टिप्पणीशनिबार, १८ फाल्गुण , २०७५

उत्साही साथी रवीन्द्र दाइ

विष्णु रिजाल

कुनै पीडा यस्ता हुन्छन्, जसलाई वर्णन गर्न शब्दहरू असमर्थ लाग्छन् । रवीन्द्र अधिकारीको अवसानले त्यस्तै अनुभूति भएको छ । ताप्लेजुङमा १५ फागुनमा भएको दुर्घटनासँगै उनी सधैंका लागि विदा भए पनि हरेक प्रतिकूलतामा आशा र सम्भावना पहिल्याउन सक्ने उत्साही राजनीतिज्ञको उनको छवि धेरैका मनमा गडेको छ ।

व्यवहारकुशल र मिलनसार उनी जीवन–यात्रामा जहाँ जहाँ जोडिन पुगे, त्यहाँ अमिट छापहरू छोडे । पोखराको पृथ्वीनारायण क्याम्पसदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्मको उनको करीब तीन दशकको यात्रामा ठेस नै नलागेको पक्कै होइन । तर, त्यस्तो ठेसमा पनि हातेमालो गर्दै यात्रा अघि बढाउन सक्ने उनको क्षमताकै कारण नेपाली राजनीतिमा उनी अग्लिंदै थिए ।

४९ वर्षको उमेरमा तीनपटक जनताको विश्वास जितेर जनप्रतिनिधि (सांसद) हुन पाउनु सामान्य होइन । धेरैलाई प्राप्त नहुने यस्तो अवसर उनले आफू उभिएको धर्तीमा दह्रोसँग खुट्टा अड्याएरै निर्माण गरेका थिए ।

एमालेको पुरानो संगठन र नेताहरू भएको पोखरामा स्थापित हुन रवीन्द्र दाइलाई सहज थिएन । २०६० सालमा पार्टीको कास्की जिल्ला सचिव भएका उनलाई सहजै पचाउन सकिएन र ७२ दिन अविश्वास प्रस्ताव ल्याएर हटाइयो । तर, ३४ वर्षे रवीन्द्र दाइ त्यसबाट हतोत्साहित नभई पार्टी काममा खटिए– आफूलाई अब्बल सावित गर्दै ।

परिणाम देखियो, तीन वर्षपछि भएको जिल्ला अधिवेशनबाट उनी जिल्ला सचिवमा फर्किए । त्यसपछि २०६४, २०७० र २०७४ मा भएका संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा उनलाई कसैले रोक्न सकेन ।

२०५४ मा पार्टी विभाजन हुँदा मालेतिर लागेका उनले विद्यार्थी फाँटबाट मालेको अस्तित्व स्थापित गराएका थिए । कालापानीबाट भारतीय सेना फिर्ताका लागि मार्चको आयोजना गरेर होस् वा तत्कालीन शाहजादा पारस शाहको गाडीको ठक्करबाट कलाकार प्रवीण गुरुङको मृत्यु भएपछि उनको पदवी खोस्न हस्ताक्षर संकलन गरी दरबारमा बुझाएर होस्, रवीन्द्र अधिकारीले आफूलाई राजनीतिक परिदृश्यबाट ओझेल पर्न दिएनन् ।

अनेरास्ववियूको राजनीतिमा लाग्नेहरूका लागि पोखराको पृथ्वीनारायण र कीर्तिपुरको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनु ठूलो ‘ग्ल्यामर’ मानिन्छ । ती दुवै अवसर रवीन्द्र दाइले पाएका थिए । अखिलको प्रारम्भिकदेखि केन्द्रीय कमिटीसम्मको नेतृत्व गर्दा उनले आफूलाई सक्षम नेताका रूपमा स्थापित त गराए नै, त्यसभन्दा बढी सबैका साथी हुनसके । फरक आस्था र संगठनमा आबद्धहरूका लागि पनि रवीन्द्र दाइ सधैं आकर्षणका विषय रहे ।

