ब्लगबुधवार, मंसिर ८, २०७३

भान्छामै छ संसार !

डा. तीर्थबहादुर श्रेष्ठ

शिक्षक मासिकबाट साभार
संसारभरिका मान्छेले आ–आफ्ना भान्छामा बसेर केहीबेर गमेर सोचविचार गर्ने हो भने दाल, भात, तरकारीको एक थालमा संसार अटाएको भेटिन्छ । त्यस अर्थमा हाम्रा खानाका हरेक थाल वा प्लेटले संसार एक परिवार हो भन्ने सन्देश दिइरहेका हुन्छन् ।

हाम्रो भान्छामा पाक्ने अथवा थाल–कचौरामा पस्किइने दाल, भात, तरकारी, अचार वा गुन्द्रुक, ढिंडो, रोटी, साग, चट्नी आदि परिकारका स्रोत– अन्न, गेडागुडी, सागपात र मसला आदि हुन् ।

तर ती अन्न र सागपातका उद्गमस्थल खोजिपस्ने हो भने विश्वका ६ वटै महादेश— एशिया, यूरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका तथा अष्ट्रेलियाको समेत कुनाकन्दरासम्म पुग्नुपर्ने हुन्छ ।

सयौं या हजारौं वर्ष पहिले नै ती खाद्यवस्तुका स्रोत वनस्पति र पशु–पन्छीहरू एक महादेशबाट अर्को महादेश कसरी पुगे होलान्; महासागरहरू कसरी तरे होलान् भन्ने इतिहास आफैंमा रोचक बन्न पुग्छ ।

आजभोलि जस्तो हवाई र सामुद्रिक यातायातको सुविधा नहुँदा पनि मानिसको पेट र जिब्रोले टाढा–टाढाका पृथक् संसारलाई भान्छामा जोडेर संयुक्त संसार बनाउन कति ठूलो प्रेरणा प्रदान गरेका रहेछन् भन्ने रहस्य बुझन अझ् कठिन पर्न आउँछ ।

हाम्रा आदिकवि भानुभक्तले आजभन्दा १८०/९० वर्ष पहिले गाउँ–घर घुम्ने क्रममा गाउँले आतिथ्य अनुसार भुटेका मकैको खाजा खानु परेछ । त्यतिबेला कविजीको जिब्रोले मागेको स्वादमा एक पंक्ति कविता बनेको रहेछ—

‘असल मुंग्रे केरा कि त मही हवस् बेस अमिलो
किता सेता मूला कि त बरु हवस् साग उसको
असल हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरी
भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्यान यसरी !’ 

यताको युगमा नेपालको पहाडी जनजीवनको मूल आधार बनेको मकै हाम्रो आफ्नै भूमिको रैथाने उब्जनी भए तापनि त्यसको उद्गमस्थल भने सात समुद्र पारिको देश, अझ वरिष्ठ साहित्यकार तारानाथ शर्माको शब्दमा ‘पातालको देश’ अमेरिका हो भन्नु पर्दा वा मान्नु पर्दा मन चिसो हुन्छ ।

आदिकविजीले मागेको अर्को वस्तु, मूला भने यूरोप महादेशको रैथाने कन्दमूल हो । तनहुँको स्थानीय मुग्रे केरा र महीको साथमा यूरोप र अमेरिकाको अन्न–सागपात मिलेपछि मात्र भानुभक्तको जिब्रोले मागेको खाजा सामग्री पूरा हुन्छ ।

हामीले भुटेका मकै र भटमासको खाजा चपाइरहँदा एशियाली भटमासले अमेरिकी अन्न मकैसँग मीत लगाइरहेको पाउँछौं । मकै र भटमासको पहिलो मिलन कहिले, कहाँ र कसरी भयो होला भन्ने छुट्टै खोज र मन्थनको विषय हुन्छ ।

एक महादेशबाट अर्को महादेशमा खाद्यवस्तुको साटफेरमा सबैभन्दा ठूलो योगदान दिने ज्ञात महापुरुषमध्ये क्रिस्टोफर कोलम्बस प्रमुख हुन् ।

