ब्लगशनिबार, १८ फाल्गुण , २०७५

मनोरञ्जनको हक

कनकमणि दीक्षित

बुलबुल फिल्म हेरेपछि एक्कासी नेपाली फिल्मजगतको विकास र दिशाबारे उत्सुकता जागेर आयो । के, ‘नेपालमण्डल’ पनि अस्तव्यस्त शहरीकरण र सामाजिक ‘डिस्रप्शन्’ माझ राम्रो सिनेमा उत्पादन गर्ने केन्द्र बन्न सक्ला ? के, कलकत्ताको परिवेशले सत्यजित राय जस्ता निर्देशक जन्माए जस्तो, काठमाडौंले पनि सक्ला ?

सक्ने जस्तो देखिन्छ — सेतो सूर्य, कालो पोथी, गोपी जस्ता फिल्म बनिरहेको देख्दा । एकातर्फ दीपाश्री निरौला निर्देशित छक्का पञ्जा शृंखलाले नेपाली फिल्मले हँसाउँछ, पैसा पनि कमाउँछ भन्ने पुष्टि गरेको छ भने दीपक रौनियार, मीनबहादुर भाम र दीपेन्द्र लामाहरू जस्ता निर्देशकले सफल ‘आर्ट हाउस’ सिनेमा बनाउँदैछन् ।

अब नेपाली फिल्मको बाटो भनेको ‘वैकल्पिक धार’ लाई ‘मूलधार’ बनाउने हो, ताकि जनताको रुचिबाट नै आजसम्म ‘आर्ट हाउस’ फिल्म भनिएका प्रोडक्टहरू सफल होउन्, पैसाका लागि समुद्रपारका डोनर खोज्न नपरोस् ।

कालो पोथी का मीनबहादुर भाम भन्छन्, “आर्ट हाउस फिल्महरू रफ्तारमा आइरहेका छैनन्, एक–दुई वर्ष बिराएर मात्र आउँदा दर्शकहरूमाझ स्वाद बस्न पाइरहेको छैन ।” हुन पनि अझै नेपालीपनका ‘फर्मूला फिल्म’ हरू नै कमाइका हिसाबले सफल देखिन्छन् । यदि कुनै ‘आर्ट हाउस’ फिल्मले पैसा कमाए यसलाई ‘कमर्सियल प्रोडक्शन्’ भन्न मिल्यो, र यही बाटो लिइनुपर्छ ।

किनकि आधुनिक युगमा जनताको ‘मनोरञ्जनको अधिकार’ पनि सुरक्षित राख्नुपर्दछ । परम्परागत समाजमा मन बहलाउन, खुशी हुन, सामुदायिक, पारिवारिक र सांस्कृतिक अनेकन् तरिका उपलब्ध थिए । व्यक्तिको मनोरञ्जनको माग पनि आज जस्तो ‘डिमाण्डिङ्ग’ थिएन । तर आजभोलि शहर होस् या गाउँ, जताततै सार्वजनिक मनोरञ्जनको खोजी भइरहेको छ ।

मनोरञ्जन भनेको कमेडी मात्र होइन, जब कुनै कथा जीवन्त रुपमा पर्दामा प्रस्तुत हुन्छ, मन र मस्तिष्क च्याप्प पार्दछ, यही हो ‘एन्टरटेनमेन्ट’ ।

यस अर्थमा बुलबुल ले उत्कृष्ट मनोरञ्जन दिन्छ । एउटा टेम्पो चालक महिलाको दैनिक संघर्ष, सम्बन्ध र चाहनाको समसामयिक कथा हो बुलबुल । शीर्षकले जुरेली चरी नभई सजिलै फुट्ने पानीको फोका जनाएको बताउँछन्, निर्देशक विनोद पौडेल । फिल्मका प्रत्येक कलाकारको अभिनय उत्कृष्ट छ, मुख्य पात्र रणकलाको रोलमा स्वस्तिमा खड्का, उनको सम्बन्ध बस्न जाने चोपेन्द्रको भूमिका खेल्ने मुकुन भुसाल, रणकलाकी टेम्पो चालक सँगिनी लक्ष्मी बर्देवा, इत्यादि ।

त, मीनबहादुर भामले भने जस्तो बुलबुल जस्ता राम्रा फिल्म एकपछि अर्को निर्माण गर्न के गर्नुपर्ला ? उत्कृष्ट ‘आर्ट हाउस’ फिल्मको उत्पादन बढाउँदै गएर आम दर्शकमा स्वाद बसाल्नु परेको छ । दर्शक पनि आजकल स्मार्ट फोन र इन्टरनेटको जमानामा ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बुझ्ने भइसके । त्यसैले हँसाउने, रुवाउने वा तर्साउने फिल्म भन्दा मिहिन प्रस्तुति रुचाउन थालेका छन् तर, स्वाद पूरै बसिनसकेको अवस्था छ ।

स्वाद बसाल्न ‘आर्ट हाउस’ फिल्म बनाउने क्रम अझै तीव्र हुनुपर्‍यो, गोपी फिल्मकी नायिका सुरक्षा पन्तले भने जस्तै एउटा ‘कलेक्टिभ् फोर्स’ को आवश्यकता छ । उता हल व्यवसायीहरूले पनि बुलबुल जस्ता फिल्महरूलाई अलि माया गरे हुने । किनकि यस्ता फिल्म एकैचोटि ‘हिट’ हुने नभई एककान दुईकान गर्दै समय लगाउँदै सफल हुन्छन् ।

तर देशभित्र राम्रा राम्रा निर्देशक, एक्टर, सिनेम्याटोग्राफर, पटकथा लेखक इत्यादि भएर पुग्दैन । जनतामाझ अन्तर्राष्ट्रिय जगतका स्तरीय फिल्म पनि उपलब्ध हुनुपर्दछ ।

फिल्म समालोचक यज्ञश भन्छन्, “अनलाइन प्रविधिद्वारा आजभोलि अन्तर्राष्ट्रिय जगतको उत्पादन हेर्न पाइए पनि त्यतिले पुगेन ।” थप्छन्, “काठमाडौं स्तरीय अन्तर्राष्ट्रिय फिल्म महोत्सवको थलो बन्नुपर्दछ, जहाँ संसारभरिकै उत्कृष्ट उत्पादन, फिल्म निर्माता र एक्टरहरू आउन् ।” उनको भनाइमा यस्तो महोत्सवले दर्शकहरूको रुचि बढाउँछ र नेपाली फिल्म निर्मातालाई मीठो चुनौती दिन्छ । अन्तर्राष्ट्रिय फिल्महरूबाट मनोरञ्जन दिंदादिंदै यस्ता महोत्सवले नेपाली फिल्म निर्माणको स्तर बढाइदिन्छ ।

यसरी नेपाली जनमानसको मनोरञ्जनको हक परिपूर्ति गर्नेतर्फ लाग्नु जरुरी भयो । नागरिकले फिल्म हलमा गएर उत्तेजना, चिन्तन, सह–अनुभूति सबै खालका भावमा डुबुल्की मार्न पाउनुपर्दछ ।

प्रतिकृया दिनुहोस