समाचारबुधबार, १५ फाल्गुण , २०७५

‘पाइलटलाई खराब मौसमबारे जानकारी थियो’

मुकेश पोखरेल

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारण खराब मौसम रहेको पाइएको छ ।

आजको मौसमी अवस्था बारे जानकारी दिंदै मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी । तस्वीरः मुकेश पोखरेल ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि ताप्लेजुङमा बाक्लो बादल लाग्नुका साथै पानी परिहरहेको थियो ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले ताप्लेजुङका उच्च भागमा हिमपात समेत भइरहेको जानकारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित् ‘एअर ट्राफिक कन्ट्रोलर’का अनुसार ताप्लेजुङ उडान गर्नुअघि एअर डाइनेष्टिक हेलिकप्टरलाई पनि त्यहाँको मौसम अवस्थाका बारेमा जानकारी गराइएको थियो । “हामीले मौसमको सूचना दिने काम गर्ने हो, उडान गर्ने नगर्ने पाइलटमा भर पर्दछ,” मौसमविद श्रेष्ठ भन्छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले सुकेटार विमानस्थलको टावरलाई उदृत गर्दै बताएअनुसार दुर्घटनामा ज्यान गुमाएका हेलिकप्टरका पाइलट प्रभाकर केसीले पाथिभरा क्षेत्रमा हिमपात भएको जानकारी टावरलाई गराएका थिए ।

जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको ताप्लेजुङ फुङलिङस्थित मौसम मापन केन्द्रले आज बिहान ५.३० बजे पठाएको विवरणअनुसार उक्त क्षेत्रको मौसमी अवस्था ठीक थिएन ।

भू–उपग्रह र स्थानीय स्टेशनले पठाएको मौसमी अवस्थाको विश्लेषणका आधारमा महाशाखाले एअर ट्राफिक कन्ट्रोलरलाई त्यस क्षेत्रको मौसमको अवस्था जानकारी गराएको थियो ।

सर्वसाधरणलाई समेत महाशाखाले मौसमी अवस्थाको सूचना टेलिफोनमार्फत उपलब्ध गराउँछ ।

मौसम पूर्वानुमान महाशाखाले प्रदान गर्ने मौसमी विवरणका आधारमा हवाई कम्पनीले उडान गर्ने गर्दछन् ।

जल तथा मौसम विज्ञान विभागले अहिले तीन दिन पछिको मौसमी अवस्थाका बारेमा सूचना जारी गर्दछ । “आजको मौसमी अवस्थाको बारे हामीले तीन दिन अघि सूचना जारी गरेका थियौं,” श्रेष्ठ भन्छन् ।

पाथिभरा मन्दिर १२ हजार ४४८ फिटको उचाईमा छ भने दुर्घटनास्थल करीब १० हजार ४९८ फिटको उचाईमा रहेको छ । पाथिभर मन्दिर दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारी सहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

 

प्रतिकृया दिनुहोस