स्पेनका महाराजाको इच्छा र आदेशले उनी विश्व अन्वेषणमा निस्किएका थिए । उनले सम्पन्न गरेका चारवटा सामुद्रिक महायात्राहरू (सन् १४९१–९२, १४९३–९६, १४९८–१५०० तथा १५०२–०४) को फलस्वरुप अमेरिकी क्षेत्रबाट मकै, आलु, गोलभेंडा, खुर्सानी, सूर्ती, फर्सी, फुल–तरुल (क्यासाभा), एभोकाडो, बदाम, काजु, भुईंकटहर, सूर्यमुखी फूल, लाहुरे फूल, सयपत्री फूल आदि वनस्पति यूरोप आउन सफल भए ।

त्यहाँबाट ती अन्न र फलफूलहरू क्रमशः विश्वका अन्य क्षेत्रमा फैलिंदै गए । अमेरिकी महादेशले अन्य महादेशहरूलाई दिएको मात्र होइन लिएको पनि छ ।

यूरोप, एशिया र अफ्रिकाको सौगातस्वरुप अमेरिकी महादेशले घोडा, गाईगोरु, सुँगुर, भेडा, कुखुरा, माहुरी, गहुँ, जौ, धान, भटमास, उखु, प्याज, केरा, सुन्तला, जैतुन आदि प्राप्त गरेको हो ।

कोलम्बसको अमेरिका भ्रमणको पञ्च शताब्दीय विशेषाङ्क (सन् १४९२–१९९२) मा न्यूज विक’ पत्रिकाले कोलम्बसपछि भएका अन्तरमहादेशीय आदान–प्रदानका कुराको फेहरिस्त छापेको छ । त्यसमध्ये मानवीय आहारा र खाद्यवस्तुको विनिमय ज्यादै रोचक छ ।

हाम्रो भान्छामा पाक्ने लोकप्रिय तिहुन आलु–तामा अनि त्यसलाई तिखार्ने खुर्सानीको पिरो मसलाको उद्गमस्थल पछ्याउँदै गयौं भने हामी मेक्सिको र पेरुतिर पुग्छौं ।

हामीले तराई, पहाड र हिमाल जताततै फलाएर खाने आलु र ‘चार जात छत्तीस वर्ण’ का जिब्रोमा पड्कने खुर्सानी मेक्सिको, पेरु, बोलिभिया आदि अमेरिकी र लेटिन अमेरिकी प्रदेशका देन हुन् भन्ने स्वीकार्नु पर्दा इसाको पन्ध्रौं शताब्दी पूर्व अर्थात् क्रिस्टोफर कोलम्बसले अमेरिका प्रवेश गर्नुभन्दा पहिले हामी के खान्थ्यौं भनेर सोच्न बाध्य हुनुपर्छ । किनभने आज मकै, आलु र खुर्सानी बिनाको नेपाली भान्छा हामी कल्पना गर्न सक्तैनौं ।

सामुद्रिक व्यापारीहरू विशेष गरेर पुर्तुगालीहरूबाट इसाको १६औं शताब्दीतिर भारतीय उपमहादेशमा यी खाद्यवस्तु भित्रिएको अनुमान गरिन्छ । तैपनि, यी दूरदराजका खाद्यवस्तु कहिले, कसरी र कुन बाटो नेपाल प्रवेश गरे भन्ने वैज्ञानिक तथ्य र ऐतिहासिक आधार पत्ता लगाउने अध्ययन र अनुसन्धान भने हुनसकेको छैन । 

हाम्रो दाल र भात; विशेष गरेर मासको दाल र चामलको भात दक्षिण तथा दक्षिण पूर्वी एशियाका मौलिक खाद्य पदार्थ हुन् । एवं प्रकारले, गहुँ पश्चिम एशियाको मौलिक अन्न हो भने हामीले मेचीदेखि महाकालीसम्मको पर्वतीय परिवेशमा उब्जाउने पाखेबाली कोदो अफ्रिका महादेशको उपज हो ।

बाजरा (बाज्रा) र हाम्रो प्रिय पेय कफी पनि अफ्रिकाकै उपहार हो । अर्को लोकप्रिय पेय— चिया भने हाम्रै एशिया महादेशको उपज हो । यसको उद्गमस्थल चीन हो । यी पेय पदार्थसँग चल्ने चिनी पनि एशियाकै उपज हो । 

