थप समाचारसोमबार, २४ श्रावण , २०७३

भारतबाट अपहरण गरी नेपाल ल्याइएकी नेपाली बालिका अपहरण मुक्त

हिमालखबर

 

नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई आज बिहान सकुशल अपहरणमुक्त गराएको छ । 

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार वर्षीया बालिकालाई सकुशल अपहरण मुक्त गरेको हो । भारतको बिहारस्थित स्कुलमा अध्ययनरत बालिकालाई चार दिनअघि स्कुलबाट घर फर्कंदै गर्दा अपहरणकारीले अपहरण गरेका थिए । 

प्रहरी नायब उपरीक्षक पङ्गेनीका अनुसार कटिहारस्थित एनबिआर स्कुलमा केजीमा पढ्दै गरेकी ती बालिका मुक्त गर्दा प्रहरीले दुईजना अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ । अपहरणकारीहरू त्यही स्कुलका पूर्व सवारी चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको नाम खुलाएको छैन । 

विहारबाट नेपाल ल्याएको आशङ्कापछि ब्युरोको टोली परिचालन भएको थियो । प्रहरीको केन्द्रीय र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गरेको हो । बालिकाको मावली घर इटहरी हो । 

अपहरणकारीले नेपालमा ल्याएर बालिकाका आफन्तसँग ‘बार्गेनिङ’ गरिरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको खुले र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीको भनाइ छ ।

रासस 

प्रतिकृया दिनुहोस