कला/साहित्यशनिबार, १८ फाल्गुण , २०७५

काँकडभिट्टामा कला साहित्य उत्सव शुरु

हिमालखबर

मेचीनगरको काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ आजदेखि शुरु भएको छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे ।

साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारे विमर्श हुने उत्सवको उद्घाटन राजनीतिक विश्लेषक हरि शर्माको ‘लोकतन्त्र र आलोचनात्मक चेत’विषयक विद्वत प्रवचनसँगै शुरु भएको थियो । प्रवचनका क्रममा शर्माले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

दोस्रो सत्रमा साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो । ‘उर्गेनका घोडा र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारकर्मी जेबी विश्वकर्मा र दार्जी्लिङका भारतीय नेपालीभाषी साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राखेका थिए ।

उपन्यासकारले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जतिधेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गरे । अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने उदाहरण प्रस्तुत गरे ।

भारतीय साहित्यकार क्षेत्रीले भारतीय नेपाली समाजमा तुलनात्मक रुपमा छुवाछुत र जातीय विभेदको समस्या कम भएको उल्लेख गर्दै दलनमा परेको समुदायप्रति सहानुभूतिले होइन, स्वानुभूतिले साहित्य लेखिनुपर्ने धारणा व्यक्त गरे ।

२० फागुनसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कबितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्वीर प्रदर्शनी आयोजना हुने आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईंले जानकारी दिए । –रासस

प्रतिकृया दिनुहोस