कला/साहित्यशुक्रबार, १७ फाल्गुण , २०७५

‘बुलबुल’बारे चलचित्रकर्मी र शुभचिन्तकको अन्तरक्रिया

हिमालखबर

तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘बुलबुल’बारे चलचित्रकर्मी, समीक्षक र दर्शकबीच अन्तरक्रिया भएको छ ।

आज ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा भएको अन्तरक्रियामा सहभागीहरुले ‘बुलबुल’जस्ता चलचित्र नियमित बन्नुपर्ने धारणा राखेका हुन् ।

अन्तरक्रियामा बोल्दै चलचित्रकर्मी मीनबहादुर भामले ‘आर्ट मूभी’लाई व्यवसायिक बनाउन ‘बुलबुल’ कोशेढुङ्गा बन्नुपर्ने धारणा राखे । उनले भने, “नेपालमा आर्ट मूभी एकदम कम बनिरहेका छन् । ‘बुलबुल’ले समीक्षक, दर्शक सबैको साथ पाएको छ । अब यस्ता चलचित्र निर्माणको क्रम बढ्नुपर्छ ।”

समीक्षक यज्ञशले ‘बुलबुल’मा निर्देशक हावी नभएको धारणा राखे । उनले ‘बुलबुल’ले दर्शकलाई प्रशस्त सोच्ने र मन्थन गर्ने स्थान दिएको बताए ।

यज्ञशले नेपालमा फिचर फिल्मको अन्तर्राष्ट्रियस्तरको फेस्टिबल नभएको र यसको खाँचो रहेको पनि औंल्याए ।

अभिनेत्री उषा रजकले महिला केन्द्रित थोरै नेपाली चलचित्रमध्ये ‘बुलबुल’ एक भएको बताइन् । उनले महिलाको सशक्त भूमिका प्रस्तुत गरेको ‘बुलबुल’ टिमलाई धन्यबाद समेत दिइन् ।

अन्तरक्रियामा सहजकर्ताको भूमिका निर्वाह गरेका पत्रकार कनकमणि दीक्षितले ‘बुलबुल’ले नेपाली समाजको एउटा सशक्त पाटोलाई उठाएको धारणा राखे । “यसले हाम्रो समाजको एउटा पाटोलाई उजागर गरेको छ ।” उनले भने, “यसले भावी पुस्तालाई हाम्रो समाज बुझ्न ठूलो सघाउ पुर्‍याउनेछ ।”

उनले कला, साहित्यको शुभचिन्तक भएको भन्दै ‘बुलबुल’ हेर्न सबैलाई आग्रह समेत गरे ।

अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा ‘बुलबुल’का निर्देशक विनोद पौडेलले चलचित्रको केन्द्रीय पात्रको जीवन दर्शाउन ‘बुलबुल’ नाम राखेको बताए ।

उनले भने, ‘‘बुलबुल’ पानीको फोका हो । यसको केन्द्रीय पात्र रणकलाको जीवन पनि त्यस्तै छ, पानीको फोका जस्तै फुल्ने अनि प्याट्ट फुट्ने ।”

 

 

 

प्रतिकृया दिनुहोस