दाल र भातको साथमा पस्किइने तरकारीको संसार पनि व्यापक छ । आजभोलिको भान्छामा गोलभेंडाको लोकप्रियता बढेको छ । जुनसुकै तरकारी वा अचारसँग मिल्ने यो वस्तु पनि दक्षिण अमेरिकी जिनिस हो । विश्वभरिका भान्छामा यसको लोकप्रियता अद्वितीय छ ।

हाम्रै भान्छाको कुरा गर्दा गोलभेंडा बिना माछा, मासु, अण्डा वा अन्य साग तरकारीको परिकार बन्दैन । उत्तरी अमेरिका र दक्षिणी अमेरिकाबाट ल्याइएका अन्य लोकप्रिय तरकारीमध्ये फर्सी, इस्कुस, घिरौंला, सिमी उल्लेखनीय छन्; तर गोलभेंडा, आलु र खुर्सानीलाई ती कसैले उछिन्न सकेका छैनन् ।

नेपालीका भान्छामा काउली, बन्दाकोभी, मूला, गान्टेमूला, चमसुर, मेथी, पालुङ्गो, रायो, तोरी आदिको सागको विशेष उपस्थिति रहने गर्दछ । यीमध्ये काउली भूमध्यसागरीय प्रदेशमा उद्गम भएको मानिन्छ तर एशियामा यसको प्रभाव ठूलो छ ।

एशियाकै रैथाने तरकारीमध्ये भान्टा हाम्रो भान्छामा अधिक प्रयोग हुन्छ । रामतोरिया अर्थात् भिण्डी धेरैलाई मन पर्छ । यो तरकारीको उद्गमस्थल भने अफ्रिकी महादेशमा पर्दछ । खासमा कफी र रामतोरिया इथियोपियाका उपज हुन् । तोरी, रायो, मूला, गाजर, बन्दाकोभी र काँक्रोको उद्गमस्थलो भने यूरोप मानिन्छ ।

हामीले भान्छामा प्रयोग गर्ने मसलाहरू पनि विभिन्न स्रोतबाट आइपुगेका हुन् । हामीले अधिक प्रयोग गर्ने लसुन कहाँबाट उद्गम भएको हो भन्ने यकिन छैन तर धनियाँ, प्याज, अदुवा र बेसार हाम्रै रैथाने उपज हुन् । त्यस्तै अलैंची, टिमुर र मरिच पनि हाम्रै जिनिस हुन् । जीरा पनि शायद पश्चिम एशियाकै उपज हो । तेजपात र दालचिनी हाम्रो आफ्नै वनमा पाइन्छ ।

नेपाली भान्छामा घ्यू वा तेलमा जिम्बु, ज्वानो वा मेथी पड्काएर दाल–तरकारी झन्ने क्रियालाई हाम्रो मौलिक खाद्य प्रविधि नै मान्नुपर्छ ।

त्यसमा पनि जिम्बु नेपालको डोल्पा, मुस्ताङ र तिनका उत्तरी छिमेकमा बाहेक संसारमा अन्यत्र पाइँदैन । त्यस अर्थमा नेपाली भान्छाको मौलिक स्वाद जिम्बुले दाबी गर्ने गरेको छ । त्यस्तै मेथी पड्काउने वा ज्वानो झन्ने चलन पनि नेपाली पाक–कलाको विशेषता हो ।

अन्त्यमा,
संसारभरिका मान्छेले आ–आफ्ना भान्छामा बसेर केहीबेर गमेर सोच विचार गर्ने हो भने अन्तरसम्बन्धको एउटा सिंगो विश्व त्यहाँ गोचर हुन्छ । दाल, भात, तरकारीको एक थालमा संसार अटाएको भेटिन्छ । त्यस अर्थमा हाम्रा खानाका हरेक थाल वा प्लेटले संसार एक परिवार हो भन्ने सन्देश दिइरहेका हुन्छन् ।

यो तथ्यलाई खाना खानु अघि एकछिन मनन् गरी हेरौं त !

 

 

प्रतिकृया दिनुहोस