धेरै जनाको सम्पर्कमा आइरहने राजनीतिज्ञलाई कोसँग पहिलो भेट कहाँ भयो भन्ने सम्झ्ना रहँदैन । तर, दुर्घटनाभन्दा तीनदिन अघि पोखरामा भएको हाम्रो अन्तिम भेटमा किन हो, रवीन्द्र दाइले हाम्रो पहिलो भेटको प्रसंग निकालेका थिए । रवीन्द्र दाइ अखिलको केन्द्रीय नेता हुँदा म दैलेख जिल्ला कमिटीमा काम गर्थें । २०५२ चैतमा विराटनगरमा सम्पन्न १३औं सम्मेलनपछि त्यसका सन्देशहरू कार्यकर्तालाई सम्प्रेषण गर्ने क्रममा अखिलका नेताहरू दाङ पुगेको बेला हाम्रो पहिलो पटक भेट भएको रवीन्द्र दाइलाई याद रहेछ ।

१२ फागुनमा पोखराको बाराही होटलमा त्यसका सञ्चालक हरि पौडेल, विप्लव पौडेल, म र मेरी श्रीमतीलाई उनले सुनाएका थिए, “विष्णुलाई मैले पहिलो पटक घोराहीमा भेटेदेखि निरन्तर दिमागमा राखेको छु– लिखुरे मान्छे, कडा कुरा गर्ने ।”

रवीन्द्र दाइले मलाई त्यसरी सम्झ्निुको अर्को कारण पनि छ । उनको गाउँ भरतपोखरीका वेदनाथ आचार्यले हामीलाई दैलेखको हिमालय मावि डाँडीमाडीमा अंग्रेजी पढाउँथे । त्यतिबेला दैलेखमा एमालेको संगठन थिएन । वेद सरले रवीन्द्र दाइको नाम लिएर भनिरहन्थे, “हाम्रा भाञ्जा अखिलमा काम गर्छन्, राम्रो सम्भावना भएका छन्, तिमीले सम्पर्क गर्नु उचित हुन्छ बाबु ।”

रवीन्द्र दाइलाई पनि मेरा बारेमा सरले सुनाएका रहेछन्, त्यसैले भेट्नुभन्दा पहिले नै एकखालको सम्बन्ध गाँसिएको हुँदा उनले मलाई सधैं माया गरिरहे । पार्टी विभाजनपछि पानी बाराबारको स्थितिमा पनि २०५७ सालमा पोखरामा अखिलको राष्ट्रिय परिषद्को बैठकमा भाग लिन पुगेको बेला मैले रवीन्द्र दाइलाई फोन गरेको थिएँ र उनी मलाई भेट्न बाग्लुङ बसपार्क आइपुगेका थिए ।
आफू सम्बद्ध पार्टीको भविष्य खिइँदै गएको र एमालेसँग चरम कटुता रहेको बेला पनि दाइले हिम्मत नहारी भनेका थिए, “विष्णुजी, काम राम्ररी गर्नुहोला, आफ्नो कमिटीमा नेता हुनुपर्छ । भोलि हामी सबै एकै ठाउँमा हुनेछौं ।” उनले भनेझैं ३ फागुन २०५८ मा माले–एमाले एकता भयो र हामी सँगै भयौं ।

पार्टी एकतापछि अरू धेरै युवा नेताहरू झ्ैं रवीन्द्र दाइ काठमाडौंमा अल्मलिएनन्, पोखरामै सक्रिय रहे । त्यसै कारण उनी आफ्ना समकालीनहरूलाई उछिनेर ३८ वर्षको उमेरमा सांसद निर्वाचित हुनसके । उनीभन्दा वरिष्ठ र समकालीन नेताहरू पहिलो पटक संसदमा छिर्दा रवीन्द्र दाइ सक्रिय सांसद र उदीयमान नेताका रूपमा स्थापित भइसकेका थिए ।

संसदको विकास समितिको सभापति हुँदा उनले मुलुकको विकासका समस्या र समाधानका उपाय बारे स्थलगत रूपमै अध्ययन गर्थे । बृहत् दायरामा छलफल, ऐन–नियमहरूको पुनरावलोकन, गुणस्तर निक्र्योल, निर्धारित समयमा कार्यसम्पादन जस्ता विषयहरूलाई उनले अघि बढाएका थिए ।

