने काम उनी मन्त्री हुनुभन्दा पहिले नै भएको थियो । तर अन्तिम किस्ता उनी मन्त्री भएको बेला भुक्तान गरिएकाले लेखा समितिले उनी माथि पनि औंला उठायोे ।

पत्रकारहरूसँग उनले अनौपचारिक रूपमा भनेका कुराहरूलाई आधार मान्ने हो भने वाइड बडी विमानको अन्तिम किस्ता भुक्तानी उनको जानकारी विना नै प्रचलित सिस्टम अन्तर्गत भएको थियो । त्यसैले हुनुपर्छ, उनले संसदमा शुरूमा बोलेको र पछि बोलेको कुरा आपसमा बाझिए जस्तो देखिन पुगेको । नेपालको प्रशासनिक संरचना र अपारदर्शी कार्यशैलीले गर्दा कतिपय राम्रा र भ्रष्टाचार नगर्ने मन्त्रीहरू पनि विवादमा परेका छन् । सम्भवतः रवीन्द्र पनि यही प्रशासनिक जञ्जाल र अपारदर्शी कार्यशैलीको शिकार बन्न पुगेका थिए ।

पोखराको मात्र नभएर समग्र नेपालको पर्यटकीय सम्भावना बुझदै गएको एउटा मन्त्री र नेपाल कम्युनिष्ट पार्टीको उदीयमान नेताको रूपमा आफूलाई स्थापित गरिरहेको अवस्थामा रवीन्द्रको अप्रत्याशित र असामयिक मृत्यु भएको छ । पोखरा शहरले आफ्नो लागि चिन्ता गर्ने अभिभावक, कास्कीले आफ्नो योग्य प्रतिनिधि, नेकपाले सम्भावना भएको युवा नेता गुमाएको छ । व्यक्तिगत रूपमा मैले भाइ जस्तो सहयोद्धा गुमाएको छु ।

विवाद, गुटबन्दी र गतिहीनताले नेकपालाई अस्थायी रूपमै सही जकडिरहेको छ । यो अवस्थाबाट पार्टीलाई मुक्त गर्न लचिलो नेताहरूको जमात नेकपालाई आवश्यक छ । रवीन्द्र त्यही लचिलो र पार्टीमा सबैलाई समेटेर जानुपर्छ भन्ने मान्यता राख्ने जमातभित्र पर्थे ।

संघर्ष, बहस, विवाद, अध्ययन र तर्कहरूको झ्ण्डै अढाइ–तीन दशक लामो प्रक्रियाबाट खारिएर बनेको एउटा प्रतिभा अकल्पनीय दुर्घटनामा परेर हामी बीचबाट अस्ताएका छन् । उनकी जीवनसँगिनी विद्या भट्टराई यो असह्य पीडाको घडीलाई पार गर्दै जीवन संघर्षलाई अगाडि बढाउने नै छिन्।

१३ फागुन साँझकाे त्यही मुस्कान र अभिवादन नै रवीन्द्रको झ्झ्ल्को बनेर स्मृतिमा रहने भयो । हार्दिक श्रद्धाञ्जली रवीन्द्रलाई !

प्रतिकृया दिनुहोस