आठ लाख हेक्टर जमीन अझैं सिँचाइबाट वञ्चित
नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको तथ्यांक सार्वजनिक भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको सिँचाई गुरुयोजना २०७५ अनुसार नेपालमा २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको तथ्यांक छ ।
सिँचाइविज्ञ शिवकुमार शर्माद्वारा तयार पारिएको उक्त गुरुयोजनामा प्रस्तुत तथ्याङ्कमा भूमिगत जलस्रोतबाट चार लाख ९३ हजार ८४१, विभिन्न कुवा, नहर नदीका स्रोतबाट नौ लाख ६० हजार ७७६ हेक्टर जमीनमा सिँचाइ हुने गरेको उल्लेख छ ।
सिँचाई समस्या समाधानका लागि उक्त गुरुयोजनामा जलधारको वर्गीकरणसमेत गरिएको छ । वर्गीकरणमा कर्णाली, नारायणी र कोशी क्षेत्रलाई सिँचाइको जलाधारको रुपमा समेटिएको छ ।
साथै उक्त गुरुयोजनामा सिँचाइ विकासको अवधारणालाई समेत समेटिएको छ । उक्त अवधारणामा विद्यमान सिँचाइ प्रणलीको सवलीकरण, आधुनिकीकरण एवं व्यवस्थापन सुधार र सिञ्चित क्षेत्रको विस्तार उपलब्ध प्रविधिको अत्याधिक प्रयोग गरिनुपर्ने बताइएको छ ।
गुरुयोजनाअनुसार हाल नेपालमा पाँचवटा निर्माणाधीन बृहत् योजना छन् । महाकाली सिँचाइ योजना तेस्रो चरण, रानी जमरा गुलरिया सिँचाइ योजना, बबई सिँचाइ योजना, सिक्टा सिँचाइ योजना तथा वड्कापथ सिँचाइ योजनालाई बृहत् योजनाका रुपमा समावेश गरिएको छ । –रासस