पुराना स्मृति पल्टाउँदै जाँदा भेटिएको ८ मंसीर २०७३ को हिउँदको एउटा दृश्यले मलाई भावुक बनाइदियो । रवीन्द्र दाइसँगै ताप्लेजुङको सुकेटार विमानस्थलमा खिचिएको यस तस्वीरका पछाडि सम्भवतः उनलाई हामीबाट सधैंका लागि चुँडेर लैजाने पहाड उभिएको छ । म ताप्लेजुङ महोत्सवमा पुगेको बेला उनी चीनसँग जोड्ने ओलाङचुङगोला सडक निर्माण निरीक्षण गर्न विकास समितिको टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका
थिए । बिहानभरि ताप्लेजुङका विकास निर्माणका बारेमा अन्तरक्रिया गरेर दिउँसो हेलिकप्टरमा पाथीभरा पुगेका थिए, अरू सांसदहरूका साथमा ।

फर्किंदा हेलिकप्टरमा मलाई ठाउँ नपुगेपछि थक्थकाएका उनलाई मैले नै सहज पारेको थिएँ, ‘दाइ अर्को पटक मन्त्री भएको बेला जाउँला नि सँगै !’ थाहा छैन, एकपटक पाथीभरा गइसकेका र धर्ममा भन्दा कर्ममा विश्वास राख्ने रवीन्द्र दाइलाई दोहोर्‍याएर कुन नियतिले पाथीभरा पुर्‍यायो !
मन्त्रीका रूपमा रवीन्द्र दाइका केही ठूला र दीर्घकालीन सपनाहरू थिए । नेपाली आकाशलाई सुरक्षित बनाउने र यूरोपमा नेपाली विमानलाई लागेको प्रतिबन्ध फुकाउने उनको संकल्प पूरा नहुँदै आफैं असुरक्षित आकाशको शिकार भएका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने हवाई रुट बढाउने, पोखरा विमानस्थल निर्धारित समयमै पूरा गर्ने, भैरहवाको गौतम बुद्ध विमानस्थललाई निर्धारित समयभन्दा अगावै सञ्चालन गर्ने, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाई कम्तीमा २० लाख पर्यटक भित्र्याउने जस्ता काममा उनी दत्तचित्त भएर लागेका थिए ।

फिल्डमै पुगेर अनुगमन गर्ने, समस्या भए समाधानका लागि तत्कालै पहल गर्ने र आफूले दिएका निर्देशनको नियमित अनुगमन गर्ने उनको बानीले पर्यटन मन्त्रालयभित्र हालसम्मका मन्त्रीहरूमध्ये उनको छवि कामकाजी बनाएको थियो । पुराना विमानस्थलहरूलाई मर्मतसम्भार गर्ने, वर्षौंसम्म नचलेका विमानस्थलहरूलाई सञ्चालनमा ल्याउने, विमानस्थलमा देखा परेको भद्रगोल सुधार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गर्ने जस्ता काममा उनले देखिने गरी सुधार गरेका थिए ।

वाइड बडी जहाज प्रकरणमा तालुकवाला मन्त्रीका रूपमा रवीन्द्र अधिकारीको नाम मुछिएपछि धेरैलाई अन्योल भयो । आफू मन्त्री हुनुभन्दा अघि नै सम्झैता भइसकेको, दुई किस्ता गरेर १० अर्ब रुपैयाँ भुक्तानी भइसकेको र बाँकी रकम तिर्नैपर्ने बाध्यकारी प्रबन्ध रहेकाले रवीन्द्र दाइले भुक्तानी नदिई सुखै थिएन ।

यति प्रष्ट व्यवस्था हुँदाहुँदै पनि राजनीतिक स्वार्थवश सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले उनको नाम मुछेपछि मैले १८ पुसमा फेसबूकमा लेखेको थिएँ, ‘मलाई विश्वास छ, रवीन्द्र अधिकारीमाथिको आरोप पूर्णतः झूटो सावित हुनेछ । किनकि, सुनको परख आगोमै हुन्छ । यो न न्यायिक समिति हो, न प्रशासनिक । एउटा उपसमितिका सदस्यहरूको राय हो ।’

सधैं हाँसिरहने रवीन्द्र दाइ सबैलाई रुवाएर विदा भए। अनिल पौडेलले लेखेको र जेबी टुहुरेले गाएको गीतका यी पंक्तिबाट हार्दिक श्रद्धासुमन रवीन्द्र दाइ !
मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ !
देशभक्त छोरो मर्दा देशै रुँदो रैछ !!

प्रतिकृया दिनुहोस