कला/साहित्यशुक्रबार, १७ फाल्गुण , २०७५

क्यान्सर जितेकी युवतीको तस्वीर 'भाइरल'

हिमालखबर

स्तन क्यान्सरलाई जितेकी एक युवतीको दुलही फोटो सेसन इन्टरनेटमा ‘भाइरल’ भएको छ ।

सेलानगोर, मलेसियाकी २८ वर्षीया वैष्णवी इन्द्रण पिल्लेले बोल्ड इन्डियन ब्राइड नाम दिएर आफ्नो दुलही फोटो सुटका तस्वीरहरु इन्स्टाग्राममा राखेकी थिइन् ।

इन्स्टाग्राममा पिल्लेले क्यान्सरविरुद्ध लड्न महिलाहरुलाई बल प्रदान गर्न आफूले यस्ता तस्वीरहरु सार्वजनिक गरेको बताएकी छिन् ।

“केमोथेरापी गर्दा सबै कपाल झरेपछि मैले आफूलाई साह्रै नराम्री पाए । तर, सुन्दरता भनेको त बाहिर होइन आफूभित्र हुने रहेछ”, पिल्लेले लेखेकी छिन् ।

सन् २०१५ मा क्यान्सर रहेको पत्ता लागेकी पिल्लेले रोगकै बीच अष्ट्रेलियाबाट स्नातकोत्तर पूरा गरेकी थिइन् । तर, जुलाई २०१८ मा उनको क्यान्सर फेरि बल्झिएको थियो ।

“मैले के गल्ती गरेको थिए र बारम्बार यस्तो भोग्नुपरिरहेको छ जस्तो हुन्थ्यो”, उनले लेखेकी छिन्, “मैले धेरैपटक आफैंलाई दोष दिए ।”
तर, परिवार, सहयोगी, साथीहरुको निस्वार्थ सहयोगबाट आफू पुनःबलियो बनेको उनले भनेकी छिन् ।

“रोग लाग्यो भन्दैंमा सबै सकियो भन्ठान्नु हुँदैछ, जीवन पहिलेभन्दा सुन्दर हुनसक्छ”, उनी लेख्छिन्, “वास्तवमा क्यान्सरले मलाई जीवनलाई माया गर्न सिकायो ।” –एजेन्सी

 

प्रतिकृया दिनुहोस